काठमाडौँ । नयाँ चामलभन्दा पुरानो चामलको स्वाद मिठो हुन्छ भनेर मानिसहरूले भनेको हामी सुन्छौँ । तर १० वर्ष चामल खानु स्वास्थ्यको लागि ठिक हुन्छ त ? हालैमा थाइल्यान्डका वाणिज्य मन्त्री फमथाम वेचायायाईले सञ्चार माध्यमको सामुन्ने १० वर्ष पुरानो चामल खाएर देखाएका थिए । हालै थाई सरकारले १० वर्षदेखि भण्डारण गरेर राखेको १५ हजार टन चामल लिलाम विक्री गरेको थियो । ती चामल खान योग्य छन् भन्ने साबित गर्न उनले त्यसरी पुरानो चामल खाएका हुन् ।सन् २०११ मा तत्कालीन थाई प्रधानमन्त्री यंग लिक शिनावात्राले एउटा विवादित योजना लागू गरेका थिए । यसअन्तर्गत बजारभन्दा बढी दरमा सरकारले किसानसँग ५ करोड ४० लाख टन भन्दा धेरै चामल किनेको थियो । यो योजनाले सरकारलाई ठुलै घाटा लाग्यो ।किसानसँग बढी मूल्यमा किनेको चामल अरूलाई धेरैमा बेच्न नसकेपछि सरकारी गोदाममा चामलको थुप्रो बस्यो । गएको महिना थाइल्यान्डको वाणिज्य मन्त्रीले ती चामल बेच्न निगरानीका लागि एउटा समिति बनाउने घोषणा गरेका थिए । १७ जुनमा वी एट इन्टरट्रेडिंग नामक थाई कम्पनीले २८ करोड ६० लाख भाट बोली लगाएर लिलामीमा चामल पनि किन्यो । तर यसैबिच १० वर्ष पुरानो चामल खान योग्य छ कि छैन भन्ने बहस सुरु भएको छ । शिनावात्राले ल्याएको चामल योजनामा सरकारलाई करिब १५ अर्ब डलर घाटा भएको अनुमान गरिएको छ ।

कस्तो छ चामलको गुणस्तर ?
चामललाई ठुल्ठुला गोदाममा चामल भण्डारण गरेर राखिएको थियो । थाइल्यान्डका वाणिज्य मन्त्रीले उक्त भण्डारबाट लिएको चामलको गुणस्तर प्रमाणित गर्ने प्रयासमा मिडियाको अगाडि सो चामलको भात खाए । चामलको दाना झनै सुन्दर देखिएको वाणिज्य मन्त्री फमथाम वेचायाचाईले बताएका थिए । ‘यसको रङ्ग अलि बढी पहेँलो देखिएको छ । १० वर्ष पुरानो चामल यस्तो देखिन्छ ।’ उनले भने । उनले सञ्चार गृहमा प्रतिनिधिहरूलाई चुनौती दिँदै जुनसुकै चामलको बोरामा प्वाल बनाएर चामलको गुणस्तर जाँच्न सक्ने बताएका थिए ।
वाणिज्य मन्त्रीले स्वास्थ्य मन्त्रालयको प्रयोगशालामा ती चामलको परीक्षण गराएका थिए । सो परीक्षणको नतिजा सञ्चारकर्मीहरूलाई पनि दिइएको थियो । जाँचका क्रममा चामलमा विषाक्त रसायन नभेटिएको उनको भनाइ थियो । प्रयोगशालाका अनुसार त्यो पुरानो चामलको पोषण मूल्य अहिले बजारमा पाइने चामलभन्दा फरक थिएन । च्यानल ३ नामक स्थानीय टेलिभिजन नेटवर्कले स्वतन्त्र प्रयोगशालाबाट चामलको अर्को परीक्षण गराएको थियो । सोको नतिजामा पनि उक्त चामल खानका लागि सुरक्षित रहेको देखिएको थियो ।
चामल पनि बिग्रिन्छ ?
संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ)का अनुसार चामललाई सुख्खा र चिसो ठाउँमा हावा बन्द गर्ने भाँडोमा राखेर लामो समयसम्म भण्डारण गर्न सकिन्छ । अमेरिकाको धान महासङ्घले पनि चामललाई राम्ररी भण्डारण गरेमा ‘लगभग अनिश्चितकाका लागि’ प्रयोगयोग्य हुने बताएको छ ।
पौष्टिकता र स्वादमा असर
एक दशकसम्म कीटनाशकको प्रयोगले धान विषाक्त हुन सक्छ कि भनेर बीबीसीले एफएओलाई सोधेको थियो । औषधि प्रयोग गर्दा सबै सावधानी अपनाएमा धानमा असर नगर्ने एफएओको भनाइ थियो । १० वर्षसम्म भण्डारण गरेर राख्दा चामलको पौष्टिकतामा कमी आउँछ कि ? भनेर सोधिएको प्रश्नको जवाफमा चामलमा थोरै मात्रामा पाइने सूक्ष्म पोषक तत्त्वको कमी भएपनि समग्र धानको पौष्टिकतामा खासै फरक नपर्ने एफएओले बताएको थियो ।चामल खाँदा सबैभन्दा बढी पौष्टिक फाइदा यसमा रहेको स्टार्चको उच्च गुणस्तरबाट पाइन्छ । मानव शरीरले यसलाई ऊर्जामा परिणत गर्छ । सामान्यतया: समयसँगै चामलको स्वाद गुम्छ भन्ने कुरा यसको भण्डारण कसरी गरिएको छ भन्नेमा निर्भर हुने एफएओले बताएको छ । थाई टिभी एन्कर सुरायोत सोथासनचन्दले पनि १० वर्ष पुरानो स्टकबाट चमेली जातको चामल चाखेका थिए । यो चामल पनि सामान्य सेतो चामल जस्तै स्वादिलो भएपनि चमेली चामल जस्तो चिपचिप, नरम र वासनादार नभएको उनको भनाइ थियो ।
अब यी चामल के गरिन्छ ?
थाई राइस एक्सपोर्टर्स एसोसिएसनका अनुसार गत वर्ष थाई चामलको सबैभन्दा ठुलो खरिदकर्ता इन्डोनेसिया र दक्षिण अफ्रिका थिए । पुराना चामल प्रायः गरिब देशहरूमा खपत हुने बीबीसीसँग कुरा गर्दै थाइल्यान्डमा चामल मिल चलाउने तोता वाङ्दीले बताएका थिए । दक्षिण अफ्रिका बाहेक, थाइल्यान्डले अन्य धेरै अफ्रिकी देशहरूमा पनि चामल बेच्ने गर्दछ । थाइल्यान्डका वाणिज्य मन्त्री फामथम भेचायाचाइले पनि अफ्रिकी मुलुकमा थाइ चामलको माग रहेको बताएका छन् ।थाई सरकारले चामलको लिलाम विक्रीको घोषणा गरेपछि अफ्रिकाका सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले ती चामलप्रति आशङ्का जताइरहेका छन् । अफ्रिकालाई डम्पिङ ग्राउन्डको रूपमा प्रयोग गरिएको केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको भनाइ थियो । उता, केन्या सरकारले मापदण्ड पूरा गर्ने र प्रयोगशालामा परीक्षण गरिसकेका चामल मात्रै आयात गर्न दिने घोषणा गरेको छ । लिलामी विजेता कम्पनी ‘भी८ इन्टरट्रेडिङ’लाई चामल खरिदका लागि सम्झौता गर्न ३० दिनको समय दिएको छ ।