तटस्थ दृष्टिले जीवन बिताउनेहरुका लागि आदर्श पात्र हुन् राम । युवराजबन्दा समेत उनको अनुहारमा कुनै रागको भाव थिएन । त्यसबेला उनी खुसीले अहङ्कारी बनेनन् । वनमा जाँदा पनि उनको अनुहारमा कुनै उदासी देखिएन । सबै अवस्थामा उनी सामान्य र सरल बनिरहे ।

सबै विषम परिस्थितिहरुमा रामले आफ्नो नीति उल्लंघन गरेनन् । राजा हुँदा आफ्ना भावना र सुखबाट परै बसेर न्यायपूर्वक शासन गरे । वनबास जाँदा, बालीको वध गर्दा, रावणको संहार गर्दा, सीतालाई तपोवन पठाउँदा– सबै अवस्थामा उनी भावको अधिनमा परेनन् ।
रामका यिनै गुणहरुले गर्दा उनलाई मर्यादा पुरूषोत्तमका रुपमा सम्बोधन गर्ने गरिन्छ । मर्यादा भनिनुको कारण हो, उनले कहिल्यै पनि आफ्नो मर्यादा तोडेनन् । सबैभन्दा उत्तम पुरूष मानेर उनलाई पुरूषोत्तम भन्न थालियो ।
वचन पूरा गर्न वनबास :
रामायणको कथाअनुसार अयोध्याका राजा दशरथका तीन पत्नी थिए– कौशल्या, सुमित्रा र कैकेयी । उनीहरुका चार छोरा थिए । कौशल्याबाट जन्मिएका जेठा छोरा थिए, राम । लक्ष्मण, भरत र शत्रुघ्न रामका सौतेनी भाइहरु थिए । लक्ष्मण र शत्रुघ्न सुमित्राका छोरा थिए भने भरत कैकेयीका ।
रामका बुबा दशरथले आफ्नी कान्छी पत्नी कैकेयीसँग उनका कुनै दुई इच्छा पूरा गरिदिने वचन दिएका थिए । कैकेयीलाई रघुकुलका मान्छेहरुले आफ्नो वचन जसरी पनि पूरा गर्छन् भनेर थाहा थियो । त्यसैले उनले कुनै बेला आवश्यक परेमा मागौँला भनेकी थिइन् । त्यस बेला उनमा रामलाई वनबास पठाउने कुनै योजना थिएन । उनी रामलाई प्रेम गर्थिन् ।
कैकेयीलाई उनकी दासी मन्थराले भट्काइन् । बिस्तारै उनमा आफ्नो छोराप्रति मोह बढ्यो । दशरथले दिएको वचनले आफ्नो छोरा भरतलाई अयोध्याको राजसिंहासनमा राख्न सकिन्छ भन्ने उनलाई लाग्यो । छोराको मोहमा परेर उनले भरतलाई राजा बनाउन र रामलाई चौध वर्ष वन पठाउन माग गरिन् ।
दशरथ राम वनबास जाऊन् भन्ने चाहँदैन थिए । आफ्नो वचन खेर जाओस् भन्ने पनि चाहँदैन थिए । उनले रामलाई वनबासबाट रोक्न र आफ्नो वचन पनि पूरा गर्न हरसम्भव प्रयास गरे । आफूलाई रामले बन्दी बनाऊन् र राम आफू राजा बनून् भनेर पनि चाहे । रामले बुबालाई बन्दी बनाएर बुबाको वचन तोड्न चाहेनन् र बुबाको वचन राख्नैका लागि वनबास जान तयार भए ।
एक आदर्श पति :
मंसिर महिनाको शुक्ल पक्षको पञ्चमीका दिन राम र सीताको विवाह भएको थियो । विवाह हुँदा सीताको उमेर ६ वर्षको थियो । विवाहपछि सीता १२ वर्षसम्म अयोध्यामा रहिन् । वनबास जाँदा उनी १८ वर्षकी थिइन् । राम र सीताको उमेरमा ७ वर्षको फरक थियो ।
