काठमाडौं । चलचित्र चलाउन विभिन्न फन्डा गरिन्छ । यस्तै यही २५ साउनमा रिलिज हुने नेपाली चलचित्र ‘नम्बरी सुन’ चलाउनको लागि यसका दर्शकलाई सुन उपहार दिने घोषणा गरिएको छ । यो चलचित्र हेर्ने दर्शक मध्यबाट १२ जना दर्शकले सुन उपहार पाउने यसको निर्माण पक्षले जनाएको छ ।

सोमबार ललितपुरस्थित झम्सिखेलमा यो चलचित्रको युनिटले पत्रकार सम्मेलन गरेर १२ जना उत्कृष्ट दर्शकलाई सुन उपहार दिने घोषणा गरेको हो ।
यो चलचित्रका प्रस्तुतकर्ता नारायण खातीले खल्ती एपबाट चलचित्र ‘नम्बरी सुन’को टिकट काट्ने ५ जना र त्यसभन्दा बाहिर हलमै टिकट काट्ने ७ जनालाई दर्शकलाई सुनको मोतीवाला चन्द्रहार प्रदान गर्ने घोषणा गरेका छन् । उनले त्यो उपहार लक्की ड्रमार्फत सार्वजनिक गरिने उनले खुलाए । प्रस्तुतकर्ता खाती पेशाले सुन व्यवसायी हुन् ।
यो चलचित्रका निर्देशक राजु गिरीले फिल्मले झण्डै ७० वर्ष अघि घर–घर पुगेर सुनको गहना बनाउनेको कथालाई प्रस्तुत गर्ने बताए । ‘अहिलेका दर्शकले मनपराउने फ्लेभरको माया प्रेम, सेन्टिमेन्टल र कमेडी फ्लेभर फिल्ममा छ’, उनले भने ।
यसका अभिनेता विनोद न्यौपानेले यसमा आफू सहायक चरित्रमा देखिए पनि त्यो चरित्र दर्शकले मनपराउने दाबी गरे । यो चलचित्रमा गौरव पहारी, सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल, किरण नेपाली, राजेन्द्र खड्गी, सविन बाँस्तोला, गीता अधिकारी, नारायण खाती, अस्मिता न्यौपाने, राजेन्द्र गिरी, कंगना गिरी लगायतको पनि अभिनय छ ।
सरोज खाती, सविन खाती र मनोज रिजाल निर्माता रहेको फिल्ममा शिवम् अधिकारीको पटकथा तथा संवाद, अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, समीर मियाँको भीएफएक्स, दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व, गौतमराज खड्काको सम्पादन छ । सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म काठमाडौँ उपत्यकामा जिजिए ग्रुप र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछ ।