काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले दुई ठूला दल एकै ठाउँमा उभिएकाले उनीहरूलाई गल्ती गर्ने छुट नभएको बताएका छन् । बीपी कोइरालाको ४२औँ स्मृति दिवसको अवसरमा बीपी स्मृति सामुदायिक सहकारी अस्पतालले काठमाडौँमा आयोजना गरेको स्मृति सभालाई सम्बोधन गर्दै उनले अब जनताले सुशासनको अनुभूति हुने गरि सरकारले काम गर्नुपर्ने बताए । अहिलेको गठबन्धनले सुशासन र राजनीतिक स्थायित्व दिन्छ भन्ने सन्देश दिएकाले कांग्रेस र एमाले सचेत हुनुपर्नेमा उनको जोड थियो । कोइरालाले देशको अहिलेको परिस्थिति अत्यन्तै खराब रहेको समेत बताए । उनले भने, ‘अब पनि दुई ठूला दलले गल्ती गरे र जनताको भावना बुझ्न सकेनन् भने देश नै कोल्याप्स गर्न पनि सक्छ ।’ आफ्नो पार्टी सरकारमा छ त्यसैले उनीहरूले गरेका सबै काम ठिक छ भनेर चुप लागेर बस्न नहुने उनको तर्क थियो । कोइरालाले मन्त्रीहरूले गलत काम गरे उनीहरूको आलोचना र विरोध गर्न कार्यकर्तालाई आग्रह समेत गरे । उनले भने, ‘जनभावना विरोधी काम गर्ने छुट नत प्रधानमन्त्रीलाई छ न मन्त्रीलाई छ ।’ बीपी कोइरालाको सिद्धान्त अनुसार कांग्रेसका नेता एवं कार्यकर्ता हिँड्न नसकेको उनको गुनासो छ । उनले भने, ‘हिजो पश्चिमको साथीलाई चोट लाग्दा पूर्वको साथीलाई दुख्थ्यो । पूर्वको साथीको पीडाले पश्चिमको साथीलाई पोल्थ्यो, हामी आफूलाई बीपीका अनुयायी भन्छौँ तर स्वार्थमा परेर आफू–आफूमै लड्छौँ। बीपीले त यस्तो कहिल्यै सिकाउनु भएन । हिजोको त्यो आत्मियता कहाँ गयो ?’