विश्वामित्रले सीतासँग भेट गराउन रामलाई राजा जनककहाँ पुर्याएका थिए । रामले वाण चढाउने क्रममा शिवधनुष भाँचिएपछि आफ्नो प्रतिज्ञाअनुसार जनकले रामसँग सीताको विवाह गराइदिएका थिए ।
रावणले सीतालाई अपहरण गरेपछि सीताले दुई वर्ष रावणको अशोक बाटिकामा दिन बिताउनुपरेको थियो ।
यही विषयलाई लिएर रावण र रामको बीचमा युद्ध भयो । त्यही बेला रामका सेनामा भ्रम फैलाउने उद्देश्यले रावणका छोरा मेघनादले मायावी सीताको रचना गरे र आफ्नो रथको सामुन्ने बसाएर रणक्षेत्रमा घुमाउन थाले । बाँदरहरुले मायावी सीतालाई साँच्चै सीता ठानेर मेघनादमाथि प्रहार गरेनन् ।
पछि मेघनादले मायावी सीताको कपाल समातेर आफूतिर ताने र सबैको सामुन्ने दुई टुक्रा गरिदिए । यो दृश्य देखेर बाँदर–सेनामा निराशा फैलियो । जसका लागि युद्ध गरिरहेको हो उनै सीताको मृत्यु भएपछि युद्ध गर्नुको के अर्थ भन्ने सबैलाई लाग्यो । सीताको मृत्युको खबर रामले पनि सुने । सुन्नेबित्तिकै उनी अचेत भए ।
रामको चेतना फर्केपछि लक्ष्मण र हनुमानले उनलाई अनेक तरिकाले सम्झाए । विभीषणले उनीसँग भने, “रावणले कहिल्यै पनि सीतालाई मार्ने आज्ञा दिन सक्दैन । त्यसैले यो मेघनादको माया प्रदर्शन हो भन्नेमा कुनै शङ्का छैन ।”
केही समय अझै युद्ध चल्यो र रावण मारिए ।
युद्ध सकिएर अयोध्या फर्केपछि रामको राज्याभिषेक भयो । तर योे खुसी लामो समय टिक्न सकेन । दुई वर्ष रावणसँग रहेकी सीताप्रति समाजको एक वर्गमा सन्देह उत्पन्न हुन थालेको थियो । मानिसहरुलाई सीता पहिलेकै जस्तो पवित्र छिन् भन्नेमा विश्वास भएन ।
केही समयपछि मन्त्रीहरु र दुर्मुख नामक एक गुप्तचरले जनताले सीतालाई हेर्ने दृष्टिकोणका बारेमा रामकहाँ खबर पुर्याए । गुप्तचरका अनुसार जनतालाई सीताको पवित्रताको विषयमा शङ्का थियो । सीता र रामका विषयमा कुरा काट्ने गरिन्थ्यो । त्यस बेला सीता गर्भवती थिइन् । राम र अन्य मानिसद्वारा सीताले पनि यो कुरा थाहा पाइन् । सबैले अग्निपरीक्षा दिनुपर्छ भनेको उनले सुनिन् । राम र समाजले आफूमाथि शङ्का गरेको ठानेर सीतालाई ग्लानि, अपमान र दुःखको अनुभव भयो । विचलित हुँदै उनले चिता तयार गर्ने आदेश दिइन् ।
अग्निले सीतालाई जलाएन र अग्निदेव प्रत्यक्ष प्रकट भएर सीतालाई रामको सामुन्ने प्रस्तुत गर्दै उनी हरेक तरिकाले पवित्र भएको बताए । रामले प्रसन्न भावले सीतालाई ग्रहण गरे र अब अग्नि परीक्षापछि सीतामाथि शङ्का गरिनु उचित नभएको बताए ।
