नेपाली कांग्रेसले पार्टीको तर्फबाट सरकारमा जाने मन्त्री छनोट गर्न मापदण्ड बनाएको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको शनिबार बसेको बैठकले मापदण्ड बनाएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । उनले योगदान, योग्यता, समावेशिता र प्रादेशिक सन्तुलन मिलाएर मन्त्री पठाइने मापदण्ड बनाइएको बताए ।

महतले सकेसम्म कांग्रेसले सबै मन्त्रीहरूको नाम एकैपटक पठाउने जानकारी दिए ।
कांग्रेस र एमालेको नयाँ समीकरण अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली आइतबार प्रधानमन्त्री बन्दै छन् । कांग्रेस र एमालेले शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नयाँ सरकार बनाउनका लागि दाबी पेस गरिसकेका छन् । पुष्पकमल दाहाल प्रचण्ड संसदमा विश्वासको मत पाउन असफल भएपछि उनको सरकार ढलेको छ ।