नृत्यमा सौखिन एलिश राईले आफ्नै स्टुडियो खोलेर नृत्य सिकाउँथे । नाच्दै र नाच्न सिकाउँदै गर्दा उनलाई भिडियो बनाएर युट्युबमा हाल्न रहर लाग्यो ।
विदेशी डान्सरहरूले भिडियो हालेर प्रशस्त भ्युज बटुलेको देखेपछि उनलाई त्यो रहर जागेको थियो । तर, युट्युबमा कसरी हाल्ने भन्ने केही पनि मेसो एलिशलाई थिएन ।उनका एक जना साथी युट्युब चलाउँथे । एलिशले उनैलाई गुहारे । ती साथीले भने, ‘भिडियो अपलोड गर्न त गाह्रो छ । युट्युबमा च्यानल खोल्नुपर्छ । ५ हजारजति खर्च लाग्छ ।’एलिश ५ हजार रुपैयाँ दिन तयार भए । त्यति पैसा पाएपछि साथीले उनको नाममा युट्युब च्यानल खोलिदिए ।पछि मात्र एलिशले थाहा पाए कि यो युट्युबमा च्यानल खोल्नु २ मिनेटको काम रहेछ र कुनै पैसा पनि खर्च गर्नु नपर्ने रहेछ ।‘एलिश राई’ नामको अकाउन्ट सुरु भयो । सुरुमा उनले मोबाइलबाट खिचेर डान्स गरेका भिडियोहरू हाले । भिडियोले दर्शक पाएनन् । निकै आशा गरेर हालेका भिडियोले भ्युज नपाएपछि उनी निराश बने ।त्यसबेला युट्युबमा केही कमेडी शोहरू आइसकेका थिए । यस्ता छोटा कमेडी भिडियोहरूले राम्रो भ्युज पनि पाएको एलिशले देखेका थिए । कमेडीमा उनको पनि दख्खल थियो । त्यसपछि उनी पनि डान्स छाडेर कमेडी भिडियो बनाउनेतिर लागे ।उनले मोबाइलबाट नै छोटा भिडियो बनाउन सुरु गरे । विडम्बना, ती भिडियो पनि चलेनन् । तर, एलिशले हिम्मत हारेनन् । उनलाई युट्युबमा हिट हुने भुत सवार भइसकेको थियो । नयाँनयाँ कन्सेप्ट सोच्न थाले । यही क्रममा ‘चुरोट किन खाइस् ?’ वाला कन्सेप्ट उनको दिमागमा आयो ।बाटोमा चुरोट खाइरहेका मान्छेहरूलाई थर्काउने, चुरोट खोसेर मिल्काइदिने र त्यसको भिडियो खिच्ने उनको सोच थियो । यस्तो भिडियो मनोरञ्जनात्मक साथै सन्देशमूलक पनि हुने ठानेका थिए । तर, काम भने असहज थियो । हातको चुरोट खोस्दा मान्छेले पिटे भने ?‘पहिलो पटक यस्तो भिडियो बनाउन निस्किँदा मलाई औधी डर लागेको थियो’, एसिश सम्झिन्छन्, ‘तर, पिटाइ खाए पनि एउटा भिडियोचाहिँ हाल्छु भन्ने अठोट लिएको थिएँ ।’उनले पहिलो व्यक्ति गोठाटारमा भेटे । उनी नजिकै पुगेर फुर्तीसाथ भने, ‘चुरोट किन खाइस् ? चुरोटले क्यान्सर हुन्छ भन्ने थाहा छैन ?’एलिशको हप्काइले ती व्यक्ति आत्तिए । कुनै प्रतिवाद गरेनन् । अब आइन्दा चुरोट नखाने बाचा गरे । एलिश सफल भए ।‘सायद पहिलो व्यक्तिले मलाई आक्रमण प्रयास गरेको भए म त्यसपछि भिडियो बनाउन सक्थेँ वा सक्दिनँथे तर पहिलो प्रयास सफल भएपछि मेरो आत्मविश्वास ह्वात्तै बढ्यो’, एलिश भन्छन् ।