अग्नि परीक्षापछि पनि जनतामा थरिथरिका कुरा हुन छाडेनन् । तब रामले सीतालाई छाड्ने मनसाय बनाए । एक दिन सीताले रामसँग तपोवन घुम्ने इच्छा व्यक्त गरिन् । रामले सीतालाई तपोवनमा छाडेर आउन लक्ष्मणलाई अह्राए । त्यहाँ सीतालाई वाल्मीकि ऋषिले आफ्नो आश्रममा स्थान दिए ।
लक्ष्मण सीतालाई तपोवनमा छाडेर अनुहार झुकाउँदै दरबारभित्र छिर्दा राम दुःखी भएर सिंहासनमा बसेका थिए । उनका आँखाबाट आँशु बगिरहेको थियो ।
रामलाई दुःखी देखेर लक्ष्मणले उनका दुवै खुट्टा समाते र हात जोडेर भने– “महाराजको आज्ञा मानेर मैले शुभ आचार भएकी सीतालाई गङ्गाको तटमा ऋषि वाल्मीकिको आश्रमनजिकै निर्दिष्ट स्थानमा छाडेर फेरि तपाईंको चरणको सेवाका लागि आएको छु । तपाईं शोक नगर्नुहोस् । तपाईंजस्तो बुद्धिमान र मनस्वी मनुष्यले शोक गर्नु हुँदैन ।”
उनले रामलाई सम्भाए, “संसारमा जति पनि सञ्चय छ त्यसको विनाश पनि हुन्छ । त्यसैले स्त्री, मित्र, धन आदिमा आसक्त हुनु हुँदैन । यी चीजसँग वियोग निश्चय छ । तपाईं आत्मा, मन र पूरै लोकलाई काबुमा राख्न समर्थ हुनुहुन्छ ।
तपाईंजस्तो पुरूष यसरी मोहित हुनुभयो भने मानिसहरुले ‘अरुको घरमा बसेकी स्त्रीको त्याग गरेर उनी त्यही चिन्तामा रातदिन दुःखी रहन्छन्’ भन्नेछन् । त्यसैले तपाईं धैर्य चित्तले एकाग्र गरेर यस दुर्बल शोकबुद्धिको त्याग गर्नुहोस् ।”
सीतालाई त्यागेर राज्य सम्हाले पनि रामले सधैँ संन्यासीको जीवन बाँचे र न्यायपूर्वक राज्य गरे ।
रामको बदनाम :
केही शोधकर्ताका अनुसार रामले सीताको त्याग गरेकै थिएनन् । उनीहरुका अनुसार सीतालाई रामले त्यागेको कुरा लेखिएको रामायणको उत्तरकाण्ड वाल्मीकिले लेखेकै होइनन् । रामायणको उत्तरकाण्ड मूल रामायणको धेरै पछि रचिएको हो । वाल्मीकि रामायण युद्धपछि समाप्त हुन्छ । पहिला यसमा ६ वटा काण्ड थिए, पछि बौद्धकालमा कैयौँ श्लोक र पाठमा भेद गरियो र नयाँ स्वरुपमा उत्तरकाण्ड प्रस्तुत गरियो । बौद्ध र जैन धर्मको उदयकालमा नयाँ धर्मलाई श्रेष्ठ बनाउनका लागि हिन्दूहरुका धेरै धर्मग्रन्थहरु हेरफेर गरियो । यही क्रममा रामायणमा कैयौँ विसङ्गति जोडियो ।
रावण र सीताको सम्बन्ध :
एकपटक रावणले आफ्नो वासना पूरा गर्नका लागि स्वर्गकी अप्सरा रम्भालाई समाते । रम्भाले उनलाई आफू रावणका दाइ कुबेरका छोरा नलकुबेरको सेवामा छु भनिन् । यसरी हेर्दा रम्भा रावणकी बुहारी हुन्थिन् । तैपनि रावणले रम्भाको साथमा दुराचार गरे । यो कुरा नलकुबेरले थाहा पाए । उनले रावणलाई श्राप दिए, “जब पनि रावणले कुनै स्त्रीको इच्छाविरुद्ध जबर्जस्ती गर्नेछ, उसको टाउको सय टुक्रामा बाँडिनेछ ।”
