काठमाडौं- गृहमन्त्री रमेश लेखकले सर्लाही निवासी पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्याबारे छानबिन अघि बढेको बताएका छन् ।सर्लाहीको चन्द्रनगर गाउँपलिका–१ मा सोमबार राति भएको रायको हत्याबारे गृहमन्त्री लेखकले मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा जवाफ दिएका हुन् ।उनले घटना हुनुअघि घरमा आएका तीन जना शंकास्पद व्यक्तिहरूको खोजी प्रहरीले गरिरहेको पनि खुलाएका छन् ।राप्रपाका नेता राय सोमबार बिहान आफ्नै घरको कोठमा रगताम्य अवस्थामा मृत भेटिएका थिए । लेखकले उक्त घटनापछि उनको घरमा काम गर्ने सर्लाहीकै कविलासी नगरपालिकाका २१ वर्षीय रामउज्जैन रायलाई नियन्त्रणमा लिएर सोधपुछ गरिएको बताए । ‘उनलाई आवश्यक अनुसन्धान र सोधपुछका लागि नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखिएको छ’, लेखकले भने, ‘तीनजना फरारको खोजतलास भइरहेको छ ।’ लेखका अनुसार मधेश प्रदेश प्रहरी कार्यालय र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पनि अनुसन्धान गरिरहेको छ । ८० वर्षीय रायको धारिलो हतियार प्रहार गरी हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनको टाउकोको बायाँ भागमा धारिलो हतियार प्रहार गरिएको देखिएको छ । अनुसन्धानका लागि प्रहरीले तालिमप्राप्त कुकुर खटाएको छ । रायको हत्यामा प्रयोग हतियार प्रहरीले घटनास्थलबाट बरामद गरिसकेको छ ।
