काठमाडौं– उच्च अदालतको आदेशपछि सुरु भएको काठमाडौंको न्यूरोडस्थित फुटपाथ विस्तारको कामलाई स्थानीयबासीले अवरोध गरिदिएका छन् ।
महानगरपालिकाले फुटपाथ फराकिलो गरिरहेका बेला शुक्रबार बिहानदेखि स्थानीयले विरोध गरेर काममा अवरोध गरेका हुन् । स्थानीयबासीसँगै काठमाडौं महानगरपालिका वडा नम्बर २२ का अध्यक्ष चीनकाजी महर्जन पनि विरोधमा उत्रिएका छन् । उनी र महानगरका मेयर साहबीच केही महिनादेखि सार्वजनिक रुपमै द्वन्द्वको अवस्था देखिएको छ ।यसअघि पाटन उच्च अदालतको आदेशपछि महानगरले बुधबार बिहानदेखि फुटपाथ विस्तारको काम अगाडि बढाएको थियो ।सुरुमा फुटपाथ विस्तारको कामलाई डिभिजन सडक कार्यालय, काठमाडौंले अवरोध गरिदिएको थियो । आफ्नो क्षेत्राधिकारको सडक महानगरले जथाभावी भत्काएको आरोप सडक विभागको थियो ।तर न्यूरोडको जुद्ध शालिकदेखि इन्द्रचोकसम्म फुटपाथ विस्तार अघि बढिरहेका बेला अब महानगरसँग स्थानीयबासी पनि द्वन्द्वमा उत्रिएका हुन् ।फुटपाथ विस्तारको विरोधमा स्थानीय उत्रिएपछि नेपाल प्रहारी र नगर प्रहारीलगायत तैनाथ थिए । महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेसहित तैनाथ भए पनि स्थानीयले काममा अवरोध गरेका हुन् ।यससँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको योजनामा अघि बढेको फुटपाथ विस्तारले स्थानीयबासीसँग पनि द्वन्द्वको अवस्था ल्याएको छ ।