यही श्रापका कारण रावणले सीतालाई मनाउने प्रयास गरे, तर बलजफ्ती गर्न सकेनन् ।
आफ्नी बहिनी सूपर्णखाको कुरा सुनेर सीतालाई हेर्न आएका रावणले सीताको सौन्दर्यमा मुग्ध भएर अपहरण गरेका थिए ।
लक्ष्मणबाट अपमानित सूपर्णखाले आफ्ना दाइ रावणसँग आफ्नो व्यथा सुनाएपछि भनेकी थिइन्, “सीता अत्यन्तै सुन्दर छिन् । उनी तपाईंकी पत्नी बन्न योग्य छिन् ।”
सीता एक बहाना :
एउटी अति सुन्दर स्त्री थिइन्, वेदवती । उनी भगवान् विष्णुलाई पतिका रुपमा पाउने उद्देश्यका साथ तप गरिरहेकी थिइन् । एकपटक रावण आफ्नो पुष्पक विमानबाट कतै जाँदै थिए । त्यही बेला उनले वेदवतीलाई देखे । रावणले उनको कपाल समातेर आफूसँगै हिँड्न भने । रावणले जबर्जस्ती गर्न खोजेको वेदवतीलाई मन परेन र उनले श्राप दिइन्, “एक स्त्रीकै कारण तेरो मृत्यु हुनेछ ।” उनले रावणसँग जानुको सट्टा आत्मदाह गर्नु उचित सम्झिन् र अग्निमा आत्मदाह गरिन् । तिनै युवतीले अर्को जन्ममा सीताका रुपमा जन्म लिएकी थिइन् । रावणसँग बदला लिने उनीभित्रको भाव संस्कारका रुपमा कायम थियो । यो प्रसङ्ग वाल्मीकि रामायणको हो । रावणमा पनि वेदवतीसँगको घटना संस्कारका रुपमा विद्यमान थियो । यही कारणले उनले सीतालाई फेरि मन पराए । सीता स्वयम्बरमा पनि रावण उपस्थित थिए । त्यसबेला शिवधनुष उठाउने क्रममा उनले हारेका थिए । त्यही आफ्नो हार र सूपर्णखाको नाक काटिएको बदला लिनका लागि रावणले सीताको अपहरण गरेका थिए । साधुको रुप धारण गरेर उनले सीतालाई अपहण गरे । पछि राम–रावणको युद्ध भयो र रावणको वध भयो ।
दाइका रुपमा राम :
लक्ष्मण, भरत र शत्रुघ्न रामका सौतेनी भाइ भए पनि रामले उनीहरुलाई आफ्नै भाइ मानेर व्यवहार गरे । लक्ष्मण त वनबास अवधिभर रामसँगै थिए । भरतले पनि आफ्नी आमाको आदेश मानेनन् र रामको चरण पादुका लिएर राजगद्दीमा राखी राज्य चलाउन थाले । एकपटक लक्ष्मण मेघनादको प्रहारबाट अचेत भए । त्यसबेला सबैभन्दा पहिला रुने व्यक्ति राम नै थिए । उनले व्याकुल हुँदै आफ्नो प्रेम लक्ष्मणप्रति प्रकट गरेका थिए ।
संन्यासी राजा राम :
उनको राज्यमा पशु, मानव, दानव कसैलाई पनि भेदभाव थिएन । उनले निकै कुशलतापूर्वक राज्य गरे । त्यसैले अहिले पनि रामराज्य भन्ने गरिन्छ । पछि उनका छोराहरु कुश र लवले राज्य सम्हाले ।
