नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल तथा अलराउन्डर दीपेन्द्रसिंह ऐरीले वेस्ट इन्डिजमा आयोजना हुने म्याक्स ६० क्यारेबियन टी–१० लिग गुमाउने भएका छन् । गत महिना ड्राफटको माध्यमबाट टी–१० लिगमा अनुबन्धित भएका रोहित र दीपेन्द्रसिंह भिसाका कारण सहभागी नहुने भएका हुन् ।

दुवै खेलाडी क्यानडामा भएको ग्लोबल टी–२० लिगमा आबद्ध थिए । रोहित आबद्ध टोरोन्टोले लिगको उपाधि जितेको थियो । क्यानडाबाटै रोहित र दीपेन्द्रसिंहले टी–१० मा सहभागी हुन वेस्ट इन्डिजका लागि भिसा प्रक्रिया अगाडि बढाएका थिए । उनीहरूले वेस्ट इन्डिजको भिसा प्राप्त गर्न सकेका छैनन् । जसका कारण दुवैले टी–१० गुमाउने निश्चित भएका हुन् ।
टी–१० का लागि रोहित मियामी लायन्स र दीपेन्द्रसिंह क्यामन स्टिर्गेसमा आबद्ध भए । मियामिमा पाकिस्तानका पूर्वकप्तान सोएव मलिक, वेस्ट इन्डिजका डोयन ब्राभो, रवि भोपारा र कोरी एन्डरसन छन् । क्यामनमा एलेक्स हेल्स, रोविन उथप्पा, बेन डुक तथा जोसुवा लिटिलजस्ता खेलाडी रहेका छन् । अर्को महिना क्यानडामै आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपालले दोस्रो सिरिज खेल्दै छ ।
क्यानडामा रही रोहित, दीपेन्द्रसिंह र सन्दीप लामिछानेले अभ्यास गर्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । ‘ग्लोबल टी–२० लिग सके पनि रोहित, दीपेन्द्रसिंह र सन्दीप क्यानडामै प्रशिक्षण गर्नेछन्, उनीहरू त्यहाँ नै नेपाली टोलीसँग आबद्ध हुनेछन्,’ क्यानले जनाएको छ । भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)को आमन्त्रणमा नेपाली क्रिकेट टोली भने भारतको बेंग्लोरमा दुई साता प्रशिक्षणका लागि सोमबार त्यहाँ पुगेको थियो । नेपालले भारतको बेंग्लोरमा रहेको नेसनल्स क्रिकेट एकेडेमी (एनसिए)मा दुई साता अभ्यास गर्नेछ ।