बझाङ र जाजरकोटमा पहिरोमा घर पुरिँदा दुई परिवारका सातजनाको मृत्यु भएको छ । बझाङमा सुतिरहेको अवस्थामा घरमाथिबाट पहिरो खस्दा एकै परिवारका दुई बालबालिकासहित चार र जाजरकोटमा भूकम्पपीडितको अस्थायी टहरो पहिरोमा पुरिँदा एकै परिवारका तीनजनाको मृत्यु भएको हो । दुवै घटना आइतबार रातिका हुन् ।

बझाङको बुंगल नगरपालिका– १०, टुमेडामा मध्यराति पहिरोले घर लग्दा ५३ वर्षीया काली धामी, उनकी बुहारी २५ वर्षीया गोल्की र गोल्कीका दुई छोरी ६ वर्षीया आकृति र ३ वर्षीया लक्ष्मीको ज्यान गएको छ । कालीका श्रीमान् ५८ वर्षीय बिरा, गोल्कीका श्रीमान् ३० वर्षीय उज्ज्वल र छोरा १० वर्षीय रोशन तथा अर्की बुहारी २० वर्षीया शान्ति र छोरी १६ वर्षीय कमलाको पनि उद्धार गरिएको छ । शान्तिका श्रीमान् रोजगारीको सिलसिलामा भारतमा छन् । सोमबार पूजाका लागि घरमा पाहुना बस्न आएका ७२ वर्षीय अम्बादत्त जोशीको पनि सकुशल उद्धार गरिएको स्थानीय भरत महराले बताए ।
वर्षासँगै भिरालो जमिन भासिएर घर पुरेको र उद्धारको प्रयास गर्दागर्दै चारजनाको मृत्यु भएको बझाङका डिएसपी युवराज भण्डारीले जानकारी दिए । ‘घरको एक छेउतिरबाट ६ जनालाई निकालेर बचायौँ,’ असइ हर्क खड्काले भने, ‘अर्कोतिर पहिरोको ढिस्कोले पुरेपछि थप उद्धार गर्न सकिएन ।’ प्रहरीका अनुसार ५० मिटरमाथिबाट माटोको ठूलो ढिस्कोले घरको आधा भाग पुरेको थियो । राति १ बजे घटना भएकोमा अस्थायी प्रहरी पोस्ट तुतलीलेकबाट खड्कासहितको टोली बिहान ३ बजे घटनास्थल पुगेको थियो । त्यसअघि नै स्थानीयहरू उद्धारमा जुटेका थिए । सुदूरपश्चिम सरकारका मुख्यमन्त्री कमल शाहले मृतकको परिवारलाई प्रतिव्यक्ति एक–एक लाखका दरले राहत दिने घोषणा गरेका छन् ।
जाजरकोटको नलगाड नगरपालिका– १ का भूकम्पपीडित बस्दै आएका अस्थायी टहरा पहिरोमा पुरिँदा एकै परिवारका तीनको मृत्यु भएको छ । पहिरोले टहरा पुरिँदा ४२ वर्षीय लालबहादुर परियार, उनकी श्रीमती ३४ वर्षीया मनीष र दुई वर्षीय छोरा शुभम्को ज्यान गएको हो । वडाध्यक्ष पूर्णबहादुर खत्रीका अनुसार राति भएको घटना गाउँलेले बिहान मात्रै थाहा पाएका थिए । जाजरकोटमा गत वर्ष १७ कात्तिकमा गएको भूकम्पले ठूलो क्षति पुर्याएको थियो ।
जाजरकोटका भूकम्पपीडितका टहरामा तारन्तार पहिरो, रातभर निदाउनै डर
गत वर्ष १७ कात्तिकको भूकम्पले घर भत्किएका जाजरकोटको नलगाड नगरपालिका– १ का ४२ वर्षीय लालबहादुर परियारको परिवार बस्दै आएको अस्थायी टहरा पनि आइतबार राति पहिरोमा पुरियो । उनीसहित श्रीमती ३४ वर्षीया मनीषा र दुई वर्षीय छोरा शुभम्को ज्यान गयो ।
