काठमाडौं- किर्ते मुद्दामा दोषी ठहर भई कारागार चलान भएका लुम्बिनी प्रदेशका सांसद धनबहादुर केसी रिहा भएका छन् । सोमबार केसी कानुनअनुसार कैदको सट्टामा रकम तिरेर रिहा भएका हुन् ।

उनले फौजदारी अपराध संहिता २०७४ को दफा १५५ को सुविधा अनुसार १ वर्षसम्म कैद सजाय तोकिएका व्यक्तिले रकम जम्मा गरेमा जेल सजाय भोग्नु नपर्ने प्रावधान बमोजिम १ लाख ९ हजार २ सय रकम तिरेर रिहा भएका हुन् ।
फौजदारी अपराध संहिता २०७४ अनुसार एकबर्षसम्मको कैद सजायमा १ दिन बराबरको ३ सय रुपैयाँका दरले रकम भुक्तानी गरेमा रिहा हुन सक्ने प्रावधान छ ।किर्ते मुद्दामा दोषी ठहर भएका सांसद केसी आइतबार पूर्वी रूकुम जिल्ला अदालतमा हाजिर भएपछि कारागार चलान गर्न आदेश भएको थियो ।साविक रुकुम जिल्ला अदालतले केसीलाई श्रीमतीसँगको अंश मुद्दामा किर्ते गरेको अभियोगमा २०४८ साल असार ९ गते दोषी ठहर गरेको थियो ।अदालतले एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो । उनी त्यति बेलादेखि नै फरारको सूचीमा थिए ।नेपाली कांग्रेसका नेता केसी गत २०७९ को प्रदेश सभा निर्वाचनमा रुकुम (पूर्व) निर्वाचन क्षेत्र १(१) बाट निर्वाचित भएका थिए ।