काठमाडौँ । नयाँ पुस्ताका हास्य कलाकारहरू भरतमणि पौडेल, सुमन कार्की र कैलाश कार्कीले युरोपका विभिन्न देशमा रहेका नेपालीलाई हँसाउने भएका छन् ।

मामा इभेन्ट्स र गुरुङ केएनएस इन्टरटेन्मेन्ट्सको संयुक्त आयोजनामा ‘अब हाँस्छ युरोप’ कार्यक्रम मार्फत उनीहरुले युरोपमा हँसाउन लागेका हुन् ।
हास्य रियालिटी सो ‘कमेडी च्याम्पियन’बाट चर्चित बनेका यी कलाकारले केही अगाडि अमेरिका टुर सकाएर फर्किएका थिए । आयोजकका अनुसार कलाकारको युरोपमा हँसाउने यात्रा अगस्ट ३१ तारिखदेखि पोल्यान्डको तेस्रो ठुलो सहर उचबाट प्रारम्भ हुनेछ ।
पोल्यान्डमा हुने कार्यक्रमको व्यवस्थापन एनआरएनए क्षेत्रीय समिति उचले गरिरहेको छ । कार्यक्रमको संयोजन गरिरहेका एनआरएनए आइसीसी सदस्यसमेत रहेका पोल्यान्डका नेपाली व्यवसायी भीमबहादुर खड्काका अनुसार कार्यक्रम उचस्थित होटल रुबिनमा हुनेछ ।
खड्काका अनुसार पोल्यान्डमा रहेका नेपाली कलाकारको समेत प्रस्तुति रहने यस कार्यक्रममा ५ सय बढीको उपस्थिति रहने अनुमान गरिएको छ ।
एक महिना बढी चल्ने युरोप यात्राका लागि पोल्यान्ड, बेल्जियम, फिनल्यान्ड, माल्टा, स्पेन, पोर्चुगल, नर्वे, डेनमार्क लगायतका १ दर्जनभन्दा बढी स्थानमा कार्यक्रमको आयोजना हुनेछ ।
युरोप कार्यक्रममा आफूले विभिन्न कन्टेट मार्फत दर्शक भरपुर हँसाउने कमेडियन भरतमणि पौडेलले बताए ।