एक असल विद्यार्थी :
राम एक असल विद्यार्थी पनि थिए । कुनै पनि व्यक्तिबाट ज्ञान लिन सकिन्छ भन्ने उनलाई थाहा थियो । कुनै पनि व्यक्ति सधैँ सम्पूर्ण ज्ञानी रहन सक्दैन भन्ने पनि उनलाई थाहा थियो । उनले कैयौँ मौकाहरुमा शिक्षा दिने शिक्षकहरुको सम्मान गरे । रावणको मृत्यु भएपछि उनी रावणको खुट्टातिर बसे र रावणबाट ज्ञान लिए । उनले लक्ष्मणलाई जब ज्ञानीले ज्ञान दिन्छ त्यसलाई अवश्य शिरोधार्य गर्नुपर्छ भनेर सिकाए ।
जातपातको विरुद्धमा राम :
जातपातको विरुद्धमा पनि उनले एउटा गज्जबको उदाहरण दिए । उनले शबरीको जुठो बयर खाए । त्यो पनि त्यत्ति नै लगन र चाहका साथ । रामले यस सन्दर्भमा जातपात र वर्गभेदको विरुद्ध उदाहरण पेश गरे । शबरीको नाम श्रमणा थियो । उनी भील समुदायको शबरी जातकी थिइन् । उनको विवाह एक दुराचारी व्यक्तिसँग भएको थियो ।सुरुमा त उनले पतिलाई सुधार्ने प्रयास गरिन् तर पतिको अत्याचार कम नभएपछि उनले ऋषि मातङ्गको आश्रममा शरण लिइन् र त्यहीँ रामको भजन गरेर बस्न थालिन् ।सीताको खोज गर्ने क्रममा राम त्यहाँ पुगे । त्यस बेला शबरी वृद्धा भइसकेकी थिइन् । ऋषि मतङ्गले ‘एक दिन राम तिम्रो कुटीमा आउनेछन्’ भनिदिएका थिए । त्यसैको आशमा उनले दिन बिताइरहेकी थिइन् ।राम आफ्नो आश्रममा आएको थाहा पाएपछि शबरी भावविभोर भइन् र रामको चरणमा परिन् । त्यसपछि उनले हतारहतार जङ्गली कन्दमूल र बयर ल्याइन् र रामलाई दिइन् । बयर कतै टर्रो नहोस् भन्ने सोचेर उनले आफूले चाख्दै राम र लक्ष्मणलाई दिन थालिन् । भक्तिभावको सुरमा आफूले बयर जुठो हालेको छु भनेर समेत उनले थाहै पाइनन् । रामले शबरीको भक्ति देखेर बयर खाइरहे । लक्ष्मणले भने कसैले थाहा नपाउने गरी त्यसलाई फालिदिए । भनिन्छ, उनले फालेको बयर जडिबुटी बनेर उम्रियो र रावणसँगको युद्धमा रावणका छोरा मेघनादको प्रहारबाट मुच्र्छित लक्ष्मणलाई बचाउन त्यही जडिबुटी सञ्जिवनी बन्यो ।
आदिवासीहरुका भगवान् राम :
रामले आफ्नो १४ वर्षे वनबासमा धेरै ठाउँ भ्रमण गरे । त्यहाँका आदिवासी, पहाडी र समुद्री मानिसहरुबीच सत्य, प्रेम, मर्यादा र सेवाको सन्देश फैलाए । यही कारणले रामको रावणसँग युद्ध हुँदा सबै खालका अनार्य जातिहरुले रामलाई साथ दिए । त्यो समयमा कसैमा पनि जातिवादी सोच थिएन । मानिसहरु दुई भागमा बाँडिएका थिए । सुर र असुर । सुरहरुका सहयोगी यक्ष, गन्धर्व, बाँदर आदि थिए । असुरहरुका सहयोगी राक्षस, दानव, पिशाच आदि थिए ।
मर्यादा पुरुषोत्तम राम कि रावण ?
