चितवन– चितवनको भरतपुर अस्पतालमा उपचाररत एक महिलाको मृत्यु भएको छ ।

पाठेघरको मासुको टुक्रा (बायोप्सी) निकाल्न खोज्दा गैंडाकोट नगरपालिका–५ की ३९ वर्षीया सम्झना काफ्ले ढकालको मृत्यु भएको हो
अस्पतालमा मंगलबार बायोप्सी निकाल्ने क्रममा स्पाइनल एनेस्थेसिया (कम्मरभन्दा तलको भाग लठ्याउने) औषधी दिइएकी उनको मृत्यु भएको भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए ।
पाठेघरमा सिष्ट भएको भन्दै उनको अप्रेसन गरेर बायोप्सी निकाल्न लागिएको थियो । सूचना अधिकारी पौडेलका अनुसार मृतक महिलाको मुटुमा पहिल्यैदेखि समस्या थियो । उनले बिरामीको अवस्था गम्भीर भएपछि बचाउन आईसीयूमा राखिएको तर बचाउन नसकिएको बताए ।
अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले एनेस्थेसिया दिने बित्तिकै बिरामी अचानक गम्भीर अवस्थामा पुगेको बताए । उनले घटनाका बारेमा थप बुझ्ने काम भइरहेको बताए ।
मृतकका आफन्तहरूले भने अस्पतालले उपचारमा गम्भीर लापरबाही गरेको आरोप लगाएका छन् ।