काठमाडौं- पछिल्लो समय सञ्चारकर्मी र सामाजिक अभियन्ताका रुपमा चिनिएका पूर्वडीआईजी रमेश खरेलले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् । घिसिङले दुई कार्यकाल विद्युत् प्राधिकरणको प्रबन्धक निर्देशकका रुपमा काम गर्दा भ्रष्टाचार गरेको भन्दै मंगलबार अख्तियारमा उजुरी दिएका हुन् ।कुलमानले राज्यलाई करोडौं रुपैयाँ घाटा हुने गरी विद्युत्को पीपीए गरेको जिकिर खरेलको छ।

कुलमानले आफ्नो कार्यकालमा ६६ कम्पनीसँग पावर पर्चेज एग्रिमेण्ट (पीपीए) गर्दा कानुन मिचेको जिकिर खरेलले गरेका छन् । त्यसक्रममा राज्यलाई १ करोड १७ लाख २६ हजार ५२० रुपैयाँ राजस्व घाटा भएको जिकिर पनि उनले गरेका छन् ।
कुलमानले २०७५ र २०७६ को विभिन्न मितिमा विभिन्न ऊर्जा उत्पादक कम्पनीसँग पीपीए गरेका थिए । उनले ती कम्पनीसँग विद्युत् नियमन आयोगको स्वीकृतिबिना पीपीए गर्दा विद्युत् नियमन आयोगको खातामा जम्मा गर्नुपर्ने रकम गुमाउनुपरेको दाबी गरेका छन् ।
‘विद्युत खरिद सम्झौतामा सहमति दिँदा विद्युत् नियमन आयोगले शुल्क लिनुपर्छ । उक्त रकम पाएपछि मात्रै प्राधिकरणले पीपीए गर्न पाउँछ । तर प्राधिकरणका प्रबन्ध निर्देशकले ऐनलाई नै माथ खुवाउँदै आफूखुसी पीपीए गरेका हुन्’, खरेलले भनेका छन्, ‘आयोग ऐन बनेको एक वर्षपछि पनि प्राधिकरणले स्वीकृतिबिना नै पीपीए गरेर राज्यलाई करोडौँको नोक्सानी गराएको छ । २०७४ मङ्सिर १७ गतेबाट विद्युत् नियमन ऐन लागू भए पनि कुलमानले भने ६२ वटा ऊर्जा उत्पादकसँग २०७५ मा र ४ वटा ऊर्जा उत्पादकसँग २०७६ सालमा पीपीए गराएका थिए । ऐन र नियमावलीको बर्खिलाप हुने गरी प्राधिकरणका हाकिम अगाडि बढे पनि ऊर्जा मन्त्रालय र २०७६ मा स्थापित विद्युत् नियमन आयोगले यस बिषयमा ठोस् पहल गर्न सकेका छैनन् । यस्ता प्रवृत्तिलाई राज्यका निकाय नै मौन बसेर समर्थन गर्दा अनियमितता र भ्रष्टाचारको ग्राफ अझै उकालो लाग्नेमा कुनै सन्देह छैन ।’