कसैकसैले राम मर्यादा पुरmषोत्तम कि रावण भनेर समेत प्रश्न उठाउने गरेका छन् । कतिपय ठाउँमा त रावणको पूजासमेत हुने गरेको छ ।
उनीहरुको तर्कअनुसार रावणले सीतालाई अपहरण गरेका कारण रामले लङ्कामा आक्रमण गरेका थिए तर रावणले सीतालाई अपहरण गर्नु जायज थियो । कारण सूपर्णखा रावणकी बहिनी थिइन् । एक राजाले आफ्नी बहिनीको अपमानको बदला लिन सक्छ ।
तर धेरैलाई थाहा नभएको कुरा हो, सूपर्णखा पनि रावणको सर्वनाश भएको हेर्न चाहन्थिन् ।
रामायणका अनुसार रावणकी बहिनी थिइन् सूपर्णखा । सूपर्णखाका पति थिए विद्युतजिह्व । विद्युतजिह्व कालकेय नामक राजाका सेनापति थिए । रावण जब विश्वयुद्धमा निस्किए, उनको र कालकेयको बीचमा युद्ध भयो । यस युद्धमा रावणले विद्युतजिह्वको वध गरिदिए । सूपर्णखाले मनमनै ‘मेरै कारण तेरो सर्वनाश हुनेछ’ भनेर रावणलाई श्राप दिइन् ।
उनलाई अन्य श्रापहरु पनि परेको थियो – रावण कुबेरमाथि विजय प्राप्त गरेर फर्किरहेका थिए । केही समयका लागि उनी कैलाश पर्वतमा रोकिए । त्यहाँ शिवका पार्षद नन्दीको कुरुप स्वरुप देखेर रावणले उनको उपहास गरे । नन्दीले क्रोधमा आएर रावणलाई जुन पशुको स्वरुप देखेर तँ यति हाँसिरहेको छस् त्यही पशु स्वरुपको जीव तेरो विनाशको कारण बन्नेछ भनेर श्राप दिए ।
युद्धकै क्रममा रावण र रघुवंश कुलका एक प्रतापी राजा अरण्यको बीचमा भयङ्कर युद्ध भयो । युद्धमा राजा अरण्यको मृत्यु भयो । मर्नुभन्दा पहिला उनले रावणलाई श्राप दिए, “मेरै वंशमा जन्मिएको एक युवक तेरो मृत्युको कारण बन्नेछ ।”
राम त्यही कुलमा जन्मिएका थिए । हुन त रावण विद्वान पनि थिए । उनलाई ज्योतिषको धेरै ज्ञान थियो । उनले ब्रह्माबाट वर पनि पाएका थिए । जसअनुसार उनलाई देवताले समेत मार्न सक्दैनथे । तर उनमा राक्षसी गुण धेरै थियो । स्वाभाविकै पनि थियो किनभने उनी एक ऋषि बुबा र राक्षसी आमाबाट जन्मिएका थिए । जन्मँदै उनको रुप डरलाग्दो थियो । पहिलोपटक आफ्नो छोरा हेर्दा बुबासमेत डराएका थिए ।
उनी विश्व विजय गर्न चाहन्थे । देवलोकमाथि विजय पाएपछि उनले यमलोकमाथि आक्रमण गरे । उनले यमराजलाई पराजित गरेर यमलोकमा विजय प्राप्त गरे र नर्क भोगिरहेका आत्माहरुलाई आफ्नो सेनामा सम्मिलित गरे । जब यमराजले रावणको प्राण लिनका लागि कालदण्डको प्रयोग गर्न चाहे, तब ब्रह्माले उनलाई यस्तो गर्नबाट रोके । ब्रह्माका अनुसार कुनै पनि देवताद्वारा रावणको वध हुन सम्भव थिएन ।
उनले देवताहरुलाई दिनसम्म दुःख दिएका थिए – उनले कुबेरसँग युद्ध गरेर लङ्कामाथि अधिकार जमाएका थिए । धनका देवता कुवेर रावणका सौतेनी भाइ थिए । रावणले कुबेरको शिरमा प्रहार गरेर उनलाई घाइते बनाइदिए र बलपूर्वक उनको पुष्पक विमान खोसे ।
