काठमाडौं । ट्रेकिङ एजेन्सीज एसोसियसन अफ नेपाल (टान, पर्वतीय पर्यटन व्यवसयीहरुको छाता संगठन)को आगामी अध्यक्षका लागि चर्चित पर्यटन ब्यबसायी सागर पाण्डेले उम्मेदवारी दिने भएका छन् । यस अघि टानको महासचिवको जिम्मेवारी सम्हालीसकेका पाण्डेलाई नेकपा (माओवादी केन्द्र) निकट नेपाल पर्यटन व्यावसायी संगठनले टानको अध्यक्षमा अघि सार्ने सर्वसम्मत निर्णय गरेको छ । पाण्डे हिमालयन ग्लेसियार ट्रेकिङका संचालक हुन । टानको अध्यक्षमा सागर पाण्डेलाई अघि सारेसंगै साझा उम्मेदवार बनाउने गरि अन्य संघसंगठनसंग छलफल तथा वार्ता अघि बढ्ने नेपाल पर्यटन व्यावसायी संगठनले जनाएको छ ।

टानको नयाँ नेतृत्वको अध्यक्ष पदका लागि लामो सयम पर्यटन क्षेत्रमा अनुभव भएका ट्रेकिङ एजेन्सीज व्यवसाय एवं टानको महासचिव जस्तो गरिमामय जिम्मेवारीमा समेत रहेर काम गरेका सागर पाण्डेले टानको नयाँ नेतृत्वको लागि अध्यक्ष पदका लागि उमेदवारी घोषणा घोषणा गर्दै प्रमुख तीन एजेण्डा अघि सारेका छन् । टानको निर्वाचन तथा साधारण सभा यहि भदौ १७ गते एलाइस रिसेप्सन गैरिधारामा हुंदैछ ।
उनले अघि सारेका कार्यहरु: विगतमा लामो समय टानको कार्यसमितिमा रहेर काम गर्नुका साथै महासचिव जस्तो महत्वपूर्ण जिम्मेवारीमा समेत रहेर मैले काम गरिसकेको यहाँहरुलाई अबगत नै छ । यहाँहरुकै अनुरोध सुझाव र सल्लाहकै आधारमा यसपटक टानको नेतृत्वका लागि अध्यक्ष पदमा मैले उमेद्वारी दिने निर्णय गरेको छु । त्यसो त भाषण र कुरा भन्दा पनि काम नै गर्नुपर्छ भन्ने मेरो मान्यता छ । टानको नेतृत्वका लागि अध्यक्ष पदमा उमेद्वारी दिँदै गर्दा मैले टानमा गएर तत्काल गर्नुपर्ने पहिलो चरणका तीनवटा एजेण्डाहरु अघि सारेको छु उनले भने ।
१) राहत तथा उद्धार अक्षयकोषको स्थापना :
सबैभन्दा पहिले सबै कर्मचारी तथा मजदुर साथीहरुका लागि राहत तथा उद्धार अक्षय कोषको स्थापना गर्ने छु । कुनै पनि सदस्य कम्पनीको कर्मचारी, ट्रेकिङ गाइड वा मजदुर जुनसुकै वेला जुनसुकै समस्यामा पर्दा उसलाई सहयोग गर्नुपर्छ भन्ने मान्यतालाई स्थापीत र व्यबहारिक बनाउन राहत प्रदान गर्नेगरी अक्षयकोष स्थापना गर्नु महत्वपूर्ण ठानेको छु । त्यसका अतिरिक्त टानका सदस्य व्यवसायीहरुलाई कुनै पनि बेला दिर्घकालीन रोग वा महंगो उपचार गर्नुपर्ने रोगहरु लागेको अवस्थामा सोही कोषबाट राहत उपलव्ध गराइने यस कोषको लक्ष रहेको छ । कतिपय व्यबसायीहरु महंगो उपचार गर्नुपर्ने रोग लागेको अबस्थामा अहिले पनि उपचारबाट बंचित हुनुपर्ने अबस्था छ । त्यसो हुन नदिनका लागि यस कोषले व्यबसायीलाई सहयोग गर्ने छ । मुलत व्यबसायी र कर्मचारी दुवै पक्षलाई फरक ढंगको राहतका राहत तथा उद्धार अक्षयकोषको स्थापना गर्ने लक्ष्य लिएको छु । एकवर्षभित्र कम्तिमा एक करोड बराबरको अक्षय कोषको व्यवस्थापन गरिने छ । यसको सुरुवाति एककरोड बजेट घोषणा गर्दछु । त्यसबारेमा अवधारणा बनाएर अघि बढ्ने कुरा यहाँ उल्लेख गर्न चाहन्छु ।
२) कानूनी परामर्श इकाईको गठन :
टानमा एउटा अलग्यै विभागका रुपमा कानूनी परामर्श इकाइको आबश्यकता महसुस गरि कानूनी परामर्श इकाईको गठन गर्ने प्रतिबद्धता अघि सारेको छु । यसबाट टानका साधारण सदस्यहरुले आफ्नो व्यवसाय सञ्चालनको क्रममा आइपर्ने कानूनी अड्चन, प्रशासननिक अप्ठ्याराहरु तथा अन्य कुनै किसिमको कानूनी परामर्श लिन पाउनेछन् । समस्या हेरि टानले नै सहजीकरणसँगै समस्या समाधानका लागि पहल गर्नेछ। यस्तो व्यवस्थाले नयाँ वा भर्खर–भर्खर व्यवसाय सञ्चालन गरेका युवा तथा मेहनती उद्यमीहरुलाई विशेष सहयोग पुग्नेछ भने अरुलाई पनि सहजिकरण हुने छ । व्यवसाय गर्दा कतिपय कानूनी कुराहरुको ज्ञान नहुन सक्छ जसका लागि कुनै पनि कार्यमा कानूनी परामर्श जरुरी हुन्छ । कानूनी रुपमा कुनै पनि अफ्ठ्यारो अवस्था सृजना नहोस् भनेर यस्तो कानूनी इकाई गठन गरी समन्वयन तथा सहजीकरण गर्नुका साथै आवश्यक परामर्श उपलव्ध गराउन कानूनी परामर्श इकाई गठन गरिने छ ।
३) बैंकिङ तथा भ्याट र ट्याक्स परामर्श इकाई :
यसैगरी बैंकिङ तथा भ्याट र ट्याक्स परामर्श समितिको आवश्यकता पुरा गर्नेगरी बैंकिङ तथा भ्याट र ट्याक्स परामर्श इकाई गठनको अबधारण पनि मैले अघि सारेको छु । प्रत्येक आर्थिक वर्षको अन्त्यमा ट्याक्सरभ्याटको सीमा तथा नियमहरुमा फेरबदल भइरहने हुनाले कतिपय व्यवसायीहरु अलमलमा पर्ने तथा समस्यामा पर्ने गरेका छन् । त्यसका साथै बैंकिङ क्षेत्रसँग जोडिएको कर्जा, व्याज तथा अन्य परामर्शमा पनि यस समितिले सहयोग गर्ने छ । यस इकाई समितिले भ्याट, ट्याक्स तथा बैंकिङ क्षेत्रका बारे जानकारी गराउने, परामर्श दिने तथा आवश्यक प्रकृया पुरा गर्नमा सहजिकरण गर्ने र सम्बन्धित समस्या समाधानमा सहयोग गर्ने छ ।