काभ्रे — तीन सातादेखि अमेरिकामा हराइरहेकी ममता काफ्लेका पति नरेश भट्टले नै हत्या गरी शव लुकाएको खुलेको छ । भट्टले जुलाई ३० मा ममताको घरकै मुख्य बेडरुममा हत्या गरी शव लुकाएको देखिन आएको प्रहरीले त्यहाँको अदालतमा बुझाएको कागजपत्रबाट पुष्टि भएको छ ।

मनासस प्रहरीले नरेशलाई बिहीबार शव लुकाएको आरोपमा पक्राउ गरेको थियो । पक्राउपछि प्रहरीले शुक्रबार बिहान भट्टलाई अदालतमा पेस गरेको थियो । प्रिन्स विलियम काउन्टी जुभेनाइल एन्ड डोमेस्टिक रिलेसन कोर्टको रेकर्डअनुसार उनलाई शुक्रबार बिहान ८ः३१ बजे अदालतमा पेस गरिएको थियो ।
उक्त घटनालाई लिएर अब अर्को सुनुवाइ भने अक्टोबर २४ मा हुने बताइएको छ । अनुसन्धानका क्रममा ममताको हत्यासँग जोडिएका पर्याप्त डिजिटल र फोरेन्सिक प्रमाण बरामद भएको प्रहरीको दाबी छ । मनासस पार्क प्रहरी प्रमुख मारियो लुगोले बुधबार स्थानीयको उपस्थितिमा पत्रकार सम्मेलन गर्दै पति भट्टले अनुसन्धानमा समन्वय नगरेको आरोप लगाएका थिए । बुधबार बेलुकीदेखि नै भट्टको घरलाई घेराबन्दी गर्दै प्रहरीले १२ घण्टा खानतलासी गरेको थियो ।
प्रहरीले अदालतमा पेस गरेको कागजपत्रमा काफ्लेको हत्या घरभित्रै भएको र शवलाई घिसारेर घरबाट निकालिएको प्रमाण भेटिएको उल्लेख छ । काफ्लेकी एक वर्षीया छोरीलाई हेरचाह गृह लगिएको छ । ममता गत साउन १६ (जुलाई ३१) देखि हराएकी हुन् । उनी अगस्ट २ मा यूभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा हाजिर नभएपछि सहकर्मीले अवस्था बुझिदिनका लागि स्थानीय प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले ममता सार्वजनिक स्थानमा पछिल्लो पटक जुलाई २८ मा यूभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा देखिएको जनाएको छ । जुलाई २८ मै ममताले आफ्ना साथीसँग कुरा गरेको पाइएको छ भने जुलाई ३१ मा श्रीमतीलाई अन्तिम पटक देखेको भट्टले प्रहरीलाई बयान दिएका थिए ।
शुक्रबार मध्याह्न काभ्रेको पनौती नगरपालिका–६ स्थित नमोबुद्ध सडकछेउमा रहेको एउटा चिया पसलमा मानिसको भीड देखिन्थ्यो । भीडमा अमेरिकाको भर्जिनिया राज्यस्थित मानसस पार्क क्षेत्रबाट तीन सातादेखि बेपत्ता भएकी तीनै नेपाली नर्स ममता काफ्लेकै विषयमा कुराकानी भइरहेको थियो । ममताबारे कुराकानी भइरहँदा उनीहरूको अनुहार मलिन देखिन्थ्यो । केहीको आँखाबाट आँसु रोकिएकै थिएन । केहीको बोल्दा गला अवरुद्ध सुनिन्थ्यो । कुराकानी गरिरहेकाहरू सबै ममताका आफन्त थिए । पनौती–६, नमोबुद्ध सडकनजिकै ममताको बुबाको चिया र तरकारी पसल छ ।