उनले आफ्नो छोरालाई अजेय बनाउनका लागि नवग्रहहरुलाई मेघनाथको कुण्डलीमा सहीसँग बसून् भनेर आदेश दिएका थिए । शनिदेवले उनको कुरा नमानेपछि रावणले उनलाई बन्दी बनाएका थिए ।
रावणको दरबारभन्दा बाहिर सबै देवता र दिग्पाल हात जोडेर उभिइरहन्थे । हनुमान लङ्का जाँदा उनीहरुलाई उनले रावणको बन्धनबाट मुक्ति दिलाएका थिए । रावणको जीवनमा दुईवटा काम अधुरै रहे । एउटा, स्वर्गसम्म सुनको सिँढी बनाउने र अर्को, सुनमा सुगन्ध मिसाउने ।
राम रावण युद्ध
सीताको खबर पाइसके पछि भगवान श्रीरामले किष्कंधामा बाँदर र भालुको सभा बसालेर सबैसँग सीतालाई कसरी ल्याउन सकिन्छ भन्ने सल्लाह गरे। सबैले लंकामा गएर रावणलाई सम्झाउने यदी मानेन भने युद्ध जीतेर सीतालाई ल्याउने राय प्रकट गरे। त्यसपछी राम, लक्ष्मण, सुग्रीव, हनुमान लगायत अनगिन्ती बाँदर र भालुको सेनाले लंका जाने तयारी गरे। सबै फौँज समुद्रको किनारामा जम्मा भए सागरले श्रीरामलाई पुल बनाएर आफ्नो सेना तार्ने आग्रह गरेकाले श्रीरामले स्वर्गबाट नल र निल दुईवटा कालिगढलाई बोलाएर रामेश्वरम नजीकै राम सेतुको निर्माण गराए उक्त राम सेतु दक्षिण भारतको समुद्रमा आज पनि देख्न सकिन्छ। सबै फौँज राम सेतु पार गरेर श्रीलङ्का पुग्यो। रामको सेनाहरूले लंका नजीकै पुगेर आफ्नो शिविर बनाएर बसे। त्यस पछि श्रीरामले रावणको दरबारमा बालीपुत्र अंगदलाई दुत बनाएर पठाए। अंगदले रावणलाई सम्झाउने कोशिस गरे तर घमण्डी रावणले आफू बाँचुल्जेल सीता वापस नगर्ने अठोट गरेकाले अंगद फिर्ता भए। हुनत रावण पनि चार वेदको ज्ञाता अपार ज्ञान भएको ज्ञानी र तपश्वी थियो। उसले आफ्नो मृत्यु भगवान श्रीरामकै हातबाट होस् भन्ने विचारले जानी जानी सीताको हरण गरेको थियो तर सीता माथी उसले कुनै कुकर्म गरेको थिएन।ृ३े त्यस पछि रावणलाई उसैका भाइ भिविषणले सीतालाई स(सम्मान फिर्ता गरिदुनु पर्छ भनी सम्झाउने कोशीश गरे तर रावणले उनको कुरा मानेन उल्टो विभिषणलाई घरबाट निकाली दियो। त्यसपछी विभीषण राम तर्फ गएर रामकै सहयोग गर्न थाले। रावणले आफ्नो सेना तयार गरेर रामको सेनासँग लड्न पठायो तर रामको सेनाले रावणको सबै सेना मारेर सिध्याए। यसै गरी रावणले फेरी आफ्नो छोरा मेघनाथलाई रामसँग लड्न पठायो मेघनाथले युद्धमा ठुले पराक्रम देखाएको थियो। लक्ष्मणलाई बाण लगाएर मुर्छा पारेको थियो।ृ४े तर हनुमानले दोर्णाचल पर्वतबाट संजीवनी बुटी ल्याएर लक्ष्मणलाई होसमा ल्याए।