काठमाडौं- झापाको बिर्तामोडस्थित बीएन्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंविरुद्ध बुधबार काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ।

न्यायाधीश महेन्द्र खनालको इजलाशले मेडिकल व्यवसायीका रुपमा चिनिने प्रसाईं र दुईजना युट्युबरविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो । यस कुराको पुष्टि जिल्ला अदालतका श्रेस्तेदार रामु शर्माले गरेका छन् ।
अदालतबाट पक्राउ पुर्जी जारी भएपछि प्रसाईंले बुधबारै राति केही युट्युबरसँग आफूलाई पक्राउ गर्नुको पृष्ठभूमि बताउँदै त्यसको दोष प्रधानमन्त्री केपी शर्मा ओली र उनका प्रमुख सल्लाहकार विष्णु रिमाललाई थोपरे ।
विद्युतीय कसुरको अभियोगमा काठमाडौं जिल्ला अदालतले बुधबार पक्राउ पुर्जी जारी गरेपछि उनले आफूलाई प्रधानमन्त्रीसमेत रहेका हजुरबा ओलीले फसाउन दबाब दिएको जिकिर गरे ।
प्रसाईंले त्यतिमात्रै भनेनन्, आफूलाई पक्राउ गर्ने कोसिसलाई राजनीतिसँग पनि जोडे। प्रसाईंले अहिलेको संविधान फेल भइसकेको जिकिर गर्दै त्यसको विरोध गर्दा ओलीले दबाब दिएर पक्राउ पुर्जी जारी गर्न लगाएको पनि दाबी गरे ।
‘मैले गर्दै आएको संविधानविरोधी कार्यक्रम होइन, संविधान आफैँ जलाइसकेको छ । मलाई छोराछोरीसहित सबै तपाईं जानुस् भनेका छन् म जान तयार छु’, उनले भने, ‘सर्लाहीमा भोलि मेरो सर्लाहीमा कार्यक्रम थियो । केपी ओली र विष्णु रिमालको दबाबमा मलाई पक्राउ पुर्जी जारी गरिएको हो ।’
उनले जापानमा रहेकी छोरीसँगसमेत भक्तपुरको ठिमीस्थित घरबाट फोनमा बोल्दै जेल जान तयार रहेकोसमेत बताए ।
‘मलाई छोरीले तपाईंले उठाएको मुद्दा सर्वहारा वर्गको हो भनिन् । तपाईं मरेर जाँदा पनि पछि नहट्नु भनेकी छन् । म हाँसीहाँसी जान तयार छु’, उनले भने, ‘हामीले संविधानविरोधी गतिविधि गरेका छैनौँ । मैले कसैलाई व्यक्तिगत आक्षेप लगाएको छैन । हामीलाई इस्यु बनाएर अर्कालाई मुद्दा हाल्न लगाए । विद्युतीय कारोबारमा मुद्दा हालेका छन् । छोराछोरीले हाँसी हाँसी जानु भनेका छन् ।’
दुर्गाले गरेका थिए ज्वालाको चरित्र हत्या
आफूविरुद्धको पक्राउ पुर्जीलाई प्रसाईंले प्रधानमन्त्रीतिर सोझ्याउँदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृसमेत रहेकी टीभी कार्यक्रम प्रस्तोता ज्वाला संग्रौलासम्म घटनाक्रम जोडिएको छ ।
गत साउन २० गते उनले दुईजना युट्युबर जीवन पाण्डे र प्रकाशचन्द्र दाहालसँग एउटा आपत्तिजनक अन्तर्वार्ता दिएका थिए । एकजना महिलाको चरित्र हत्या गर्ने गरी प्रसाईंले बोलेका कुराहरू यी दुईजना युट्युबरले जस्ताको तस्तै आफ्नो च्यानलमा प्रस्तुत गरेका थिए ।
प्रसाईंले प्रकाउ पुर्जी जारी भएका यी दु्ईजना युट्युबरबारे बुधबार पनि आफ्नो निवासमा पटक पटक प्रशंसा गरे। यी दु्ई युट्युबरले नै आफ्नो आन्दोलनलाई यहाँसम्म ल्याउन मद्दत गरेकाले सरकारले उनीहरूँग पनि रिसइबी साँधेको तर्क उनले गरेका थिए ।
प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य संग्रौलाबारे आपत्तिजनक कुरा बोल्दै गत साउन तेस्रो साता सार्वजनिक रुपमा उनको चरित्रहत्या गरेका थिए । ती दु्ई युट्युबरलाई अन्तर्वार्ता दिने क्रममा उनले ज्वालाले जापानमा वेश्यावृत्ति गरेको जस्तो गम्भीर र आपत्तिजनक लाञ्छना लगाएका थिए ।
