काठमाडौं । चन्द्रागिरि क्रिकेट एशोसिएसनको आयोजनामा असोज ९ गतेबाट सुरु हुने टी-१० क्रिकेट प्रतियोगितामा १२ टोलीले सहभागिता जनाउने भएका छन् ।

आइतबार आयोजित ट्रफी अनावरण कार्यक्रममा दिइएको जानकारी अनुसार चन्द्रागिरि नगरपालिका-०६ स्थित मदन भण्डारी खेल मैदानमा सञ्चालन हुने प्रतियोगिता १० ओभरको फर्म्याटमा खेलाइने चन्द्रागिरि क्रिकेट एशोसियसनले जनाएको छ ।
चार दिने प्रतियोगितामा सुदुरपश्चिम क्रिकेट टिम, हाम्रो क्रिकेट टिम, काठमाडाैं वारियर्स, दहचोक क्रिकेट टिम, नैकाप किङ्गस्, स्टम्प जम्पर्स, रोयल रेन्जर्स, थानकोट वारियर्स, मैत्रीनगर क्रिकेट क्लब, पुष्पलाल स्पोर्ट्स क्लब, थानकोट क्लब र उडान शैक्षिक केन्द्रबीच प्रतिस्पर्धा हुने छ ।
लिगकम नकआउट फर्म्याटमा खेलाइने प्रतियोगिताको हरेक समुहमा रहेका ४ समुह मध्ये शीर्षस्थानमा रहने टोलीले सेमीफाइनलमा स्थान बनाउनेछन् । ती चार टोलीबीच सेमीफाइनल खेल खेलाइनेछ ।
फाइनल खेलको विजेताले ४० हजार रूपैयाँ, उपविजेताले २० हजार रूपैयाँ तथा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक संस्थाका अध्यक्ष प्रजिवन प्रधानले जानकारी दिए । फाइनल खेल असोज १२ गते खेलाइने तालिका छ ।
यसैगरी हरेक खेलका म्यान अफ दि म्याचले ट्रफी पाउनेछन भने प्रतियोगिताको उत्कृष्ठ खेलाडी, ब्याट्सम्यान, बलरले ट्रफी पाउँदा फेयर प्ले र इमर्जिङ प्लेयरले समेत ट्रफी पाउनेछन् ।
प्रतियोगिताको फाइनल खेल भने २० ओभरको खेलाइने छ । स्थानीय स्तरमा क्रिकेट खेलको विकास एवं प्रवर्द्धनका लागि चन्द्रागिरि नगरमै पहिलोपटक क्रिकेट प्रतियोगिता आयोजना गर्न लागिएको चन्द्रागिरि क्रिकेट एशोसियसनका रवी श्रेष्ठ जानकारी दिए । रबर बलमा खेलाइने खेल असोज ९ गते बिहान ७ बजेबाट सुरु हुनेछ