काठमाडौं । प्रदर्शनअघि ‘रुकुम मैकोट’ गीतका कारण फिल्म ‘खुस्मा’ चर्चामा थियो । टिकटक, इन्स्टाग्रामको रिल्स, युट्युब शर्टस् जताततै गीत चम्किँदा फिल्मको इनिसियल व्यापारमा फाइदा पुग्न सक्ने आँकलन गरिएको थियो । त्यसमाथि प्रदर्शनको पहिलो दिन (बिहीबार) नै संविधान दिवसको सार्वजनिक विदा थियो । अन्ततः विदा र गीतको चुलिँदो चर्चाले फिल्मलाई सन्तोषजनक ‘ओपनिङ’ दिलायो ।

पहिलो दिन फिल्मले काठमाडौंसँगै पोखरा, नेपालगञ्ज, बुटवल, धरान, विर्तामोड जस्ता ठूला सहरहरूमा प्राप्त शोजमा ५० प्रतिशत अकुपेन्सी नघाएको थियो । फिल्म हेर्न पुग्ने प्रायः दर्शकलाई ‘रुकुम मैकोट’ गीतले नै आकर्षित गरेको थियो । दोस्रो दिन शुक्रबार भने व्यापार अपेक्षाकृत हुन सकेन । तथापि, साँझपख काठमाडौं, धरान, पोखरासहितका केही हलहरूमा सुखद् अकुपेन्सी थियो ।
शनिबारको विदामा भने फिल्मप्रति दर्शकको आकर्षण राम्रो देखियो । काठमाडौंसहित मोफसलका ठूला स्टेशनहरूमा दिउँसो धेरै शोज हाउसफुल भए भने कतिमा ६० प्रतिशतसम्म अकुपेन्सी रह्यो । साँझका शोजमा पनि दर्शकहरूको चाप राम्रो थियो । समग्रमा फिल्मको तीन दिनको प्रदर्शनलाई सुखद् मान्न सकिन्छ । अब आज आइतबारबाट हुने व्यापारले फिल्मको भविष्य निर्धारण गर्नेछ ।
फिल्म प्रदर्शनपछि अभिनेता धीरज मगर, अभिनेत्री उपासना सिंह ठकुरी, निर्देशक तथा लेखक अशोक थापा मगरसहितको टिमले काठमाडौंका विभिन्न हलमा पुगेर दर्शकहरूसँग भेट गरिरहेको छ । शनिबार सिभिल, सिटी स्क्वायर लगायतका हलमा पुग्दा धीरज र उपासनासँग तस्वीर खिच्न दर्शकहरू झुम्मिएका थिए । र, हलभित्रै उनीहरूले ‘रुकुम मैकोट’ गीतमा नृत्य गर्दै रमाइलो पनि गरे ।
‘खुस्मा’को व्यापारिक रिपोर्ट भने निर्माताले सार्वजनिक गरिसकेका छैनन् । आइतबार साँझसम्म तीन दिनको रिपोर्ट सार्वजनिक गर्ने तयारी भइरहेको जनाएको छ । मगर समुदायको परिवेशमा आधारित भएर बनेको फिल्मले माओवादी-सशस्त्र द्वन्द्वको प्रभावबीच अंकुराएको एक जोडीको प्रेमलाई देखाइएको छ । फिल्ममा धीरज र उपासनाको ‘केमेस्ट्री’लाई दर्शकहरूले निकै रुचाएका छन् ।