कैलाली । दार्चुलामा महाकाली नदीमा फाल हानेकी किशोरी अझै भेटिएकी छैनन् । शनिबार साँझ साढे ६ बजे सदरमुकाम खलङ्गास्थित रिङ्नेताल नजिकैबाट हाम फालेर महाकाली नगरपालिका-१ की करिब १६ वर्षीया धनिसा कुँवर बेपत्ता भएकी हुन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहका अनुसार कुँवर हाम फाल्न नदी किनारको डिलमा उभिएका बेला स्थानीयले प्रहरीलाई खबर गरेका थिए । धनिसा महाकालीमा किन हाम फालिन् भन्ने कुनै ठोस आधार प्रहरीले फेला पारेको छैन । तर, पारिवारिक तनाव हुनसक्ने अनुमान गरिएको छ ।
दुहु गाउँपालिका-४ की धनिसाको १५ वर्षकै उमेरमा विवाह भएको थियो । महाकाली नगरपालिका-१ का उमेशसिंह कुँवरसँग उनले बालविवाह गरेर आएको प्रहरीले जनाएको छ । २०८० भदौमा प्रलोभनमा पारेर विवाह गरेको भन्दै उनले केही समयपछि जिल्ला प्रहरी कार्यालय दार्चुलामा उमेशसिंहविरुद्ध उजुरी दिएकी थिइन् । उनकै उजुरीको आधारमा प्रहरीले फागुन २१ मा उमेशसिंहलाई पक्राउ गरेको थियो ।
जबर्जस्ती करणी र ज्यान मार्ने उद्योगमा उमेशसिंहलाई पूर्पक्षको लागि थुनामा पठाइएको थियो । फैसला भने आउन बाँकी छ । उनी हिरासतबाट प्रहरीको आँखा छलेर भागेका थिए । उनलाई पक्राउ गर्दा दार्चुलाको महाकाली नगरपालिका-४ स्थित भिरालो ठाउँमा लडेर प्रहरी जवान सोहन चौधरीको मृत्यु भएको थियो । त्यसअघि पनि दुई प्रहरीलाई चक्कु हानेर भाग्न सफल भएका थिए । उनलाई एक डेढ महिनापछि प्रहरीले पक्राउ गरेको थियो ।
आफू विवाह गरेर आएको व्यक्तिले कुटपिट र बलात्कार गरेको भन्दै उजुरी दिएर थुनामा गएको ५ महिनापछि उनले महाकालीमा हाम्फालेकी हुन् । उनी रिङ्नेताल नजिकैबाट फाल हान्दा स्थानीयले हो-हल्ला गर्दै रोक्न खोजिरहेका थिए । अहिले सामाजिक सञ्जालमा भाइरल भिडिओमा एपीएफका एक जवान उनलाई उद्धार गर्न आएको देखिन्छ ।
‘करिब ४\५ मिनेटसम्म उहाँलाई त्यहाँ स्थानीयले सम्झाइ रहनुभएको थियो उद्धार गर्न प्रहरी सामुन्ने पुग्नासाथ उहाँले हाम्फाल्नु भयो’, जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सिंहले भने । अहिलेसम्म आत्महत्याको बाटो रोज्नुको कारण पत्ता नलागे पनि घरायसी तनाव हुन सक्ने उनले बताए ।
महाकाली नगरपालिका-१ का वडाध्यक्ष मोहनसिंह महरा पनि घरायसी विवाद र तनावले धनिसा महाकालीमा फाल हान्न गएको हुन सक्ने बताउँछन् ।‘पहिलेबाटै उहाँको घर झगडा थियो मुद्दा मामिला थियो त्यही कारण पनि यस्तो भएको हुन सक्छ’, उनले भने । वडाध्यक्ष महराका अनुसार श्रीमानविरुद्ध मुद्दा हालेपछि उनी दिदीसँग बस्दै आएकी थिइन् । उनका सन्तान छैनन् ।