काठमाडौं । विभिन्न एपबाट सट्टेबाजी खेलाउने एक गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले क्याश एप, फायरकिरिन लगायतका क्यासिनो एपमार्फत सट्टेबाजी गराउने चार जनालाई आइतवार उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा २६ वर्षीया सरिता लामा, २५ वर्षीया सारङ्गा गुरुङ, २३ वर्षीया पूर्णिमा राई, २८ वर्षीय तेम्बा लामा रहेका छन् । प्रहरीका अनुसार उनीहरूले आफ्नो लाभका लागि सोझा व्यक्तिहरूलाई ती एपमार्फत विभिन्न खेलहरूमा अनलाइन बाजी राख्न लगाउने गर्थे ।


प्रहरीले उनीहरूको साथबाट पाँच थान ल्यापटप तथा ११ थान मोबाइल फोनसमेत बरामद गरेका छन् । हाल उनीहरूलाई आवश्यक कारबाहीको लागि जिल्ला परिसर टेकु काठमाडौं पठाइएको छ ।