सुनसरी । रामेछापबाट सिन्धुली हुँदै चार ट्रक खयर तस्करी गरेर सुनसरी ल्याइएको खुलेको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीका अनुसार सम्बन्धित जिल्लाबाट ट्रकलाई छोडपुर्जी दिँदा परिमाणमा कैफियत पाइएपछि अनुसन्धान थालिएको थियो । खयरको काठ धरानमा रहेको सूर्य कत्था उद्योगको नाममा काठ लोड गरी ल्याइएको थियो । छानबिनका क्रममा अवैध काठ धेरै भेटिएको बताउँदै प्रजिअ तिवारीले टाँचा लगाएको भन्दा ठूलो संख्यामा काठका मुडा भेटिनुले संगठित मिलेमतोको सम्भावना बताए । सुनसरी प्रशासनका अनुसार नियन्त्रणमा लिइएका ट्रकको हकमा वन कार्यालय रामेछापले १५ सय लकडीमा टाँचा लगाइएको भनी छोडपुर्जी दिइएको थियो । अनुसन्धानको क्रममा गणना गर्दा भने २ हजार ७ सय ३३ वटा भेटिएको थियो । उक्त परिमाणका काठ बा.प्र. ०१००६ ख २१११, बा.प्र. ०१००६ ख ३३४९, म.प्र. ०३००२ ख ००९५ र क.प्र. ०२००१ ख ०४१९ नम्बरका ट्रकमा रामेछापबाट लोड गरी सुनसरी ल्याइएको हो । काठ तस्करीमा सुरक्षा निकायदेखि वन कार्यालयसम्मकै संलग्नता रहेको आशंका छ । स्रोतका अनुसार खयर काठ बोकेका ट्रक इनरुवा आइपुगेपछि प्रशासनले रोक्न भनेको थियो । यद्यपि धरान पुगेपछि मात्रै प्रशासनलाई खबर दिइएको थियो ।
