काठमाडौं । फ्रान्सको पेरिसमा ओलम्पिक गेम्सको अनौपचारिक सुरूवात नै असाधारण तरिकाले भएको छ । ओलम्पिकको औपचारिक उद्घाटन हुनुभन्दा दुई दिनअघि भएको पहिलो फुटबल म्याच कोलाहलपूर्ण बन्यो ।

अहिलेसम्म फुटबलमा कहिल्यै नदेखिएको दृष्य थियो यो । अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीले पनि सामाजिक सञ्जालमा ‘असामान्य’ भन्दै टिप्पणी गरेका छन् । यस्तो छ, कन्ट्रोभर्सीको नालीबेली :
९० मिनेटको नियमित समय सकिएपछि इन्जुरी टाइम भनेर १५ मिनेट थप गरियो । खेलको बीचमा धेरै नै समय खेर फ्याकिँएको हुँदा यति लामो समय थपिएको थियो । इन्जुरी टाइमको १५ मिनेट पनि सकिएपछि अन्तिम पलमा अर्जेन्टिनाले थप एक गोल हिर्कायो । क्रिस्टियन मेडिनाले बललाई जाली चुमाएपश्चत खेल २-२ को बराबरी भयो र अर्जेन्टिनी खेलाडीहरू सेलिब्रेसन गर्न थाले ।
यता दर्शक दिर्घाबाट हो-हल्ला सुरू भयो । अर्जेन्टिनी खेलाडीहरू तथा अफिसियललाई लक्षित गर्दै दर्शकले पानीको बोतल र कपहरू फ्याँक्न थाले । मैदानमा पटाखाहरू समेत भेटिए । मोरक्कोको जर्सी लगाएका केही फ्यानहरू मैदानभित्रै पसे, उनीहरूलाई ग्राउन्ड स्टाफहरूले लखेटे । दंगा प्रहरीहरू पनि आए र रेफ्रीले खेलाडीहरूलाई तत्काल मैदानबाहिर जान भने । दर्शकहरूलाई रंगशालाबाट निस्किन उर्दी गरियो । रंगशालाको बिग स्क्रिनमा लेखिएको थियो- तपाईंको सेसन सस्पेन्ड गरिएको छ र कृपया नजिकैको एक्जिटबाट आफ्नो बाटो लाग्नुहोला ।
इन्जुरी टाइम पनि सकिइसकेको हुँदा खेल बराबरीमा अन्त्य भएको सबैले सम्झिएका थिए । दर्शक पनि रंगशालाबाट बाहिरिए । तर, पछि थाहा भयो कि सबै दर्शक निस्केपछि खाली रंगशालामा तीन मिनेट खेल खेलाइनेछ । अघि खेल सकिएको नभएर सस्पेन्डमा राखिएको थियो भन्ने जानकारी गराइयो ।
स्थानीय समयअनुसार ४:०५ मा खेलाडीहरू खेल बराबरीमा सकिएको ठानेर मैदानबाट बाहिरिएका थिए । रेफ्रीले बोलाएपछि ५:४५ मा फेरि उनीहरू मैदानमा प्रवेश गरे । ६:०० बजे फेरि खेल सुचारु भयो । दुवै टीम तीन मिनेटमा एक गोल हानेर जित निकाल्ने योजनामा थिए ।
तर, खेल सुरू हुनुअगाडि अर्जेन्टिनाले इन्जुरी टाइममा गरेको बराबरी गोललाई भार (भिडिओ असिस्टेन्ट रेफ्री) ले मान्यता नदिएको घोषणा गरियो । अजेन्टिनी खेलाडी तथा फ्यान स्तब्ध बने । भारले उक्त गोललाई अफसाइड देखाएको थियो । रिभ्यूमा हेर्दा मेडिनाभन्दा अगाडि एक खेलाडी अफसाइड पोजिसनमा देखिए । खेल फेरि २-१ को अवस्थामा फर्कियो ।
पछि खेलाइएको ३ मिनेटमा दुवै तर्फबाट कुनै पनि गोल हुन सकेन । मोरक्कोले २-१ ले खेल जित्यो ।
स्मरणीय छ कि ओलम्पिकमा अर्जेन्टिनाका मेस्सीलगायत चर्चित खेलाडीहरू छैनन् । ओलम्पिकको नियमअनुसार कुनै पनि टीमले २३ वर्षमाथिका ३ जना खेलाडीमात्रै खेलाउन सक्छन् । अर्जेन्टिनाबाट जुलियन अल्भारेज र निकोलस ओटामेन्डीले खेलेका थिए । विश्वचर्चित स्ट्राइकर असरफ हाकिमी मोरक्कोको टीममा थिए ।