हनुमान दोर्णा गिरी ल्याउदै त्यसपछी लक्ष्मणले मेघनाथलाई मारे। यसै गरी रावणले आफ्नो भाइ कुम्भकर्णलाई रामसँग लड्न पठायो तर त्यसलाई पनि श्रीरामले स्वर्ग पठाए। यसै गरी रावणले आफ्नो गुप्त छोरा अहिरावणलाई युद्धमा पठायो त्यो पनि रामकै हातबाट मर्न गयो। त्यस पछि रावणको पातालवासी छोरा नरकांतले राम लक्ष्मणलाई सुतेको मौका पारेर पाताल पुरायो। उसले पातालमा राम लक्ष्मणलाई एकमन्दिरमा बली दिने मनसायले लुकाएर राखेको थियो। तर हनुमानले बेलैमा गएर नरकान्तलाई मारेर राम लक्ष्मणलाई फिर्ता ल्याए। त्यसपछी रावण आफै युद्धमा गयो। देवराज इन्द्रले रावणलाई रथमा स्वार भएको र राम जमीनमा देखेर रामकोलागी आफ्नो रथ र सारथी पठाईदिए। राम रावणको युद्ध भयंकर मच्चियो। हजारवटा हात र दसवटा शिर भएको रावणको नाभिमा अमृत भएका कारण रावणका सबै टाउकाहरू काटेर जमीनमा झारे पनि फेरी नयाँ टाउका निर्माण हुन थाले। अंतमा भिविषणको राय अनुसार श्रीरामले अग्नी बाणको प्रयोग गरेर रावणको नाभिमा रहेको अमृत शोषण गरे। त्यसपछी रावणको बध गरे। भगवान श्रीरामले रावण मारि सके पछि विभिषणलाई लंकाको राजगद्दी सुम्पेर सीतालाई फिर्ता लिई अयोध्या फर्के।
राम राज्याभिषेक तथा सीता त्याग
भगवान श्रीराम अयोध्यामा फर्किए पछि अयोध्यावासीहरूको खुसिको सिमा नै रहेन। चारै तिर श्रीरामको जयकारा गुंजायमान थियो। सबै अयोध्यावासीहरू सक्षात विष्णुका अवतार राम र लक्ष्मिको अवतारकी सीतालाई आफ्नो मुलुकमा पाएकाले खुसी थिए। सबैले श्रीराम जानकीको भव्यताका साथ स्वागत गरे। गुरु बशिष्ठले शुभ मुहुर्त हेरेर रामको राज्याभिशेष गरे। रामले पनि प्रजाहरूलाई आफ्नै सन्तान तुल्य पालन गरिरहेका थिए। आज पनि हाम्रो समाजमा सुखका दिनहरूलाई ूरामराज्यू भनेको सुन्न पाइन्छ। आफू अयोध्यापति भैसके पछि श्रीरामले आफ्ना केही गुप्तचरहरूलाई राती अयोध्या नगरमा कसले आफ्नो बारेमा के भन्दै छ भन्ने खबर बुझ्न पठाए। गुप्तचरहरू पनि श्रीरामको आदेशानुसार नगरमा घुम्दै चियो गर्न थाले। सबै नगरवासीहरू श्रीराम जानकीको गुण गान गाउँथे तर नगरको एक धोबीले आफ्नो स्वास्नीसँग झगडा गर्दै ूम यो मुलुकका राजा राम जस्तो हैन बुझिस्, जसले अर्काको पोइल गएकी स्वास्नीलाई ल्याएर फेरी आफ्नो गृहणी बनाएर राखेका छन्।ू भनेको सुनियो। त्यो सुनेर गुप्तचरहरू राजा राम भए ठाउँ गएर धोबीको कुरा सुनाए। यो सुनेर श्रीरामले लक्ष्मणसँग सीतालाई लिएर जंगलमा छोडेर आउने कुरा गरे। लक्ष्मणले पनि रामको आज्ञा अनुसार गर्भवती सीतालाई जंगलमा रहेका ऋषीमुनीहरूका आश्रम देखाउने निउँले जंगलमा लिएर छोडेर आए। जंगलमा भटकी रहेकी सीताको भेट महर्षि बालमीकीसँग भयो। बालमिकीले सीतालाई आफ्नो कुटीमा छोरी तुल्य बनाएर राखे। त्यहाँ सीताका दुइवटा पुत्र लव र कुशको जन्म भयो। लव कुश ठूला भए पछि श्रीरामले आफ्ना पुत्रहरू भएको थाह पाएर अयोध्यामा बोलाए। लामो समयको राज्यकाल पुरा गरेर भगवान श्रीराम आफ्नो मानव लिला समाप्त गरेर बैकुण्ठ गए।