कैलालीको टीकापुरमा रहेको कर्णाली नमुना माविमा तीनवर्षे डिप्लोमा तहमा कृषि विषय पढ्न यस वर्ष एकजना विद्यार्थी पनि भर्ना भएका छैनन् । विद्यालयले एसइईको नतिजा सार्वजनिक भएपछि ४० जना विद्यार्थीका लागि हालै भर्ना आह्वान गरेको थियो । कृषि पढ्ने विद्यार्थी नआएपछि एसइईको पूरक परीक्षाको नतिजापछि पुनः भर्ना खोल्ने विद्यालयको तयारी छ ।

कर्णाली नमुना माविका प्रधानाध्यापक धर्मराज शर्माका अनुसार कृषि विषय पढ्न चारजना विद्यार्थीले भर्ना फाराम भरेका थिए, तर उनीहरू प्रवेश परीक्षा दिन आएनन् ।
‘चारजनाले फाराम भरेका थिए, भर्ना हुन एकजना पनि आएका छैनन्,’ शर्माले भने, ‘अहिले केही विद्यार्थी सम्पर्कमा छन्, एसइईको पूरकको नतिजापछि विद्यार्थी भर्ना हुन आउलान् भन्ने आशा छ ।’
कर्णाली माविले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) अन्तर्गत डिप्लोमा तहमा कृषि विषय पढाउँदै आएको छ । यो विद्यालयमा कृषितर्फ डिप्लोमा पहिलो वर्षमा गत वर्ष पनि एकजना विद्यार्थी भर्ना भएका थिएनन् ।
धनगढी उपमहानगरपालिका– २ मा रहेको शारदा माविले पनि सिटिइभिटीअन्तर्गत नै डिप्लोमा तहमा यस वर्ष निर्धारित कोटाअनुसार कृषि विषय पढ्ने विद्यार्थी पाएको छैन । विद्यालयले ४० जनाका लागि भर्ना आह्वान गरेकोमा १८ जना मात्र भर्ना भएका प्रधानाध्यापक तेजबहादुर सिंहले बताए । यस वर्ष एसइईको समग्र नतिजा कमजोर आएकाले विद्यार्थी अभाव भएको उनले बताए । ‘एसइईको पूरकको नतिजा आएपछि केही विद्यार्थी बढ्लान्,’ सिंहले भने ।
विद्यार्थी नआउँदा कतिपय विद्यालयले कार्यक्रम नै चलाउन सकेनन्
कृषिका लागि उर्वर रहेको कैलालीमा कृषिमा स्वरोजगारको प्रशस्त सम्भावना छ । स्वरोजगारको सम्भावना भए पनि कृषि विषय अध्ययनमा भने आकर्षण घट्दो छ । डिप्लोमा तह र प्रिडिप्लोमा तहमा कृषि पढ्ने विद्यार्थी नआउँदा कतिपय विद्यालयले कार्यक्रम नै चलाउन सकेका छैनन् ।
सिटिइभिटीको आंगिक शिक्षालयको रूपमा रहेको टीकापुर बहुप्राविधिक शिक्षालयमा पनि यस वर्ष भर्ना हुने विद्यार्थी घटेका छन् । कृषि डिप्लोमा तहका लागि ४० जनाको कोटामा भर्ना आह्वान गरिएकोमा १० जनाले मात्र प्रवेश परीक्षा दिएका शिक्षालयले जनाएको छ । त्यस्तै, पशुविज्ञानमा ४० जनाको कोटामा २१ जना र वनविज्ञानमा ११ जना विद्यार्थी मात्र आएका टीकापुर बहुप्राविधिक शिक्षालयका संयोजक विकास रानाले जानकारी दिए । यस वर्षदेखि सुरु गरिएको डिप्लोमा तहको कृषि इन्जिनियरिङमा ४८ जनाको कोटामा भर्ना आह्वान गरिएकोमा दुईजनाले मात्र प्रवेश परीक्षा दिएका छन् । ‘कृषि मात्र नभई सबैजसो विषयमा अहिले रोजगारीका अवसर कम छन्, विद्यार्थीहरू १२ सकेपछि विदेश जान चाहन्छन्,’ रानाले भने, ‘मूल रूपमा एसइईको नतिजा कम आउनुले अहिले सबैतिर विद्यार्थी संख्या कम छ ।’ कृषि पढेर आत्मनिर्भर बन्ने भन्दा पनि रोजगारी खोज्ने भएकाले कृषि अध्ययनमा आकर्षण घटेको उनको बुझाइ छ । नतिजा र विदेश जाने विद्यार्थी बढ्नुले विद्यालय तथा क्याम्पसहरूमा विद्यार्थी संख्या घटेको रानाले बताए ।
कृषिमा मध्यमस्तरको जनशक्ति तयार पार्ने उद्देश्यले सिटिइभिटीले डिप्लोमा तहमा प्राविधिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । प्रदेशभरि एक सय २६ वटा विद्यालय, शिक्षालय र संस्थाले प्राविधिक शिक्षा अध्यापनका लागि सिटिइभिटीबाट सम्बन्धन लिएका छन् । प्राविधिक कार्यक्रममार्फत आत्मनिर्भर जनशक्ति तयार पार्ने उद्देश्य रहे पनि कृषि पढेर आत्मनिर्भर बन्नेभन्दा रोजगारी खोज्ने बढी हुने गरेको परिषद्को भनाइ छ ।
