नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले संसदको गरिमा र ओझ खस्कँदै गएको बताएका छन्।

शनिबार काठमाडौंमा भएको नेपाल गणतान्त्रिक यातायात व्यवसायी संगठन वागमी प्रदेश समिति, काठमाडौंको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उनले संसदमा हुने बहस, छलफल, शब्द चयनहरु स्तरहीन, मर्यादाहिन भएको बताएका हुन्।
‘संसद भन्दा उच्च जनप्रतिनिधिको थलो अर्को छैन। त्यहाँ हुने छलफल, बहस, शब्द चयन, वाक्य गठन सुन्दा हामीलाई के लाग्छ भने स्तरहिन, मर्यादाहिन भएको छ। ओझ र गरिमायुक्त हुनुपर्ने ठाउँमा दिनदिनै ओझ र गरिमा नभइ आफ्नो साख गिराउँदैछ,’ उनले भने।
उनले संसद कुनैपनि देशको लोकतन्त्रको आत्मा, सुशासनको महत्वपूर्ण संवाहक भएपनि संसदमा राम्रोसँग संसदीय गतिविधिहरु सञ्चालन हुन नसकेको बताए।
सापकोटाले आगामी आर्थिक वर्षको बजेट कुनैपनि रोकतोक बिना संसदमा प्रस्तुत हुनेमा आफू आशावादी रहेको बताए। अहिलेको राष्ट्रिय परिस्थिति जटिल र पेचिलो बन्दै गएको पनि उनले बताए।
सापकोटाले सदन निर्वाध रूपले सञ्चालन हुनेतर्फ अगाडि बढेको बताए।
‘अहिले पनि छलफल जारी छ । निरन्तर जारी छ । नेतृत्व तहमा पनि छलफल चलिरहेको छ । भोलिसम्म सहमतिको वातावरण बन्ने आशा गर्न सकिन्छ । सकारात्मक वातावरण बनिरहेको भनिएको छ । कुनै न कुनै तरिकाले सहमति बन्छ र निकास निस्किन्छ,’ उनले भने। (न्युज एजेन्सी नेपालबाट)