काठमाडौँ । समस्याग्रस्त हाम्रो नयाँ कृषि सहकारी संस्थाका पीडित बचतकर्ताहरूले २ करोड ५७ लाख बचत फिर्ता पाएका छन् । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयका अनुसार असार २५ गतेसम्ममा हाम्रो नयाँ कृषि सहकारीका १९ जना बचतकर्ताको २ करोड ५७ लाख रुपैयाँ रकम फिर्ता गरिएको हो ।सयौं बचतकर्ताको बचत रकम फिर्ता गर्न नसकेको संस्थालाई भूमि व्यवस्था, सहकारी, तथा गरिबी निवारण मन्त्रालयले गत माघ ११ गते समस्याग्रस्त घोषणा गरेको थियो । संस्था विरुद्ध ५० जना पीडित बचतकर्ताहरूले ७ करोड ७७ लाख ९० हजार १९८ रुपैयाँ बराबरको बचत अपचलनको उजुरी हालेका थिए । सोमध्ये १९ जनाको २ करोड ५७ लाख रुपैयाँ बराबरको बचत रकम फिर्ता गरिएको र ३१ जना पीडितको ५ करोड २० लाख ९० हजार १९८ रुपैयाँ बराबरको रकम फिर्ता गर्न बाँकी रहेको समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यालयले जनाएको छ ।हालसम्म समस्याग्रस्त सहकारीको सङ्ख्या २१ पुगेको छ । २१ सहकारी विरुद्ध ५९ हजार ५८७ बचतकर्ताले ३६ अर्ब २८ करोड ९६ लाख ८१ हजार ७८० रुपैयाँ बराबरको मागदाबी गरेका छन् ।जसमध्ये कार्यालयले एक हजार २१२ बचतकर्ताको ७९ करोड ८१ लाख ४६ हजार ४५८ रुपैयाँ फिर्ता गरिसकेको छ भने तीन सहकारीको बचत राफसाफ गरिसकेको थियो ।