अस्थायी टहरामा बसेका जाजरकोटका भूकम्पपीडितले तारन्तार पहिरोको विपत्ति खेपिरहेका छन् । १७ असारमा पनि भेरी नगरपालिका– ५, इब्रमा भूकम्पपीडितका अस्थायी टहरामा पहिरो खस्दा ५ वर्षीय प्रिन्स विकको ज्यान गएको थियो भने २ साउनमा कुशे गाउँपालिका– ८, दल्लेनामा पनि अस्थायी टहरामाथि पहिरो खस्दा चारजना घाइते भएका थिए । त्यस्तै, ११ साउनमा छेडागाड नगरपालिका– १२ काडागाउँमा अस्थायी टहरामाथि पहिरो खस्दा आठजना घाइते भएका थिए । तारन्तारका यस्ता घटनाले वर्षा भएपछि पीडितहरू टहरामा निदाउनै नसक्ने भएका छन् ।
भेरी नगरपालिका– ३ स्याँलाका भूकम्पपीडित पूर्णबहादुर विश्वकर्मा परिवारका ६ जनासहित अस्थायी टहरामा बस्छन् । तर, राति पानी परेपछि उनलाई निद्रा लाग्दैन । ‘कतिखेर पहिरोले टहरा लैजान्छ भन्ने डर हुन्छ । कतै पहिरो त खसिरहेको छैन भनेर राति वेला–वेला उठ्दै घरमाथि हेर्छु,’ उनले भने । उनको टहरा भिरालो ठाउँमा छ ।
पूर्णजस्तै स्याँलाका १२ परिवार टहरा बनाएर बसेका छन् । भूकम्पले घर पूर्ण क्षति गरेपछि तत्काल ओत लाग्न सरकारले अस्थायी टहरा निर्माण गरेको थियो । ‘टिन (जस्ता)को टहराभित्रको वास छ । कतिखेर पहिरोले बगाउने हो थाहा छैन,’ स्थानीय खड्क सुनारले भने, ‘भूकम्पबाट त बाँच्यौँ, पहिरोले लैजान्छ कि के हो ?’
स्याँला गाउँको बिचबाट ठूलो पहिरो खसेको छ । दुवैतर्फका अस्थायी आवासमा बस्दै आएका नागरिक त्रसित छन् । ‘कतिखेर कताबाट पहिरो खस्ने हो, थाहा छैन,’ स्थानीय पदमबहादुर केसीले भने ।
नलगाड नगरपालिका– २, डाँडागाउँका भूकम्पपीडितको पनि हालत उस्तै छ । राति पानी परेका वेला जाग्राम बस्नुपर्ने बाध्यता रहेको स्थानीय दीर्घबहादुर खत्रीले बताए । ‘माथितिरबाट पहिरो खसेको खस्यै छ, राति पानी पर्दा अस्थायी टहरा पुर्ने हो कि भन्ने चिन्ता छ,’ उनले भने, ‘भूकम्पबाट त जसोतसो जोगियौँ, पानी परेको पर्यै गर्न थालेपछि पहिरोबाट कसरी जोगिने भन्ने चिन्ता रातदिन हुन्छ ।’ टहरा सार्न अन्यत्र जग्गा नभएकाले त्रासैत्रासमा रात कटाउनुपरेको स्थानीय लक्ष्मी सुनारले पनि बताइन् । ‘रुदे्रखोलाले कति वेला बगाउँछ भन्ने चिन्ता छ,’ उनले भनिन् ।
भूकम्पपीडितहरूले सरकारले उपलब्ध गराएको ५० हजार अनुदानबाट टहरा बनाएका थिए । नागरिक समाज जाजरकोटका अध्यक्ष राजेन्द्रविक्रम शाहले जोखिमको आकलन नै नगरी अस्थायी टहरा बनाउँदा भूकम्पपीडित पहिरोको मारमा परेको बताए । ‘भिरालो ठाउँमा अस्थायी टहरा बनेका छन् । खुला क्षेत्रमा बनाउनुपथ्र्यो । मजबुत टहरा पनि भएनन्,’ उनले भने ।