काठमाडौं । चर्चित र्याप रियालिटी शो ‘नेपहपको श्रीपेच’को दोस्रो संस्करण ‘नेपहपको श्रीपेच २’को औपचारिक घोषणा गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच औपचारिक घोषणासँगै शोको डिजिटल अडिसन पनि खोलिएको छ ।

डिजिटल तथा फिजिकल दुवै माध्यमबाट अडिसन लिइने ‘नेपहपको श्रीपेच २’मा सहभागी हुनका लागि दामी म्युजिक एप र www.nepalirap.com मार्फत प्रतियोगीले आफ्नो प्रस्तुतिको भिडियो अपलोड गर्न सक्नेछन् । साथै नेपहपको श्रीपेचको अफिसियल फेसबुक पेज, अफिसियल ह्वाट्सएप नम्बर 9707259961 र nephopkoshreepech@gmail.com मा आफ्नो प्रस्तुतिको भिडियो पठाउन सक्नेछन् । त्यसपछि प्राप्त अडिसन मध्य जज राउन्डबाट उत्कृष्ट प्रतियोगी चयन गरिनेछ । डिजिटल अडिसनको लागि श्रीपेच स्टुडियो युट्युब च्यानलबाट डाउनलोड गर्न सकिनेछ भने कपिराइट फ्री बिटमा पनि भिडियो बनाएर पठाउन सकिनेछ ।
‘नेपहपको श्रीपेच २’को विजेताले रु १० लाख नगत, वर्ल्ड टुरको अवसर एवम् विभिन्न ब्रान्ड इन्ड्रोसमेन्टहरू प्राप्त गर्नेछन् साथै उपविजेताले नगद रु ५ लाख साथै विदेशमा प्रस्तुतिको अवसर प्राप्त गर्नेछन् ।
‘नेपहपको श्रीपेच’को पहिलो संस्करण लगभग २ वर्ष पहिले सम्पन्न भएको थियो । पहिलो सिजनको विजेताका रूपमा भाइबर साइमनले बाजी मारेका थिय भने सहविजेताका रूपमा जेनिश क्षेत्रीले आफ्नो नाम लेखाएर दुबई, अस्ट्रेलिया साथै नेपालको विभिन्न ठाउँमा आफ्नो प्रस्तुति दिइसकेका छन् ।
दामी मिडियाको प्रस्तुति रहेको ‘नेपहपको श्रीपेच २’को कन्सेप्ट तथा डिजाइन सुदिप पोखरेलले गरेका हुन भने निर्देशकमा निकेश खड्का रहने तय भएको छ ।
अघिल्लो संस्करणमा मानस घले, गिरिश खतिवडा र बालेन शाह निर्णायक रहेकामा यस सिजनमा भने मानस घले, गिरिश खतिवडाको साथमा महेश तामाङ ‘दोङ’ रहनेछन् । काठमाडौंका मेयरसमेत रहेका बालेन शाह भने केही एपिसोडमा सहभागी हुने कार्यक्रम निर्माता सुदिप पोख्रेलले बताय ।
त्यस्तै, कार्यक्रम सञ्चालकको रूपमा सुज्ता श्रेष्ठले नै निरन्तरता पाउनेछीन भने ब्रोड्कास्टिङ पार्टनरको रूपमा टेलिभिजनतर्फ कान्तिपुर टेलिभिजन तथा डिजिटलतर्फ ओएसआर रियालिटी रहेको छ । कार्यक्रम असारको अन्तिम साताबाट टेलिभिजनमा प्रसारण गरिने बताइएको छ ।