काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्कालीन नेकपा एमालेका नेता केपी शर्मा ओलीले माओवादीसँग वार्ता गर्नेहरुलाई कारबाही गर्नुपर्छ भन्ने प्रस्ताव ल्याएको बताएका छन् ।

उनले प्रतिनिधिसभाको बैठकमा माओवादी र एमालेबीच कसरी वार्ता प्रारम्भ भएको थियो भन्नेबारेमा जानकारी गराउँदै त्यसबेला एमालेका नेताहरु वामदेव गौतम र युवराज ज्ञवालीलाई आफूले वार्ताका लागि खटाएको स्मरण गर्दै त्यसरी खटिनेहरुलाई कारबाही गरिनुपर्ने प्रस्ताव ल्याएको बताए ।
“राति म धवलशमशेर जबराको घरमा बास बसेर भोलिपल्ट लखनउ गरेर कुराकानी गरेको थिएँ,” उनले भने, “लखनउमा कुराकानी गरेर फर्किएर वामदेव गौतम र युवराज ज्ञवालीलाई खटाइएको हो । त्यसरी वार्ता गर्नेलाई कारबाही गर्नुपर्छ भन्ने अरु कोही होइन अहिलेका सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली हुनुहुन्थ्यो । उहाँ माओवादीको कामबाट बढी आक्रोशित हुनुहुन्थ्यो हामी पनि कम आक्रोशित थियौँ र ? तर शान्ति प्रक्रिया टुंगोमा पुर्याउनुपर्ने थियो ।”