अमेरिकामा बेपत्ता ममताका बारेमा केही जानकारी पाइन्छ कि भनेर आफन्त चिया पसलमा भेला भएर कुराकानी गर्न थालेको धेरै दिन भइसक्यो । ममताका बुबा कमल काफ्ले साथमा भएको मोबाइल घरीघरी हेरेर टोलाउँछन् । छोरीको केही खबर आइहाल्छ कि भनेर कुर्दाकुर्दै उनलाई पनि अत्यास लागिसकेको छ ।
उनले बुधबारदेखि भने छोरी फर्केर आउने आशा मारिसकेका छन् । अमेरिकामै रहेका उनका आफन्तले ममता जीवित नरहेको भन्ने आशंकासहितको खबर सुनाएपछि कमललाई छोरी फर्केर आउने आस अब छैन । ‘छोरीको केही अत्तोपत्तो छैन, सास छ कि छैन केही थाहा छैन,’ ममताका बुबा कमलले भने, ‘यत्तिका दिन भइसक्यो हामीले केही खबर पाएका छैनौं ।’
ममताले अन्तिम पटक जुलाई ३० मा नेपालमा रहेका परिवारसँग कुरा गरेको कमलले बताए । ‘छोरीले दिनमा एक पटक सधैं आमालाई फोन गर्ने गर्थिन्,’ कमलले भने, ‘भिडियो कलमै कुराकानी हुन्थ्यो, केही दिनदेखि हामीले उनको अनुहार मलिन देखेका थियौं । के भयो भनेर सोधेका पनि थियौं । उनले खुलेर केही कुरा भनिनन् । ३१ तारिखमा पनि कुरा गर्ने प्रयास गर्यौं । तर सम्पर्क हुन सकेन,’ उनले भने, ‘केही दिनपछि ज्वाइँ नरेश भट्टलाई छोरीका बारेमा सोध्यौं । कामविशेषले टाढा गएको, फोन नलाग्ने ठाउँमा गएकाले सम्पर्क हुन नसकेको भन्नुभयो ।’ एक–दुई दिन भन्दाभन्दै २२ दिन बितिसक्दा पनि कुनै सम्पर्क नभएको उनले बताए । ‘हामीले छोरीका बारेमा बुझ्न खोज्दा ज्वाइँले सधैं भेटिन्छ होला नि मात्रै भन्ने गर्नुहुन्थ्यो,’ उनले भने ।
भर्जिनियामा रेजिस्टर्ड नर्सका रूपमा कार्यरत ममता सानै उमेरदेखि पढाइमा तेज थिइन् । पनौतीको नवरत्न इंग्लिस सेकेन्डेरी स्कुलबाट एसईई गरी बनेपाको बेलर इन्टरनेसनल एकेडेमीबाट प्लस टु उत्तीर्ण गरेर नर्सिङ विषय अध्ययन गर्न भारतको बैंग्लोर गएकी थिइन् । बैंग्लोरमा पाँच वर्ष पढाइ सकेर नेपाल फर्किइन् । उनले बैंग्लोरमा नर्सिङमा कलेज टप गरेको बुबा कमलले बताए ।
कमलका अनुसार अमेरिका बस्दै आएका कञ्चनपुर घर भएका नरेश भट्टसँग ममताको सामाजिक सञ्जालमार्फत चिनजान भएको थियो । सामाजिक सञ्जालबाटै दुईबीच प्रेम सम्बन्ध बढेको उनी बताउँछन् । ‘ममता हाम्री एक्ली छोरी, विवाहको विषयमा सोचविचार गरेर निर्णय लिनुपर्छ भन्ने लागेको थियो,’ उनले भने, ‘केटाको घरपरिवार के–कस्तो छ भन्नेबारेमा राम्रोसँग बुझ्न पाएका थिएनौं । छोरीको खुसीका लागि हामीले पनौतीबाटै विवाह गरेर पठायौं ।’ २०७७ मंसिरमा ममता र नरेशको विवाह भएको थियो ।
