काठमाडौं, २५ भदौ । नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले मार्ग प्रशस्त गर्दा उपयुक्त हुने बताएका छन् । उपसभामुख रानाले पदीय मर्यादा जोगाउन नसकेको उनले बताए । अमेरिकामा आयोजित एक कार्यक्रममा जान र केही मान्छेहरु संगै लैजान उपसभामुख रानाले उपसभामुखको लेटरप्याड दुरुपयोग गरी अमेरिकी दूतावासलाई पत्र लेखेकी थिईन् । सो विषयलाई लिएर उनीमाथि प्रश्न उठिरहेको छ ।

‘उपसभामुखज्यूबारे उठेको विषय आजको होईन, यो विषय संसद्मा लगातार उठेको विषय हो । उहाँ संसदको उपसभामुख हुनुहुन्छ । उहाँ कुनै कार्यक्रममा अमेरिका जाँदै हुनुहुन्थ्यो । त्यो क्रममा कार्यक्रमसँग असम्बन्धित मान्छे, महिलासँग जोडिएको कार्यक्रममा पुरुष लैजाने गरी र उहाँले भिसा प्रोसेरमा जसरी दूतावासलाई पत्राचार गर्नुभयो, त्यो कूटनैतिक मर्यादाविपरीत हो, संस्थागत लेटरप्याडको दुरुपयोग हो । पदअनुकूलको व्यवहार होईन त्यो । पदीय जिम्मेवारीभन्दा बाहिर बाट भएको व्यबहार हो । यस्ता कुराहरुले उहाँमाथि नैतिक प्रश्नहरु सिर्जना भएको छ । उहाँले जे गर्न हुँदैन थियो, त्यो गर्नुभएको कारणले गर्दा उहाँले पदअनुकूलको व्यहार नगरेको, संस्थाको मर्यादा जोगाउन नसकेको, अन्तर्राष्ट्रिय क्षेत्रमा संसद्को गरिमा बढाउनुपर्नेमा यस प्रकारको प्रश्नहरु सिर्जना भइसकेपछि उहाँले अब मार्गप्रशस्त गर्नु उपयुक्त हुन्छ,
उपसभामुख रानामाथि संसद्मा नै यो कुरा पटक–पटक उठेको बताउँदै उनले यस विषयमा सत्तारुढ दलमा भने कुनै छलफल नभएको दाबी गरे । ‘सरकारले यसो गर्ने, उसो गर्ने भनेर निर्देशन दिएको भन्ने कुरा निराधार हो । यो कुरा काहीँ केही भएको छैन । संसद्भित्र उठेको कुराको राफसाफ गर्ने जिम्मेवारी संसद्ले नै राख्छ । मार्ग प्रशस्त गर्नु उहाँको लागि र संस्थाको लागि पनि उपयुक्त हुन्छ,’– उनले भने ।