विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीका छिमेकीसमेत रहेका देवेन्द्र दाहाल भौतिक पूर्वाधार विकास मन्त्री बनेका छन् । दाहाल राष्ट्रिय सभा सदस्य हुनका साथै कम्युनिस्ट राजनीतिको लामो अनुभव भएका नेता हुन् ।झापा, दकम घर भएका दाहालले यसअघि लामो समय ओलीको सचिवालयमा बसेर काम गरेका थिए । ओली पहिलो पटक प्रधानमन्त्री बन्दा दाहाल प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकार थिए ।२०१५ साल भदौ १६ गते ताप्लेजुङमा जन्मिएका दाहालको दमक–५ मा स्थायी बसोबास छ । हाल नेकपा एमालेको पोलिटव्यूरो सदस्य एवं पार्टीको स्थानीय विकास विभागको प्रमुख समेत रहेका उनी २०३६ सालमा उठेको विद्यार्थी आन्दोलनबाट प्रभावित थिए ।२०४५ सालदेखि तत्कालीन नेकपा मालेको झापा जिल्ला कमिटीमा आवद्ध भएका उनी २०५१ सालसम्म नेकपा मालेदेखि एमालेसम्मको जिल्ला कमिटी सचिवालय सदस्य बने । २०५१ देखि २०५३ सम्म जिल्ला उपसचिव रहेका दाहालले २०५३ जेठ २३ गते देखि २०६६ साल भदौ २७ गतेसम्म एमाले झापाको नेतृत्व सम्हालेका थिए ।करिब १३ वर्ष अर्थात् चार कार्यकाल झापा एमालेको नेतृत्व गरेका उनले झापामा २०५६ सालको आम निर्वाचन र २०६४ सालको संविधान सभा निर्वाचनमा पार्टी कमाण्ड सम्हालेका थिए ।राजनीतिक परिवर्तनका लागि उनी २०५१ सालदेखि शिक्षकको जागिरबाट राजीनामा गरेर राजनीतिमा पूर्णकालीन भएका हुन् । दाहालले विज्ञान शिक्षकका रूपमा १३ वर्ष काम गरेका छन् । उनले २०४६ सालको जनआन्दोलनमा जिल्ला जनआन्दोलन मूल समितिको जिम्मेवारी र २०६२÷०६३ सालको जनआन्दोलनमा झापाको कमाण्डरको जिम्मेवारी पनि निर्वाह गरेका थिए ।२०४२ सालमा शिक्षक आन्दोलनका क्रममा उनलाई प्रहरीले हिरासतमा राखेको थियो भने २०४६ को जनआन्दोलनमा पनि हिरासतमा बसेका थिए २०७३ सालमा नेकपा एमाले प्रदेश कमिटीको सदस्य, नेकपाको केन्द्रीय सदस्य भएका उनी २०७८ मंसिरमा चितवनमा भएको नेकपा एमालेका दशौँ महाधिवेशनबाट पार्टीको पोलिटव्यूरो सदस्य निर्वाचित भएका थिए ।२०७६ मा भएको राष्ट्रिय सभा सदस्य निर्वाचनमा निर्वाचित दाहालले राष्ट्रिय सभा सदस्यबाट दलको प्रमुख सचेतक हुँदै दलको नेताको भूमिका पनि निर्वाह गरेका छन् ।
