काठमाडौं, ८ असोज । कालीकोटको सान्नी त्रिवेणी गाउँपालिकाको मुम्रा लेकमा पर्ने त्रिवेणी पाटन पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो । यो कालीकोट र बाजुरा जिल्लाको सिमानामा पर्ने बडिमालिका धार्मिक मन्दिरका कारण पनि चर्चामा रहेको छ ।

समुद्र सतहबाट ४ हजार २ सय १९ मिटर उचाइमा रहेको त्रिवेणी पाटन सौन्दर्यका हिसाबले मात्र नभई धार्मिक हिसाबले पनि महत्त्वपूर्ण मानिन्छ । नजिकै देखिने सुन्दर हिमाल, हिउँ टेक्न पाइने र मनोरम प्राकृतिक दृश्यहरू त्रिवेणी पाटनका विशेषता हुन् ।
त्रिवेणी पाटन घुम्नलाई वैशाखदेखि असोजसम्मको समय उत्तम मानिन्छ । नजिकै रहेको बडिमालिका मन्दिरमा साउन जनै पूर्णिमाको अघिल्लो दिन लाग्ने मेला लाग्ने गर्छ । मेला भर्न नेपालका विभिन्न जिल्ला र भारतबाट पनि मानिसहरू बडिमालिका पुग्ने गरेको सान्नी त्रिवेणी गाउँपालिका अध्यक्ष डम्बरबहादुर शाहीले बताए ।
‘त्रिवेणी पाटन आसपासमा रहेका २२ वटा पाटनमा सयौँ प्रजातिका फूल फुल्छन्’, उनले भने, ‘यस क्षेत्रका ३२ वटा पाटनमध्ये १२ वटा पाटन कालीकोट क्षेत्रमा र २० वटा बाजुरा क्षेत्रमा पर्छन् ।’
यस पाटनको आकर्षण भनेको जङ्गली जनावर पनि हुन् । कस्तुरी, मृग, हिउँचितुवा, हिमालयन थार, हिमाली भालु, वन कुकुर, नायरलगायत वन्यजन्तु यस क्षेत्रमा पाइने रामारोशन गाउँपालिकाका अध्यक्ष झङ्कर साउँदले बताए ।
‘जडिबुटीका लागिसमेत त्रिवेणी क्षेत्र प्रख्यात रहेको छ’, उनले भने, ‘यस क्षेत्रमा ४५ भन्दा बढी प्रजातिका दुर्लभ तथा बहुमूल्य जडिबुटी पाइने गरेको छ ।’ त्रिवेणी पाटन क्षेत्रको विकासका लागि कालीकोट, अछाम र बाजुरा जिल्लाका जनप्रतिनीधिहरूले पर्यटन प्रवद्र्धनका लागि योजना ल्याउन लागेका छन् । त्रिवेणी क्षेत्रको संरक्षणका लागि पर्यटन प्रवद्र्धन योजना ल्याएर त्यसको बृहत्तर विकास गर्न लागेका हुन् ।
फोटो : हिमालय भट्टको फेसबुक वालबाट साभार गरियको।