त्यसबेला कान्तिपुर दैनिकको आवरण पृष्ठलाई तोडमोड गर्दै ज्वालाबारेको हुँदै भएको समाचार भाइरल गरिएको थियो । ‘जापानमा वेश्यावृत्तिमा संलग्न भनिने ज्वाला संग्रौला’ शीर्षकमा उनको तस्बिर राखेर उनको बदनाम गर्न खोजिएको थियो । त्यही फेक सामग्रीका भरमा प्रसाईं ज्वालालाई जापानमा वेश्यावृत्ति गरेको जस्तो तल्लोस्तरको र आपत्तिजनक आरोप सार्वजनिक रुपमै लगाइदिए ।
प्रसाईंले त्यसबेला ज्वालाको नाम त लिएनन्। तर उनीसँगकै सन्दर्भ जोड्दै ‘जापानमा वेश्यावृत्ति गर्ने महिला’ को संज्ञा दिएका थिए ।
साउन १८ गते ज्वालाले दुर्गा प्रसाईंबारेको एउटा विवादित भिडियो सामाजिक सञ्जालमा हालेकी थिइन् । जसमा त्यसबेला दुर्गाले यूएईबाट मृत्युदण्डको सजायबाट जोगाउँदै फर्काइएका पहलमान थापाका आफन्तको पत्रकार सम्मेलनको भिडियो ज्वालाले राखेकी थिइन् । पत्रकार सम्मेलनमा पहलमानले दुर्गाले आफूलाई बचाउन एक पैसो पनि नखर्चिएको बताएका थिए ।
‘दुर्गा प्रसाईं दाइले आफूले उद्दार गरेको भनेर फेसबुकतिर बधाई खाँदै गरेको देखेकी थिएँ । तर उद्धारकर्ता अर्कै रहेछन् । वास्तविक उद्धारकर्तालाई दुर्गा दाइको झूटो भनाइले गहिरो असर पुगेको रहेछ । समाज सेवाका नाममा भाइरल हुन जे पनि नगरौँ न हो साथीहरू’, उनले त्यसबेला लेखेकी थिइन् ।
त्यसबेला पहलमानलाई लिन प्रसाईं त्रिभुवन विमानस्थलमा पुगेका थिए । आफूले उद्दार गरेर ल्याएको भन्दै उनले युट्युबरलाई अन्तर्वार्ता पनि दिए । आफूले जुटाएको ब्लड मनीले पहलमानको ज्यान जोगिएको उनले बताएका थिए । तर उनको उक्त दाबी एक दिन पनि टिक्न पाएन। भोलिपल्ट खास उद्धारमा जुटेकाहरूले प्रसाईंको भनाइको खण्डनमात्रै गरेनन् नकक्ली समाजसेवी भनेर विरोधमा पनि बोले । त्यसबेला उनीहरूले प्रसाईंबाट एक पैसो सहयोग नपाएको खुलासा गरेका थिए ।
आफ्नो चर्को विरोध भएपछि उनले ठिमीमै पत्रकार सम्मेलन भनेर यु्ट्युबर बोलाए । त्यहाँ पुग्नेमध्ये प्रसाईं जहाँ गए पनि उनलाई पछ्याइरहने पाण्डे र दाहाल पनि थिए । उनलाई त्यहाँ पहलमानको उद्धारबारे झूटो बोलेको भनेर युट्युबरले प्रश्न गरे । उनले त्यसबेला पहलमानका लागि आफूले पैसा नदिए पनि अभियान चलाएर जुटाइदिएको दाबी गरे । त्यही क्रममा उनले ज्वालामाथि गम्भीर आरोप लगाए ।
‘हामीले भिडियो बनाएर अपील गरेपछि पैसा जम्मा भएको हो । पैसा जम्मा भएपछि यिनीहरू ब्युँतिएका हुन् । कोही जापानमा वेश्यावृत्ति गर्ने, कुनै पार्टीको केन्द्रीय सदस्य भएका छन् । जापानमा वेश्यावृत्ति गर्ने, केटालाई केटी मिलाइदिने, भँडुवाको काम गर्ने, दलालको काम गर्ने, हामीलाई थाहा छैन ? त्यस्ता मान्छे फेसबुक स्टाटसमा लेखेर दुर्गा प्रसाईंलाई हल्लाउन खोज्छन्’, उनले ज्वालाप्रति तितो पोख्दै भनेका थिए, ‘फेसबुकमा जुन कुरा आएको छ, त्यसमा गाली कसले खाएको छ ? वेश्या, भँडुवा, पागलले हल्लाएर दुर्गा प्रसाईं हल्लिँदैन । मैले लाश ल्याउँदा सुन ल्याएँसमेत भने । जेलमा बसेका भाइहरूलाई उतै मर्न दिनुपर्ने रहेछ । अब उनैले गरुन् । जापानमा वेश्यावृत्ति गर्नेले गरुन् । अर्कालाई केटी मिलाइदिने, आफू पनि वेश्यावृत्ति गर्नेले गर्नु । फेसबुकमा लेख्न जानेँ भनेर हालिछन् । यस्ता छन् नयाँ पार्टीका नेता, नयाँ पार्टीका मेम्बर । आफू केही राम्रो नगर्ने, अर्काको खोइरो खन्ने मात्रै गर्दा रहेछन् ।’
ज्वालाले के भनिन् ?
