काठमाडौँ — संसदीय सुनुवाई समितिमा निर्वाचन आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानको सुनुवाई गोप्य बैठकमा गरिँदैछ । संसदीय सुनुवाई समितिको बुधबारको बैठकमा यौन शोषणको आरोप लागेका प्रधानको सुनुवाई बन्द बैठकमा भएको हो । निर्वाचन आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानमाथिको संसदीय सुनुवाई गोप्य बैठकमा प्रधानले आफ्नो कार्ययोजना प्रस्तुत गरेपछि समिति सचिवको जिम्मेवारीमा रहेका संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले पत्रकारहरूलाई बाहिर जान भनेका थिए । संसदीय सुनुवाई समितिमा प्रस्तावित व्यक्तिको पहिलोपटक यसरी गोप्य सुनुवाई गर्न लागिएको हो । महासचिव पाण्डेयले सभापति पशुपति शमशेर जबराको हवाला दिँदै पत्रकारहरूलाई बाहिर निस्किन भनेका थिए । पाण्डेयको छेउकै कुर्सीमा रहेका समिति सभापति जबराले केही भनेका थिएनन् । प्रस्तावित व्यक्ति प्रधानमाथि नेपाल कानुन समाजमा कार्यरत रहँदा सहकर्मीलाई यौन शोषण गरेको आरोप छ । संसदीय समितिमा पीडितले उजुरी दिएकी थिइन् । पीडित आफैँ समितिमा आएर प्रधानले गरेको शोषणबारे जानकारी दिएकी थिइन् । यसअघिका संवैधानिक नियुक्तिका सुनुवाईमा उजुरीकर्तासँगको छलफलका लागि मात्रै गोप्य बैठक बस्ने गरेका थिए । प्रस्तावित व्यक्तिसँग सांसदहरूले गर्ने प्रश्नोत्तर खुला हुँदै आएकोमा पहिलोपटक गोप्य भइरहेको हो ।
