खगेन्द्र अबस्थि काठमाडौं। जबजब उनको गीत सार्वजनिक हुन्छ, तब तब चर्चा चुलिन्छ, त्यसपछि अनुमान सुरु हुन्छ उनको ‘बन्दी जीवन’ को । १० वर्षभन्दा धेरै समयदेखि सार्वजनिक रुपमा नदेखिएकी माझीको जीवन बाहिर अनुमान गरिएजस्तै हो अथवा उनी खुसीले बाँचिरहेकी छन्, त्यसको चित्तबुझ्दो उत्तर आएको छैन किनभने विष्णु सार्वजनिक हुँदै हुन्नन्। उनको व्यवस्थापन गर्ने श्रीमान् सुन्दरमणि पनि कामबाहेकका अरु व्यक्तिसँग सम्पर्कमा आउँदैनन्।

त्यसपछि माझीको सम्पर्क हुने ठाउँ उनको माइती स्याङ्जाको चापाकोट नगरपालिका वडा नं ८ हो। तर उनका माइती उनको बारेमा शब्द चुहाउँदैनन्। उल्टै आफन्त नै नभएको प्रतिक्रिया दिन्छन्।
जन्मेर हुर्केको ठाउँमा दशौँ वर्षदेखि पाइला नटेकेकी माझी गीतबाहेक अरु माध्यमबाट कसैको सम्पर्कमा आउँदिनन्। उनी आफूसँग भएको स्वरमात्र सुनाउँछिन्, त्यसपछि फेरि शान्त। उनी यसरी शान्त बसिदिन्छिन्, जसले सांगीतिक क्षेत्र अनि उनका शुभचिन्तकको मनमा आँधी ल्याउँछ।
विसं २०७८ साल असोज ३ गते संविधान दिवसको दिन सरकारले प्रदान गर्ने विभूषण, अलंकार तथा पदक पाउनेहरुको सूचीमा विष्णु माझीको पनि नाम पर्याे। प्रवल जनसेवाश्री पदकबाट सम्मानित हुने घोषणापछि माझीको विषयमा पुनः छलफल भयो, ‘आखिर उनी कहाँ छिन् ? बेलामौकामा नयाँ गीत सार्वजनिक गर्ने तर सार्वजनिक रुपमा बाहिर नदेखिने माझी ‘बन्दी बनाइएकी हुन् ?’ भनेर प्रश्न आइरहन्छ। यसको जवाफ खोज्ने काम पनि बेला बेलामा हुन्छ अनि बिस्तारै कुरा सेलाउँछ।
विसं २०८१ सालको तीज आउनुअगाडि विष्णु माझीको स्वरमा एउटा गीत सार्वजनिक भयो। ‘आइन आमा यो तीजमा माइत’ । यो गीतलाई उनकै श्रीमान सुन्दरमणि अधिकारीले सिर्जना गरेका हुन्। गीतको अडियो र भिडियो दुवैमा अधिकारीले काम गरेका छन्।
‘भूमिगत’ गायिकाको गीत सार्वजनिक भएपछि दर्शकले गायिकाको खोजी गरे। दुई दिन नबित्दै गीतलाई एककराेडभन्दा धेरैपल्ट हेरियो। २०७८ सालमा सञ्चारमाध्यममा गीतको विश्लेषण अनि माझीको वास्तविकतालाई अप्रत्यक्ष रुपमा तुलना गरिएको आलेख पनि आयो। ‘माझीलाई उनकै श्रीमान सुन्दरमणि अधिकारीले बन्दी बनाएको, उनीमाथि हिंसा भएको, अनुहारमा चोट लागेकै कारण अनुहार लुकाएर हिँडेको’ आरोप–आँकलनसहित सामाजिक सञ्जालमा छलफल हुन थाल्यो।
अहिलेसम्म विष्णुको खोजीमा जति पनि काम भएका छन्, त्यो मौखिक रुपमा र व्यक्तिगत पहलमा भएको छ, सहती रुपमा। त्योभन्दा माथि उठेर जाने ठाउँ संविधानले पनि दिएको छैन। संविधानले मौलिक अधिकारअन्तर्गत व्यक्तिलाई स्वतन्त्रतापूर्वक बाँच्ने अधिकार दिएको छ। गोपनियताको हक पनि छ।