२ दिन लगाएर एलिशले आफ्नो मिसन फत्ते गरे । भिडियो युट्युबमा हाले । तर, यस भिडियोले पनि दर्शक पाएन ।केही फेसबुक पेजहरूमा धमाधम उनको त्यो भिडियो शेयर हुन थाल्यो । केही दिनमा त भाइरल नै भयो । आफ्नो च्यानलमा नचले पनि भिडियो फेसबुकमा हिट हुँदा एलिशले चित्त बुझाए ।भिडियोमा आएका कमेन्टहरूचाहिँ सुखद थिएनन् । अधिकांशले गाली गरेका थिए । ‘मान्छेलाई जथाभावी थर्काउँदै हिँडेको’ भन्दै उनको आलोचना गरिएको थियो । तर, यसले एलिशलाई निरुत्साहित बनाएन । ‘कम्तीमा भिडियो त हेरे नि !’ भन्दै मनमनै सन्तोष माने उनले ।त्यसपछि उनले दोस्रो भिडियो बनाए, ‘बाटो किन काटिस् ?’ जथाभावी बाटोमा मान्छेहरूलाई थर्काएर उनले उक्त भिडियो बनाएका थिए । उक्त भिडियोले भने नसोचेको भ्युज पायो । युट्युबमा नै भाइरल भयो ।एलिश सम्झिन्छन्, ‘राती भिडियो अपलोड गरेर म सुतेँ । बिहान उठ्दा त आफैँ छक्क परेँ । ह्वारह्वार्ती भ्यूज गइरहेको थियो । सब्सक्राइब पनि राती साढे ७ सय थियो, बिहान ७ हजार पुगेछ ।’

अनि सुरु भयो प्राङ्क
एलिशको भनाइमा उनले बनाएका पहिलो २ भिडियो प्राङ्क थिएनन् । प्राङ्कमा त पहिले उनलाई रुचि नै थिएन ।एलिशले नेपाली प्राङ्कहरू हेर्थे । त्यो हेर्दा उनलाई रिस उठ्थ्यो । ‘किन मान्छेहरूलाई दुःख दिएको होला ? बेकार मान्छेहरूको समय बर्बाद गरिदिएको होला ?’ भन्ने सोच्थे तर, पछि आफैँ प्राङ्कतिर लागे । खासमा चुरोट र बाटो काटेको भिडियोलाई सबैले प्राङ्क भिडियोकै रूपमा लिएका थिए । त्यसले उनलाई प्राङ्क गर्न सक्छु भन्ने भयो । मन नहुँदा नहुँदै पनि उनलाई भ्युजको लोभ लाग्यो ।एलिशले सबैभन्दा पहिले ट्याक्सी ड्राइभरलाई प्राङ्क गर्ने सोचे । एलिश भन्छन्, ‘त्यो प्राङ्क मैले भ्युजको लोभले गरेको थिएँ । त्यो भिडियो पनि निकै हिट भयो ।’अब एलिश प्राङ्कमै केन्द्रित भए । थरिथरि कन्सेप्टका भिडियो बनाए । अरू प्राङ्क स्टारहरूले जस्तो विदेशी कन्सेप्टलाई उतार्नेभन्दा आफ्नै मौलिक कन्सेप्ट बनाउने भएकाले उनी चाँडै लोकप्रिय बने । आज उनी नेपालका ‘अर्गानिक प्राङकस्टार’का रूपमा चिनिएका छन् ।एलिश प्रत्येक भिडियोमा आफूलाई फरक अवतारमा प्रस्तुत गर्छन् । उनी कहिले जोगी बन्छन्, कहिले चटपटे व्यापारी बन्छन्, कहिले हजाम बन्छन् । कहिले बाख्रा चोर बन्छन् त कहिले शिक्षक बन्छन् ।एलिश भन्छन्, ‘एउटै रूपमा प्रस्तुत भएँ भने त मलाई सबैले चिनिहाल्नुहुन्छ नि ! चिनेपछि प्राङ्क गर्न सकिँदैन । त्यसैले पनि आफूलाई फरकफरक भेषमा उतार्नुपर्ने बाध्यता छ ।’
