काठमाडौं । पशुपति कोटिहोममा रिपोर्टिङका लागि गएका दुई पत्रकार कुटिएका छन् । कोटिहोम आयोजकका मान्छेहरुले नै आफूमाथि निर्घात कुटपिट गरेको उनीहरूको आरोप छ । लोकतन्त्र टाइम्स नामक समाचार पाेर्टल र युट्यूव च्यानल सञ्चालन गर्ने प्रिन्स मिश्र र क्यामरापर्सनसमेत रहेका उनका भाइ अखिल मिश्रमाथि कुटपिट भएको हो । दुवैजनाको टाउकोमा चोट लागेको छ । भारतीय कथावाचक श्रीकृष्ण अनिरुद्रको भिडिओ खिच्ने क्रममा उनीहरुसँग विवाद सुरु भएको थियो । कुरा गर्दै प्रिन्सले केही दिनअघि देवी प्रतिभाको पत्रकार सम्मेलनमा आलोचनात्मक प्रश्न सोधेकोमा रिसइवी साँधिएको दाबी गरे । कुट्नेहरू आयोजक संस्थाकै स्वयम्सेवक भएको उनको भनाइ छ । आयोजकले भने कुटपिटको घटनामा आफ्ना स्वयम्सेवक र कर्मचारी संलग्न नरहेको बताएका छन् ।

घटनाको बारेमा प्रिन्सको भनाइ यस्तो छः
मैले सुरुबाट नै दान सचिवालयको बारेमा भिडिओ बनाउँदै आएको छु । देवी प्रतिभाजीको पत्रकार सम्मेलनमा मैले दानको पारदर्शीताको विषयमा प्रश्न उठाएको थिएँ । १२ वटा दान सचिवालय राखेर आर्थिक संकलन गर्नु त व्यापार भएन र ? भनेर सोधेको थिएँ । आज मलाई त्यही निहुमा कुटपिट भएको हो । हामी भारतीय बाबा अनिरुद्रको भिडिओ खिचिरहेका थियौं । त्यही बेला एकजना मेरो नजिक आएर मलाई धक्का दिन थाल्नुभयो । पछि कार्डको नभएको निहुमा उहाँले त्यहाँबाट धकेल्दै लैजानुभयो । मैले सूचना विभागको कार्ड देखाउँदा ‘यसले हुँदैन, कोटी होमकै कार्ड चाहिन्छ’ भन्नुभयो । त्यसपपछि मैले कार्ड बनाइदिनुस न त भनेँ । अनि उहाँहरुले कार्ड बनाउने ठाउँमा लैजानुभयो । भित्र लगेपछि गालीगलौज गर्ने, धम्की दिने कुराहरु भए । अस्तिको पत्रकार सम्मेलनको भिडिओको स्क्रिनसट देखाएर मेरो कार्डमाथि र ममाथि थुक्नसमेत थाल्नुभयो । त्यत्तिकैमा मेरो भाईलाई एकजनाले थप्पड हाने । मेले रोक्न खोज्दा ममाथि पनि निर्घात कुटपिट भयो ।
प्रहरी त्यहाँ थिएनन् । अरु कसैले पनि हामीलाई कुट्न रोकेनन् । आधिकारिक रूपमा दर्ता भएको सञ्चारमाध्यमको पत्रकारमाथि यसरी कुटपिट हुनु प्रेसमाथिकै आक्रमण हो । म मुद्दा दर्ताको तयारीमा छु ।
यस विषयमा हामीले कोटिहोम आयोजक मानव सेवा फाउन्डेसनका सदस्य विपीन थापासँग बुझ्दा उनले आयोजकबाट हातपात नभएको जिकिर गरे । आफूहरंले पचासौं यज्ञ गरेको र उक्त यज्ञहरूमा पत्रकारलाई सबैभन्दा बढी स्पेस दिएको उनले बताए । शनिबारको घटनाबारे उनले आईडी कार्ड नलिई प्रवेश गर्न खोजेपछि सुरक्षागार्डहरंले रोकेको र त्यसक्रममा युट्यूवरहरं आफैंले गालीगलौज गरेको आरोप लगाए ।
उनी भन्छन्, ‘कहाँ कसको के रिसइवी छ, हामीलाई थाहा हुन्न । हमाीले क-कसलाई हेरे सम्भव हुन्छ ? हामी आयोजकबाट कसैलाई केही पनि भएको छैन । त्यसमाथि पत्रकारलाई हाम्रो हरेक कार्यक्रममा ठूलो महत्व दिएका छौं । कसरी हामीबाट त्यस्तो हुन सक्छ ? बरु उहाँहरुले नै आइडी कार्ड नलिइ आएर उल्टै हामीसँग कराउनुभएको थियो ।’
थापाले थपे, ‘यहाँ विभिन्न किसिमका सुरक्षा दिने समूह छन् । जस्तै हिन्दू सेना, विभिन्न स्वयमसेवक संस्था आदि । अब कोसँग उहाँहरुको रिसइवी हो वा के हो र त्यस्तो घटना भएको सुनियो । तर, आयोजकलाई आरोप लगाइयो ।’