अहिले एक–दुईवटा गीत हिट हुनासाथ गायक–गायिकाहरुलाई स्वदेश तथा विदेशका कार्यक्रमहरुमा निम्तो आउन थाल्छन् । चलेका गायक–गायिकाहरुका लागि त विदेश यात्रा पानी पँधेरो धाएजत्तिकै हुन्छ । यस हिसाबले सयौं हिट गीत दिएकी विष्णु पनि देश–विदेशका कार्यक्रममा व्यस्त रहनुपर्ने हो । तर, उनले अहिलेसम्म विदेशमा पाइला पनि टेकेकी छैनन् । स्वदेशकै मेला–महोत्सवमा पनि उनी पुग्दिनन् । जब कि उनको सबैतिर चर्को डिमान्ड छ । अहिलेकी नम्बर १ लोकगायिका मानिने विष्णु रहस्यपूर्ण र गुमनाम जीवन बाँचिरहेकी छन् । उनीसँग एउटा मोवाइल पनि छैन । गीत गाउन स्टुडियो धाउनेबाहेक अन्यत्र कुनै सार्वजनिक कार्यक्रममा जान्नन् । घरबाट बाहिर निस्किँदा पछ्यौरी र मास्कले अनुहार ढाक्छिन् । स्टुडियोमा छिर्नासाथ पहिले झ्यालको पर्दा लगाउँछिन्, अनि मात्र गाउँछिन् ।
सामाजिक सञ्जालमा उनको नामोनिशान छैन । आजसम्म एकचोटि पनि सञ्चारमाध्यममा आएकी छैनन् उनी । सानातिना कलाकारको पनि इन्टरभ्यू छ्याप्छ्याप्ती भेटिने समयमा उनको एउटै इन्टरभ्यू कतै भेटिँदैन । यति मात्रै होइन, विष्णुको नयाँ तस्वीर नै नआएको धेरै भयो । उनले गाएका गीतहरुमा एक दशक पुरानो एउटै तस्वीर प्रयोग भइरहेको हुन्छ । काठमाडौंमा उनी कहाँ बस्छिन्, कसैलाई थाहा छैन । थाहा हुनेहरु पनि बताउन चाहँदैनन् । स्याङ्जास्थित माइतीघरमा पनि उनी नपुगेको धेरै भइसकेको बताइन्छ । कर्णप्रिय स्वरकी धनी गायिकाको फ्यान फलोइङ भने ठूलो छ । यूट्यूवमा विष्णुका गीतमा कमेन्ट गर्ने धेरैले उनको वास्तविक अवस्थाका बारेमा जिज्ञासा राखिरहेका हुन्छन् । उनलाई मिडियामा आउन फ्यानहरुले निरन्तर आग्रह गरिरहेका छन् ।
युट्युबमा भेटिएको विष्णु माझीको एकमात्र भिडियो
यसरी बाहिर हिट भइसक्दा पनि विष्णु न सार्वजनिक कार्यक्रम देखिइन्, न मिडियामा । त्यसपछि उनका बारेमा विभिन्न हल्ला चल्न थालेका हुन् ।
हल्ला यस्तो पनि चल्यो कि सुन्दरमणिले विष्णुलाई अविवाहित अवस्थामै बन्धक जसरी घरभित्रै थुनेर राखेका छन् र उनैले विष्णुलाई सामाजिक सञ्जाल/मोबाइलबाट टाढा राखेका हुन् । यस्तो चर्चामा आजसम्म न सुन्दरमणिले कुनै सफाइ दिएका छन् न विष्णुले ।
केही समयअघि कवि लेखक बादल घिमिरेले फेसबुकमा एउटा स्टाटस लेखे, जसमा उनले विष्णुको वास्तविकता बाहिर ल्याउन खोज्दा आफूमाथि अपरिचितबाट ज्यान मार्ने धम्की आएको उल्लेख गरेका थिए । उनको स्टाटसको सार थियो, ‘मेरो घरबाट विष्णुको घर करिब १५ मिनेटको दुरीमा पर्छ । विष्णुको स्वर नसुन्ने त यो देशमा विरलै होलान् । तर, उनको भूमिगत जिन्दगीका बारेमा कमैलाई थाहा छ । आखिर विष्णुलाई कसले यस्तो बनायो ? उत्तरः सुन्दरमणिले । विष्णु गीत गाउँछिन्, सुन्दरमणि पैसा बुझ्छन् ।’