काठमाडौँ : लागु औषध नियन्त्रण ब्युरोले इथियोपियाबाट आएका दुई जना महिलाबाट २ केजी ६५४ ग्राम लागुऔषध बरामद गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो, कोटेश्वरको हिरासतमा केही दिनयता तीन जना विदेशी नागरिक छन्। लागुऔषध कोकिनको कारोबार र ओसारपसार गरेको आरोपमा तीन जनालाई ब्युरोले पक्राउ गरेको थियो। यसबारे सार्वजनिक गर्न ब्युरोले बिहीबार दिउँसो पत्रकार सम्मेलन राखेको थियो।

कतार एयरवेजबाट काठमाडौँ ओर्लिएका युगाण्डा घर भएका केभिना मुगाला र लिलियन सुशान वानयेन्जेबाट कोकिन बरामद गरिएको ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द थपलियाले जानकारी दिएकका छन् । बरामद कोकिनको बजार मूल्य ७ करोड ९६ लाख पर्ने मूल्याङ्कन गरिएको छ । कोकिन लिन भारतबाट आएकी ३३ वर्षीय देवाजनी पाल पनि पक्राउ परेकी छन् । मुगालाले पेटमा निलेर र लिलियनले चकलेटमा लुकाएर लागु औषध काठमाडौँमा ल्याएका हुन् ।
कारोबारीहरूले सो लागु औषध भारतमा पठाउन काठमाडौँलाई ट्रान्जिट बनाएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । युगान्डा घर भएकी ४४ वर्षीया केभिना मुगाला वैशाख ३० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिइन् । कतार एयरवेजबाट काठमाडौँ ओर्लिएकी उनीमाथि लागु औषध नियन्त्रण ब्युरोबाट विमानस्थलमा खटिएका प्रहरीले शङ्का गरे । ब्युरोका प्रहरीले उनलाई काठमाडौँ महानगरपालिका–९ सिनामंगलबाट पक्राउ गरे । प्रहरी अस्पतालमा लगेर चेकजाँच गर्दा उनले लागु औषध कोकिन निलेर आएको पुष्टि भएको छ ।
मुगालाको पेटबाट १ केजी २६० ग्राम कोकिन संकलन गरिएको लागु औषध नियन्त्रण ब्युरोका एसएसपी गोविन्द थपलियाले पत्रकार सम्मेलन गरेर जानकारी दिए । उनको पेटबाट ९० वटा कोकिनका क्याप्सुल निकालिएको छ ।मुगाला एचआईभी सङ्क्रमित हुन् । लागु औषध तस्करले सङ्क्रमित महिलालाई लोभ देखाएर ‘भरिया’ बनाएर काठमाडौँ पठाएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । उनी इथियोपियाबाट कोकिन निलेर कतार हुँदै काठमाडौँ ओर्लिएकी हुन् । उनको अहिले प्रहरी अस्पतालमा उपचार भइरहेको छ ।
मुगालासहित ३ जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुगाला, युगान्डाकै लिलियन सुशान वानयेन्जे र भारतीय महिला ३३ वर्षीया देवाजनी पाल छन् ।लिलियन पनि कतार हुँदै काठमाडौँ आएकी हुन् । चकलेटको खोलमा लुकाएर ल्याएको अवस्थामा प्रहरीले उनको साथबाट १ केजी ३९४ ग्राम कोकिन बरामद गरेको छ । सुटकेसभित्र स्निकर चकलेटमा लुकाएर ल्याएको ६३ वटा क्याप्सुल बरामद गरिएको एसएसपी थपलियाले बताए । उनले भने, ‘दुई जनाको साथबाट २ केजी ६५४ ग्राम कोकिन बरामद गरेका छौं ।’इथियोपियाबाट पठाएको कोकिन लिन भारतबाट काठमाडौँ आएकी हुन्, देवाजनी पाल । भारतबाट बुटवल र पोखरा हुँदै काठमाडौँ आएपछि उनलाई पक्राउ गरिएको एसएसपी थपलियाले जानकारी दिए । कोकिन पठाउने मुख्य तस्करको बारेमा ब्युरोले अनुसन्धान गरिरहेको छ ।