चितवन । पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–७ स्थित नारायणी नदी किनार र चितवनको भरतपुर–२८ गोलाघाटमा भेटिएका दुवै पुरुषको शवको सनाखत भएको छ ।जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार गैंडाकोटमा भेटिएको शव भारत बेतिया मझेलिया थाना, गुठिया ईन्दु घर भएका ३० वर्षका सजाद अन्सारीको हो । उनका दाजु मेराज हुसेनले शवको सनाखत गरेका हुन् ।उनी कलंकीमा ब्यवसाय गरेर बस्ने गरेको खुलेको छ । उनी वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बसका यात्रु रहेको प्रहरीले जनाएको छ । उनको शव मुचुल्का गरेपछि पोष्टमार्टमका लागि भरतपुर अस्पताल ल्याइएको छ यस्तै पश्चिम चितवनको भरतपुर–२८ गोलाघाटमा आइतवार बिहान भेटिएको अर्को शवको पनि सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनकाअनुसार मृतक व्यक्ति ३० वर्षीय भारतीय नागरिक जयप्रकाश ठाकुर हुन् ।भारत बिहार पश्चिम चम्पारण बेतियाथाना बस्ने ठाकुरको शव उनका दाइ ओमप्रकाश ठाकुरले सनाखत गरेको प्रहरीले जनाएको छ ।ठाकुर काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको बागमती प्रदेश ३–००१ख २४९५ नम्बरको गणपति डिलक्स बसका यात्रु हुन् ।यही असार २८ गते बिहान भरतपुर महानगरपालिका वडा नं. २९ सिमलतालमा आएको पहिरोले दुईवटा बस बगाएको थियो । काठमाडौंबाट गौर जाँदै गरेको बसमा ३८ र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बसमा २७ यात्रु रहेको अनुमान छ । तीमध्ये काठमाडौंबाट रौतहट जाँदै गरेको बसका ३ यात्रुले पौडिएर ज्यान बचाएका थिए ।वेपत्ता भएकाहरुमध्ये हालसम्म ५ जनाको मात्र शव भेटिएको छ । पाँचै जनाको सनाखतसमेत भैसकेको छ । शनिवार ३ जनाको र आज २ जनाको शव भेटिएको हो ।शनिवार दिउँसो भरतपुर–२८ गोलाघाटमा भारतीय नागरिक ऋषि पल साह र पूर्वी नवलपरासीको गैंडाकोटमा चितवनको माडी नगरपालिका–१ का विकास परियार र सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझीको भएको पुष्टि भएको थियो ।
