काठमाडौँ – सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले पीडितहरुसँग छलफल गर्ने भएको छ।

मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले बुधवार पीडितहरुसँग छलफल गर्ने निर्णय गरेको हो।
सहकारीका पीडितहरुसँग प्रतिनिधिमूलक ढंगले छलफल गर्ने निर्णय गरिएको विशेष समितिका सभापति सूर्य थापाले जानकारी दिए।
आजको बैठकमा सहकारी विभागका पदाधिकारीसँग छलफल गरिएको थियो। बुधबार पीडितहरुसँग छलफल गरी त्यहाँभित्रको समस्या समाधानका लागि थप तथ्यहरुको खोजी गर्ने काम हुने पनि विशेष समितिले जनाएको छ।
थापाले भने, ‘भोलि हामीले पीडितका प्रतिनिधिहरुसँग प्रतिनिधिमूलक ढंगले छलफल गर्ने योजना बनाएका छौँ। २९ वटै सहकारी र अरु पनि सहकारीका प्रतिनिधिमूलक पीडितहरुलाई बोलाएका छौँ। सबै पीडितहरु बोलाएर छलफल गर्न सम्भव हुन्न। हामीले विभिन्न संघर्ष समितिका रुपमा, व्यक्तिगत रुपमा अनेक हिसाबले सहकारीबाट पीडित रहेका पीडितहरुको कुरा सुन्ने कार्यक्रम बनाएका छौँ।’
विशेष समितिले यसअघि सम्बन्धित निकाय र विज्ञहरुसँग छलफल गरेको थियो। अब पीडितहरुसँग पनि छलफल गरी सहकारी क्षेत्रमा देखिएको समस्या र समाधानको उपायहरुको खोजी गरिने पनि विशेष समितिका सभापति थापाले बताए।