प्रसाईंले गम्भीर र आपत्तिजनक आरोप लगाएपछि ज्वालाले तत्कालै विरोध गरिन् । उनले फेसबुकमार्फत प्रसाईंविरुद्ध कानुनी कारबाहीमा जाने बताएकी थिइन् ।
त्यसबेलै प्रसाईंविरुद्ध कानुनी कारबाहीमा जाने बताएकी ज्वालाले बिहीबार आफ्ना कारणले पक्राउ पुर्जी जारी भएको खुलाएकी छन् ।
उनले कुनै नेता या सरकारको विरोध गरेर नभई प्रसाईंले एउटी छोरीको चरित्र हत्या गरेर, ..श्या बनाएर, मानवताविरुद्धको अपराध गरेर पक्राउ पुर्जी जारी भएको पनि उनले बताएकी छन् ।‘पब्लिक सेन्टिमेन्ट बटुल्न अनेक भ्रम कसरी फैलाउनु पर्छ, त्यो दुर्गा दाइलाई राम्रोसँग थाहा छ। हिजो एउटा अन्तर्वार्ता हेरेँ । जब आफूलाई पक्राउ पुर्जी जारी भयो, तब जापानमा भएकी छोरीलाई फोन गरेर भावुक हुनुभयो रे ! वाह ! दुर्गा दाइ । आफ्नी जापानमा रहेकी छोरी चाहिँ देवी, लक्ष्मी, माता, अनि अरुका छोरी (जो आफ्नो दु:ख गरेर, हजारौँलाई सहयोग गरेर, अन्यायविरुद्ध बोलेर हिँडेका चाहिँ) जापानमा वेश्यावृत्ति गर्ने, रातभर सातजनासँग चर्ने, भँडुवाको काम गर्ने, दलालको काम गर्ने? कहाँबाट यस्तो बोल्ने हिम्मत आउँछ दाइ? के यो दुर्गा माताकै आशीर्वाद हो ?’
उनले प्रसाईंविरुद्ध आफूले हालेको उजु्रीका आधारमा साइबर क्राइममा पक्राउ पुर्जी जारी भएको पनि बताएकी छन् ।
‘तपाईंले एउटी छोरी समानकी चेलीको चरित्र हत्या गर्नु भएको छ। मर्न बाध्य बनाउनु भएको छ। डिप्रेशनमा पुर्याउनु भएको छ। तपाईंले मानवताविरुद्धको अपराध गर्नु भएको छ। तपाईंले बोलेका शब्दहरू न सुन्न लायक छन् , न माफीका लायक छन्’, उनले अगाडि भनेकी छन्, ‘होला, तपाईंले धेरै चेली उद्धार गर्नु भयो । तर सयजना उद्धार गरेँ भन्दैमा एकजनालाई मार्न पाइन्छ भनेर कुन कानुनमा लेखिएको छ? अब जे गर्छ कानुनले गर्छ। कानुनमाथि कोही छैन, हुँदैन र हुनु हुदैन ।’
जापानमा लामो समय बसेकी ज्वालाई चार वर्षअघि नेपाल फर्किएपछि सामाजिक अभियन्ता बनिन् । २०७९ वैशाखमा राप्रपामा लागेकी उनी त्यसपछि रवि लामिछाने नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी बन्दा त्यतै प्रवेश गरिन् । उनी २०८० फागुनमा रास्वपाकी केन्द्रीय सदस्य भइन्। अहिले ज्वाला रवि लामिछाने पत्नी निकिताले खोलेको नारी टेलिभिजनमा ‘माइतीघर’ कार्यक्रम चालउँछिन् ।