विवाहपछि ममता र नरेशको सम्बन्धबारे शंका गर्नुपर्ने कुनै कारण आफूहरूले नदेखेको पनि उनले बताए । विवाहपछि नरेशले ममतालाई पनि अमेरिका लगे । ममता अमेरिका गएको मिति कमललाई स्मरण छ । ‘साउन १० मा ३ वर्ष पूरा भएर ४ वर्ष भयो, छोरी गएको,’ उनले भने, ‘छोरी विदेश गएपछि पनि सबै राम्रो नै छ भन्ने लागेको थियो, उनले हामीसँग दुःख कहिल्यै पनि देखाइनन् ।’
गतवर्ष भदौ ५ मा ममता आमा बनिन् । ममताले छोरीलाई जन्म दिएपछि स्याहारसुसार गर्न ममताकी आमा गीता काफ्ले पनि अमेरिका जाने तयारी भएको थियो । ‘सुत्केरी स्याहार्नका लागि आउनुपर्छ भनेर छोरीले भनेकी थिइन्,’ उनले भने, ‘तर, त्यसको केही समयमै सुत्केरी स्याहार्नका लागि सासू पार्वती भट्ट जाने कुरा भयो ।’ त्यसपछि ममताकी आमा अमेरिका जाने कुरा त्यहीँ रोकियो ।
सुत्केरी स्याहार्न भनेर गएकी सासूले ममतालाई राम्रो व्यवहार नगरेको भन्ने आफूहरूले सुनेको बुबा कमलले बताए । ‘छोरीलाई के छ, कस्तो छ भनेर सोध्दा उनले सधैं राम्रो छ भन्ने गर्थिन्, आफूले भोगेको पीडा कहिल्यै हामीलाई भनिनन्,’ उनले भने, ‘तर, हामीले अरू मानिसहरूबाटै केही कुरा अलिअलि थाहा पाएका थियौं । सानोतिनो झगडा मिलिहाल्छ भन्ने लाग्थ्यो ।’ कमलका अनुसार, केही समययता पारिवारिक बमेल बढेको थियो । केही समय ममता छोरीसहित छुट्टै बसेकी पनि रहिछिन् । तर, केही समयपछि सम्बन्धमा सुधार आएर सँगै बस्दै आएको कमलले जानकारी दिए ।
पछिल्लो समय नरेश र उनकी आमाले ममतालाई राम्रो व्यवहार नगरेको ममताको परिवारको भनाइ छ । ‘महिनावारीका बेला छाउपडी प्रथाका नाममा ममतालाई उनीहरूले राम्रो व्यवहार गरेका थिएनन्,’ ममताकी माइली काकी मैया काफ्लेले भनिन्, ‘ममताको सासू त उसको स्याहारसुसार गर्नका लागि जानुभएको थियो । उहाँले सुत्केरी छोरीलाई भोकै काममा पठाउने, खानपान पनि राम्रो नदिने र राम्रो स्याहार नगर्ने गर्नुभयो रे । त्यसले पनि हामीलाई शंका गर्ने बाटो मिलेको छ ।’
काकी मैयाका अनुसार ममताको सासू अमेरिका गएपछि नै छोरी–ज्वाइँको सम्बन्ध झनै बिग्रिएको हो । सासू नेपाल फर्किएपछि पनि सम्बन्धमा खटपट भइरहेको शंका उनीहरूलाई लागेको थियो । ‘छोरी सम्पर्कविहीन भएको खबर पनि मोबाइलबाट थाहा पायौं, ज्वाइँले ममता हराएको कुरा केही भन्नुभएन, छोरी बेपत्ता भएपछि हामीले ज्वाइँसँग पटक–पटक खबर बुझिरहेका थियौं,’ काकी मैयाले भनिन्, ‘भेटिन्छ होला नि मात्रै भन्नुहुन्थ्यो, सानो दूधे नानी छ, बच्चाले आमालाई कत्ति खोजी होला ? आफ्नी श्रीमती हराउँदा कति धेरै पीडा हुन्छ । तर ज्वाइँमा कुनै पीडा हामीले देखेनौं ।’