काठमाडौं-तराई मधेश द्रुतमार्गअन्तर्गत पर्ने मकवानपुरको धेद्रे सुरुङ मार्गको ब्रेक थ्रु भएको छ ।

आयोजनास्थलमा धरहराजस्तै अग्लाअग्ला पिल्लरहरू ठड्याएका छन् । द्रुतमार्गको १३ मध्ये प्याकेज नम्बर २ मा पर्ने धेद्रे र लेनडाडा सुरुङ मार्ग चिनियाँ कम्पनी पोली च्याङ्दाले निर्माण गरिरहेको छ ।
काठमाडौं-तराई मधेश द्रुत मार्ग आयोजनामा ६ स्थानमा गरी जम्मा १०.३९० किमि लम्बाइको सुरुङ मार्ग बन्ने नेपाली सेनाले जनाएको छ । २०७४ वैशाख २१ को मन्त्रिपरिषद्को निर्णयपछि ०८१ मंसिरमा निर्माण सम्पन्न गर्नेगरी आयोजना व्यवस्थापनको जिम्मा नेपाली सेनाले पाएको थियो ।
तोकिएको समयमा काम नसकिएपछि पछिल्लोपटक म्याद थप गरी २०८३ चैत मसान्तसम्म सक्ने लक्ष्य सेनाको छ । तर, हालसम्म समग्र आयोजनाको भौतिक प्रगति जम्मा ३५.३८ प्रतिशत मात्रै छ ।
यसअघि नागढुंगा-काठमाडौंलगायत सुरुङमार्ग ब्रेक थ्रु भइसकेका छन् ।