काठमाडौँ । आजदेखि काठमाडौँको ठमेल र दरबारमार्ग २४ सै घण्टा खुल्ने भएको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले यी दुई क्षेत्र पूर्णकालीन समय खुलाउने कार्यक्रमको शनिबार घोषणा गरेका हुन् ।


ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग विकास बोर्डको संयुक्त आयोजनामा ठमेलमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री लामिछानेले सो क्षेत्र २४ सं घण्टा खुल्ने घोषणा गरे । मापदण्ड र आचारसंहिताले ठमेल र दरबारमार्ग क्षेत्रलाई अझ राम्रो र पर्यटकमैत्री बनाउने गृहमन्त्रीको भनाइ थियो । उनले व्यवसायी तथा घरघनीको पनि हित हुने बताइएको छ ।
आजदेखि ठमेल र दरबारमार्ग क्षेत्रलाई पूर्ण समय व्यवसाय सञ्चालन गर्नेगरी रात्रिकालीन व्यवसाय सञ्चालन गर्ने तयारी गरेकाले सोहीअनुसारको सुरक्षा व्यवस्था सुदृढ बनाइएको प्रहरीको भनाइ छ ।

ठमेलभित्र व्यवसायी मात्रै नभइ स्थानीय बासिन्दाको पनि बसोबासको क्षेत्र भएकाले स्थानीयलाई कुनै असर नपर्नेगरी व्यवस्था मिलाइएको छ ।रात्रिकालिन मनोरञ्जनात्मक व्यवसायका क्रममा हुने ध्वनि प्रदूषणलाई नियन्त्रण गर्नेलगायत आचारसंहिता तयार गरिएको छ ।
ठमेल र दरबारमार्ग क्षेत्रमा २४ सै घण्टा व्यवसाय सञ्चालन स्थानका शौचालयलाई निश्चित संकेत दिएर प्रयोग गर्न पाउने व्यवस्था मिलाइएको छ ।
ठमेल र दरबारमार्गका बजार पूर्णकालीन समय सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालय, काठमाडौँले मापदण्ड, आचारसंहिता र सुरक्षा योजना जारी गरेको छ ।