काठमाडौं । काठमाडौं महानगरपालिकाले न्यूरोडमा थालेको फुटपाथ विस्तारको काम स्थगित भएसँगै वडा नम्बर २२ का वडाध्यक्ष चिनीकाजी महर्जनले गौरव व्यक्त गरेका छन् । महानगरसँग सहमति भएपछि न्यूरोडमै आएर उनले कोणसभालाई सम्बोधन गरेका थिए ।कोणसभामा वडाध्यक्ष महर्जनलाई ‘न्यूरोड आन्दोलनका नायक’ सम्बोधन गरिएको थियो । उनले छोटो सम्बोधन गर्दै जनताको जीत भएको बताए । प्रजातन्त्रमा जनताले चाहेको कुरा नै हुन्छ भन्ने भाष्य स्थापित भएको उनको भनाइ छ ।बताइएअनुसार २४ नम्बर वडामा फुटपाथ विस्तार भइसकेको हुँदा त्यहाँ पर्ने असरका बारेमा अध्ययन हुनेछ । २३ र २२ नम्बर वडामा सबै वस्तुस्थिति अध्ययन गरेपछि आउने निचोडका आधारमा अगाडि बढ्ने सहमति भएको छ ।महानगरले फुटपाथ विस्तार सुरु गरेसँगै स्थानीय आन्दोलित बनेका थिए । उक्त आन्दोलनको नेतृत्व २२ नम्बर वडाका अध्यक्ष महर्जनले गरेका हुन् । उनले हिजोबाट सडकमै टेबलकुर्सी राखेर वडाको काम थालेका थिए ।

आज साँच्चै जनताको जीत भएको छ । जनता हार्दैन भन्ने स्थापित भएको छ । डेमोक्रेसीमा जनताले चाहेको र खोजेकोमात्रै हुनुपर्छ भन्ने भाष्य स्थापित भएको छ ।सडकपेटीको सुधारका नाममा हाम्रो व्यापारिक केन्द्र न्यूरोडलाई नाकाबन्दी गर्ने उद्देश्यले सडकपेटी विस्तारको नाममा सडक खुम्च्याउने योजना ल्याइएको हो । अब २२ नम्बर वडाको क्षेत्रमा कार्यदल बनाएर अध्ययनपछि आउने प्रतिवेदनको सिफारिसअनुसार मात्रै काम हुने भएको छ । कुनै पनि कार्यअघि अध्ययन गर्नुपर्छ भन्ने हामीले भन्दै आएका थियौं । जनताको माग र आवश्यकतालाई मध्यनजर गरेरमात्र विकासको कार्य थालनी गर्नुपर्छ ।न्यूरोडको जनतालाई घाउ हुँदाखेरि अहोरात्र खटिनुभएको अन्य वडाका साथीहरुलाई सम्पूर्ण न्यूरोडवासीका तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु । यो गुन सधैं सम्झिनेछौं । भोलिका दिनमा सम्झौता तोडमोड भयो या पालना भएन भने यहाँहरुलाई सम्झिनेछु । आन्दोलनमा सहभागी हुनुभएको सम्पूर्ण जनतामा पुनः एकपल्ट धन्यवाद ।