काठमाडाैँ- एमालेका सांसद पदम गिरीले सुन तस्करीको सही ढंगबाट छानबिन नगरेर तत्कालिन पुष्पकमल दाहाल नेतृत्वको सरकारले नेकपा (माओवादी केन्द्र) का शीर्ष नेताहरू जोगाउने काम गरेको आरोप लगाएका छन्।

प्रतिनिधि सभा बिहीबारकाे बैठकमा बोल्दै उनले सुन तस्करी प्रकरणमा सही ढंगबाट छानबिन भएको भए माओवादीका शीर्ष तहका कुनैपनि नेता बाँकी नरहने बताएका हुन्।
उनले सुशासनको ठूला ठूला कुरा गर्ने तर बालुवाटारको जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीलाई कारबाही गर्न नसकी उन्मुक्ति दिने काम गरेको बताए।
उनले भने,’ पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सुशासनको कुरा गर्नुभयो । ललिता निवासको जग्गालाई व्यक्तिका नाममा सुम्पने हर्कत गर्ने मानिसलाई कारबाहीको दायरामा ल्यायौँ भन्नुभयो। जनताको आक्रोश थेग्न नसकेपछि घरघरमा सीआईबी पठाएर अनुसन्धान गर्न खोजेको जस्तो गरी उन्मुक्ति दिने काम गरेको हो की होइन? त्यही हो सुशासनको पक्षमा उभिएको? कमरेड प्रचण्ड नेतृत्वको सरकारको पालामा इतिहास रच्ने काम भयो। सायद यसको सही ढंगले छानबिन भएको भए, पारदर्शी ढंगले छानबिन भएको भए सायद तपाईंको पार्टीको हेड क्वार्टरमा कोही मानिस बाँकी रहँदैन थिए। यो म भन्नसक्छु।’
उनले गणतन्त्रपछिका ८ वर्ष उर्जा मन्त्रालयको नेतृत्व माओवादीले नै लिएको भन्दै सो अवधिमा किन बक्यौता नउठाएको भन्दै प्रश्न गरे।
उनले भने,’ म उहाँलाई प्रश्न सोध्न चाहन्छु, तपाईंहरूले उर्जा मन्त्रालय सम्हालेको पछिल्लो ८ वर्ष भयो । निरन्तर ८ वर्ष उर्जा मन्त्रालयको नेतृत्व गरिरहँदा किन आजसम्म बक्यौता उठाउन चाहनु भएन। किन बक्यौता उठाउनेतिर लाग्नु भएन। उद्योगी, व्यापारीहरूले तिर्नुपर्ने बिल कति हो टिओडी मिटरअनुसार भन्नेकुरा आज पनि दिन सकेको छैन। किन प्राधिकरणले दिन चाहँदैन।’