कैलाली । घोडाघोडी नगरपालिकाले विभिन्न विद्यालयमा गरेको प्रधानाध्यापक नियुक्ति विवादमा परेको छ । संघीय शिक्षा ऐन विपरीत नगरपालिकाले प्र अ नियुक्त गरेको भन्दै विवादमा तानिएको छ । यसैबिच पहलमानपुरस्थित श्री कान्ति राज्यलक्ष्मी माध्यमिक विद्यालयका विद्यार्थीहरूले नगरपालिकाले आफ्नो निर्णय सच्चाउन माग गरेका छन् । शिक्षा शाखा प्रमुख खगेन्द्रबहादुर सिंहलाई विद्यार्थीहरूले माग सम्बोधन नभए आन्दोलन गर्ने चेतावनीसहितको प्रेस विज्ञप्ति बुझाएका छन् । नयाँ प्र अ पठाउने भन्ने सूचनाप्रति हामी अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूको ध्यान आकर्षित भएको छ । प्रधानाध्यापक परिवर्तन तथा शिक्षक सरुवा कानुन सम्मत र विद्यार्थीहरूको पढाइलाई प्रभावित नपर्ने गरी गरिनुपर्छ ’ नगरपालिकामा विद्यार्थीहरूले बुझाएको विज्ञप्तिमा उल्लेख गरिएको छ । विद्यालय यहाँसम्म ल्याई पुराउन शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको महत्त्वपूर्ण भूमिका रहेको उनीहरुले बताएका छन् ।

अभिभावकले मुठ्ठी र शिक्षकहरूले न्यून तलब खाएर विद्यालयको विकासमा अहोरात्र खटिनुभयो र आज नगरमै सर्वोकृष्ट विद्यालय बन्न सफल भएको विद्यार्थीहरूको दाबी छ ।
‘यसैबिच यस विद्यालयको प्र। अ। परिवर्तन र शिक्षक सरुवा गर्ने भन्ने नगरपालिकाको योजनाले शैक्षिक वातावरण खलबलिने मात्र नभई हामी विद्यार्थीको पढाइमा पनि नकारात्मक असर पार्ने देखिन्छ । त्यसैले नगरपालिकाको यस योजना र कार्यप्रति घोर विरोध जनाउँदछौँ । ’ विद्यार्थीहरूले बुझाएको विज्ञप्तिमा भनिएको ‘नगर सरकारको काम लथालिङ्ग भई शैक्षिक उपलब्धी हासिल गर्न नसकेमा विद्यालयलाई राम्रो बनाउने हुन् पर्छ न कि राम्रो भइरहेका विद्यालयलाई खचमच्याएर वातावरण धमिल्याउने हो। ’
प्रत्यक्ष हाम्रो विद्यालयसँग र हामीलाई पढाइरहनु भएको शिक्षक प्र।अ। हुँदाहुँदै बाहिर विद्यालयबाट नयाँ प्र।अ। ल्याएर यस विद्यालयमा नेतृत्व दिने नगरपालिकाको कदम स्वीकार नगर्ने विद्यार्थीहरूले जनाएका छन् । उनीहरुले आफ्नो निर्णयमाथि पुनर्विचार गर्न घोडाघोडी नगरपालिकालाई आग्रह समेत गरेका छन् ।
‘१४ गते बिहान १० बजेसम्म निर्णय नसच्चाइएमा हामी सम्पूर्ण विद्यार्थीहरू आन्दोलन गर्न बाध्य हुने छौँ । त्यसपछि आउने परिणामको भागीदार नगरपालिका हुनेछ’ विद्यार्थीहरूले विज्ञप्तिमा भनेका छन् । श्री कान्ति राज्य लक्ष्मी मा पहलमानपुरका सम्पूर्ण विद्यार्थीहरूको तर्फबाट नगरपालिकालाई पत्र बुझाएको बताएको छ ।