काठमाडौं– पछिल्लो समय दक्षिण चीन सागरमा चीन र फिलिपिन्सबीच तनाव बढिरहेको छ । फिलिपिन्सले हालै मात्र चिनियाँ तटरक्षक युद्धपोतले आफ्ना युद्धपोतलाई ठक्कर दिएको आरोप लगाएको छ ।

फिलिपिनी पक्षका अनुसार घटना पश्चिमी फिलिपिनी सागरमा पर्ने एस्कोदा (सबिना) शोलमा भएको हो । फिलिपिन्सले दक्षिण चीन सागरलाई पश्चिम फिलिपिनी सागर भन्दै आएको छ ।
आफ्ना बीआरपी केप एनगानो र बीआरपी बाकागेमाथि चिनियाँ तटरक्षक युद्धपोतले उत्तेजक गतिविधि गरेको फिलिपिन्सको आरोप छ ।
घटना भएका बेला फिलिपिन्सका युद्धपोत लावाक र पटाग टापुतर्फ बन्दोबस्तीका सामान लैजाने क्रममा रहेको त्यहाँको राष्ट्रिय सुुरक्षा परिषदका प्रवक्ता जोनाथन मलायालाई उद्धृत गर्दै फिलिपिनी इनक्वाइररले जनाएको छ । दुर्घटनाका बावजुद दुबै जहाजमा ठूलो नोक्सानी नभएको जनाइएको छ ।
उता, चीनले भने पटक पटकको चेतावनीका बावजुद फिलिपिनी युद्धपोत चिनियाँ युद्धपोततर्फ ठोक्किन आएको प्रतिक्रिया दिएको छ ।