जकार्ता । इन्डोनेसियामा एक अजिंगरको पेटभित्र महिला मृतावस्थामा भेटिएकी छन् । यो घटना दक्षिणी सुलाबेसी प्रान्तको सितेबा गाउँको हो ।इन्डोनेसियाली प्रहरीका अनुसार, गएको मंगलबार सिरियाती नामकी ३६ वर्षीया महिला आफ्नो सन्तानका निम्ति औषधि लिन घरबाट निस्केकी थिइन् । तर, फर्केर आइनन् ।पछि उनका पति आदियांसाले अधिकारीलाई बताए कि गाउँमा आफ्नो घरको ५०० मिटरको दूरीमा उनले सिरियातीका चप्पल र कपडा भेटेका छन् ।स्थानीय प्रहरी प्रमुख इदुलका अनुसार, आदियांसाले एक जिउँदो अजिंगर भेटे र त्यसको टाउको छिनाले ।अजिंगरको फुलेको पेट देखेर उनलाई शंका लागेको थियो । उनले अजिंगरको पेट पनि काटे । पेटभित्र उनले आफ्नी पत्नीको शव देखे ।यसअघि, गएको जुनको सुरुमा पनि दक्षिणी सुलावेसीको अर्को जिल्लामा पाँच मिटर लामो अजिंगरले एक महिलालाई निलेको थियो ।अजिंगरले फेरि आक्रमण गर्न सक्ने भएकाले सबैको साथमा एउटा चक्कु राख्न प्रहरीले स्थानीय बासिन्दालाई सुझाव दिएको छ ।
