काठमाडौँ । अनलाइनमा केहि दिन अगाडी इन्स्टा आइडी स्क्रोल गर्दै जाँदा रिमा (नाम परिवर्तन) ले अनलाइनमा राम्रो सुट पिस देख्छिन् ।

सुट राम्रो हुनुको साथै २ जोर सँगै लिँदा लगभग आधा रकम सस्तो अफर थियो । अफर देखेर रिमाले आफ्नी साथीलाई लिङ्क पठाइन् र साथीलाई कुरा गरेर सामान मगाउन भन्छिन् । मानसी कलेक्सन नाम रहेको त्यो आइडीमा म्यासेज गर्दा उनले व्हाटसप नम्बर ९७०७४१०१०० मा म्यासेज गर्न भन्छन् । व्हाटसपमा म्यासेज गर्दा रकम क्युआर कोडमा पठाउनु पर्ने र पैसा पठाएको २४ घण्टामा सामान डेलिभरी हुने बत्ताउँछन् । \
क्यास अन डेलिभरी गर्न भन्दा पैसा आए पछि मात्र सामान पठाउन सकिने भन्दै कुमारी बैङ्कमा रहेको रोशन विश्वकर्माको नाममा रहेको खाता नं। ०५३०३१६७८८९००००१ सहितको क्युआर कोड पठाउँछन् । अहिले खातामा पैसा हालेर स्क्रिन सट पठाए अहिले नै सामान कुरियर गरिदिने भन्छन् । साथै उनले कुनै ठगी नहुने भन्दै वमेन्स अपेरल एन्ड क्लोसेट नाममा आन्तरिक राजश्व विभाग, हेटौडामा दर्ता रहेको स्थायी दर्ता प्रमाण पत्रको कागज पठाउँछन् ।
यति भए विश्वास गर्न सकिने कुरा विचार गर्दै रिमाकी साथीले उक्त खातामा ई सेवा मार्फत पैसा पठाउँछिन् । त्यस पछि उक्त व्हाटसप नम्बरमा भने अनुसार नै स्क्रिन सट पठाउँछिन् । उताबाट सामान भोली साँझ या पर्सि बिहान सम्म पुग्ने बताइन्छ । सामान ३ दिन सम्म नआई पुगे पछि उनले त्यहि नम्बरमा सम्पर्क गर्न खोज्दा फोन लाग्दैन । फोन नलागे पछि उनले व्हाटसपमा म्यासेज गर्छिन् तर रिप्लाई आउँदैन । उनले इन्स्टामा पेज खोजेर म्यासेज गर्न खोज्दा त्यहाँ उनलाई ब्लक गरि सकेको हुन्छ ।
यो पेजमा अहिले पनि ३३.६ के फलोअर रहेका छन् । यस्ता अनलाइन सपका नाममा खुलेका धेरैबाट धेरै महिला, पुरुषहरू ठगिन आएको जानकारी प्राप्त भएको छ । पैसा पठाई सके पछि ब्लक गर्ने गरेको अन्य ठगीमा परेका व्यक्तिले बताएका छन् ।