काठमाडौं । होटेल हायात रहेको तारागाउँ विकास समितिको जग्गासम्बन्धी विषय फेरि संसदीय समितिमा प्रवेश गराइएको छ । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आइतबारको बैठकमा सांसदहरूले तारागाउँलाई भ्रष्टाचारको केन्द्र बनाइएको भन्दै प्रश्न गरेका हुन् । तीन दशकदेखि छलफल जारी रहे पनि समाधानको प्रयास नगरिएको उनीहरूले बताए ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तारागाउँ विकास समितिको जग्गा हायातले हडप्न खोजेको भन्दै यसमा परिपक्व निर्णय आवश्यक भएको बताए । यसमा ठूलो ‘घोप्लाबाजी’ भएको भन्दै उनले सरकारको सेयर २२ बाट ९ प्रतिशतमा कसरी झर्यो भन्ने अध्ययन गरिनुपर्नेमा जोड दिए ।
“तारागाउँ विकास समिति राखेका छौँ । थुप्रै जग्गा छ, होटेल छ । सरकारका लागि बोझ भएको छ कि आर्जनको माध्यम भएको छ ? यसबारे जानकारी दिनुपर्छ,” उनले भने, “ककनी, नगरकोटछेउमा पनि रिसोर्ट छ, बेहाल छ । प्राइभेटलाई दिने भए दिनुपर्छ, नभए सरकारले अर्को काममा लगाउनुपर्छ । बोझको रूपमा राख्नु हुन्न ।”
हायातले हडप्ने प्रयास गरेको भन्दै उनले त्यसबारे सरकारको धारणा माग्नु आवश्यक भएको बताए । “हायातले हडप्न खोजेको छ । सरकारको २२ प्रतिशतबाट ९ प्रतिशतमा सेयर झारेको छ,” नेता नेपालले भने, “१५० रोपनी जग्गामा सरकारको धारणा के हो ? मन्त्रालयले के गर्न खोजेको हो ? स्पष्ट धारणा ल्याओस् ।”
उनले ठूलै भ्रष्टाचारको संकेत रहेको भन्दै मन्त्रालयको विस्तृत धारणा आवश्यक रहेकामा जोड दिए । “निकै ठूलो घोप्लाबाजी भएको कुरा आएको छ । त्यसकारण विस्तृत धारणा मन्त्रालयबाट आओस्,” उनले भने ।