काठमाडौं । प्रधानमन्त्री केपी शर्माले मागेको विश्वासको मतलाई लिएर अहिले संसदमा छलफल चलिरहेको छ । विश्वासको मतको पक्ष र विपक्षमा सांसदहरूले धारणा राखिरहँदा प्रधानमन्त्री अकस्मात् बैठकबाट बाहिर निस्किए ।

विश्वासको मत माग्दै ओलीले करिब एक घण्टा लामो सम्बोधन गरेका थिए । उनको सम्बोधनमा यसपालि विपक्षीहरूमाथि गालीगलौज र घोचपेच थिएन । बरु आफ्नो सरकारको सैद्धान्तिक विषयवस्तु र भिजन उनले प्रस्तुत गरे ।
प्रधानमन्त्रीपछि कांग्रेस सभापति शेरबहादुर देउवा र त्यसपछि एमालेकै गोकर्ण बस्नेतले रोष्टममा आएर बोले । दुवैले बोल्दा प्रधानमन्त्री ओली आफ्नो आसनमै थिए । माओवादी केन्द्रका महासचिव तथा पूर्वअर्थमन्त्री वर्षामान पुनले बोल्दा भने उनी उठेर हिँडे । पुनले ओलीको सम्बोधनको प्रतिवाद गरेका थिए ।पुनपछि बोलेका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले ओलीको खोजी गरेका थिए ।ले भने, ‘प्रधानमन्त्रीज्यू हुनुहुन्न, सायद कतैबाट सुन्दै हुनुहुन्छ होला ।’ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले भने ओली हिँडेकोप्रति असन्तुष्टि जनाए । प्रधानमन्त्री बैठकबाट बेपत्ता बनेको टिप्पणी उनले गरे ।नेपालले भने, ‘प्रधानमन्त्रीले विश्वासको मत मागिरहनु भएको छ । तर, अहिले यो हलबाट बेपत्ता हुनुहुन्छ । उहाँले संसदलाई महत्त्व नदिनुभएको जस्तो लाग्यो । आजको सदनमा उहाँको पूरा उपस्थिति आवश्यक थियो । सबैका विचार र धारणा सुन्ने धैर्यता राख्नुपर्थ्यो । सायद अरूका बचन सहन नसक्ने हो कि !’ स्रोतका अनुसार ओली संसदभित्रै छन् । उनी आफ्नो कार्यकक्षमा गएर बसेको बताइएको छ । केहीबेरमा जवाफी सम्बोधनका लागि उनी फेरि बैठकमा आउनुपर्ने हुन्छ ।