धनगढी । सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँ स्वास्थ्य समस्याको कारण देखाउँदै नफर्किएपछि सरकारले प्रदेश सभा अधिवेशन अन्त्यको पत्र काठमाडौं पठाएको छ ।प्रदेश प्रमुख मियाँ प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ ग्रहण कार्यक्रममा सहभागी हुन काठमाडौं गएका थिए । मियाँ काठमाडौं जानुअघि नै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो । तर प्रदेश प्रमुखले सरकारको सिफारिस कार्यान्वयन नगरी काठमाडौं गएका थिए ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २९ असारमा प्रदेश प्रमुखलाई प्रदेश सभाको चालु अधिवेशन अन्त्य गर्ने सिफारिस गरेको जानकारी दिएको छ । प्रदेश प्रमुखको कार्यालयले भने उनी काठमाडौं उडिसकेपछि मात्र सरकारको पत्र प्राप्त भएको बताउँदै आएको छ ।प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शैलेश ढुंगानाले बिहीबार उक्त पत्र काठमाडौं पठाइएको जानकारी दिए । ‘उहाँले स्वास्थ्यमा समस्या भएकाले फर्किन समय लाग्ने भयो, यतै पठाउनुहोस् भनेपछि पठाइएको हो,’ उनले भने ।राजनीतिक समीकरण फेरिएपछि २० असारमा नेकपा एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री दीर्घबहादुर सोडारी अल्पमतमा परेका छन् ।एमाले सरकारबाट बाहिरिएपछि चालु आर्थिक वर्ष २०८१/८२ का लागि सरकारले ल्याएको बजेट पारित भएको छैन । बजेट पारित नहुँदा र अध्यादेशबाट समेत आउन नसक्दा सुदूरपश्चिममा ‘बजेट होलिडे’ भएको छ ।सरकारले पठाएको पत्र प्रदेश प्रमुखले कार्यान्वयन गरेपछि अध्यादेशमार्फत बजेट ल्याउने बाटो खुल्नेछ ।