सिटिइभिटीको प्रादेशिक कार्यालय धनगढीकी वरिष्ठ प्राविधिक अधिकृत एवं सूचना अधिकारी दीपा जोशीले विद्यार्थी अभाव भएपछि धेरैजसो विद्यालयले कृषितर्फको कार्यक्रम बन्द गर्नुपर्ने अवस्था रहेको बताइन् । यस वर्ष थोरै विद्यार्थी भए पनि धनगढीको शारदा मावि र टीकापुर बहुप्राविधिक शिक्षालयबाहेक प्रदेशभरि नै अरू ठाउँमा विद्यार्थी अभावले डिप्लोमा तहमा कृषि कार्यक्रम सञ्चालन हुने अवस्था नरहेको उनले बताइन् ।
‘कृषिमा विद्यार्थीको रुचि कम देखिन्छ, छात्रवृत्तिका लागि समेत विद्यार्थी परीक्षा दिन आएनन्,’ उनले भनिन्, ‘कृषिबाहेक अन्य प्राविधिक विषयमा विद्यार्थीको त्यति समस्या छैन ।’ कृषि प्राथमिकतामा नपर्नु, मान्छेले खेतमा काम गर्न नचाहनु र एसइईको नतिजा कमजोर आउनुले विद्यार्थी अभाव भएको उनको बुझाइ छ । एसइईको नतिजा न्यून आउनु र रोजगारको सुनिश्चितता नहुनुले कृषि पढ्ने विद्यार्थी नपाउने अवस्था आएको कर्णाली माविका प्रधानाध्यापक धर्मराज शर्मा बताउँछन् ।
यस वर्षको एसइईमा सुदूरपश्चिममा ३१.८७ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका थिए । जुन नतिजा अन्य सबै प्रदेशभन्दा कमजोर हो । प्रादेशिक शिक्षा निर्देशनालयको तथ्यांकअनुसार प्रदेशभरि ५२ हजार ६१८ विद्यार्थी एसइईमा सहभागी भएकोमा १६ हजार ६३३ जना उत्तीर्ण भएका थिए । कैलालीका १५ सहित प्रदेशभरका १५ वटा सामुदायिक विद्यालयको नतिजा शून्य आएको थियो । कैलालीमा मात्र एसइईमा सहभागी १८ हजार ६० विद्यार्थीमध्ये पाँच हजार ४२८ जना (३०.०६ प्रतिशत) उत्तीर्ण भएका थिए । एसइईको नतिजा कमजोर आएपछि अहिले धेरैजसो विद्यालयले कक्षा ११ मा भर्ना हुने विद्यार्थी पाएका छैनन् ।
सेती प्राविधिक शिक्षालयले पनि पाएन विद्यार्थी
कुनै समय विद्यार्थी भर्नाका लागि सयौँ विद्यार्थीबिच कडा प्रतिस्पर्धा हुने डोटीको दिपायलस्थित सेती प्राविधिक शिक्षालयमा पनि भर्ना हुने विद्यार्थी नआउँदा चालू शैक्षिक सत्रमा निर्धारित कोटाहरू रिक्त छन् । शिक्षालयले सूचना प्रकाशित गर्दै तोकिएको अवधिमा मुख्य उम्मेदवारहरू नआई कोटा रिक्त रहन गएकाले अन्य जुनसुकै शिक्षालयमा जुनसुकै कार्यक्रमको प्रवेश परीक्षाको पास सूचीमा रहेका प्रशिक्षार्थीलाई आवेदन दिन आह्वान गरेको छ । डिप्लोमा तहमा सिभिल इन्जिनियरिङ, कृषितर्फ बालीविज्ञान र पशुविज्ञान तथा कृषितर्फ प्रि–डिप्लोमामा निर्धारित कोटाअनुसार विद्यार्थी भर्ना हुन नआएका शिक्षालयका निमित्त प्रमुख धु्रवराज जोशीले बताए । खासगरी कृषितर्फ भर्ना हुन निकै न्यून विद्यार्थी आएका उनको भनाइ छ । जोशीका अनुसार डिप्लोमा तहमा बालीविज्ञानतर्फ ४० जनाको कोटा रहेकोमा तीनजना छात्रवृत्तितर्फबाहेक तीनजना मात्र भर्ना भएका छन् । पशुविज्ञानमा ४० मध्ये १२ जनाको कोटा रिक्त छ । ४०–४० जनाको कोटा रहेको प्रिडिप्लोमा तहमा बालीविज्ञानतर्फ ३५ र पशुविज्ञानतर्फ ३२ जना विद्यार्थी भर्ना नभएका शिक्षालयले जनाएको छ ।
सिभिल इन्जिनियरिङमा नियमिततर्फ चारजना विद्यार्थीको कोटा रिक्त रहेको जोशीले बताए । शिक्षालयले २० देखि २९ साउनसम्म भर्ना हुन आह्वान गरेको थियो । प्राविधिक शिक्षा पढाइ हुने सुदूरपश्चिमकै पुरानो सेती प्राविधिक शिक्षालय सिटिइभिटीको आंगिक शिक्षालय हो । ‘कुनै वेला एउटै संकायमा भर्ना हुन देशभरिबाट १५–१६ सय विद्यार्थीले फाराम भर्थे,’ निमित्त प्रमुख जोशीले भने, ‘गत वर्षसम्म पनि कोटा राख्ने काम भएको थिएन, यसपालि भर्ना हुन विद्यार्थी नै आएनन् ।’