प्राङ्क गर्दाका दुःख
अर्काको मुड के छ भन्ने नबुझी उसलाई जिस्क्याउँदा त्यसको परिमाण के होला ? रिसाहा मान्छे पर्यो भने त राम्रै धुलाइ भेटिन्छ । त्यसैले प्राङ्क गर्नु जोखिमपूर्ण काम हो भन्ने उनको बुझाइ छ ।एलिशले पनि प्राङ्क गर्दा धेरै जोखिम मोलेका छन् । कतिपय ठाउँमा मान्छेलाई सम्झाउन सफल भएका छन् भने कतिपय ठाउँमा कुटाइ नै भेटेका छन् ।उनी भन्छन्, ‘चुरोट किन खाइस् ? भन्ने भिडियोको दोस्रो भागमा मैले नराम्रोसँग पिटाइ भेटेको छु ।’कतिपय पिटाइ खाएको भिडियो युट्युबमा राख्दैनन् एलिश । साथै सम्बन्धित व्यक्तिको अनुमति लिएर मात्र भिडियो राख्छन् ।उनी भन्छन्, ‘कहिलेकाहीँ अपलोड भइसकेका भिडियोहरू पनि उहाँहरूले पछि आफूलाई अप्ठ्यारो पर्यो भन्दै म्यासेज गर्नुहुन्छ अनि डिलिट गर्नुपर्छ ।’एउटा प्राङ्क गर्दा उनी प्रहरीको फन्दामा समेत परे । प्रहरीले उनलाई समातेर सोधपुछ गरेका थिए । एलिशले आफू प्राङ्कस्टार भएको र भिडियोका लागि यस्तो गरेको बताए । उनले आफ्ना केही भिडियो देखाएपछि प्रहरी कन्भिन्स भए ।एलिश भन्छन्, ‘उहाँहरूले मेरो बाटो किन काटिस् र चुरोट किन खाइस् भन्ने भिडियो हेर्नुभएको रहेछ । त्यसैले छाडिदिनुभयो ।’
प्राङ्कले दिएको नाम
एलिशलाई अहिले धेरैले चिन्छन् । त्यो परिचय प्राङ्कले नै दिएको हो । उनी यसमा गर्व गर्छन् ।तर, उनलाई प्राङ्क गर्नु आफैँमा गतिलो कामचाहिँ लाग्दैन उनी स्वयंलाई ।‘आफ्नो सुरमा हिँडिरहेका मान्छेलाई अल्मल्याउने, उल्लु बनाउने र त्यसको भिडियो खिचेर पैसा कमाउने पेसा गतिलो हो र ?’ हाम्रो यस्तो प्रश्नमा एलिशले जवाफ दिए, ‘वास्तवमा काम गतिलो होइन तर मानिसहरूलाई मनोरञ्जन दिँदा त्यसबाट आउने प्रतिक्रियाले चाहिँ हौसला मिल्छ । मैले अलिक समय भिडियो हालिनँ भने सबैले सोध्न थाल्नुहुन्छ ।’उनी थप्छन्, ‘यदि मैले प्राङ्क नगरेको भए मलाई कसैले चिन्नु हुने थिएन । अहिले धेरैले चिन्नुहुन्छ । माया गर्नुहुन्छ । यसमा खुसी छु म ।’युट्युब भ्युजबाट पैसा आउँछ भन्ने कुरा एलिशलाई पहिले त थाहै थिएन । सुरुवाती दिनमा भ्युजको लोभबाट मात्र भिडियो बनाएका उनले पछि यसबाट राम्रै आम्दानीसमेत गरिरहेका छन् ।एलिश भन्छन्, ‘म विनालगानी यता लागेको हुँ । मेरो लगानी भनेको युट्युब खोल्न ५ हजार र क्यामेरमा किन्नमा मात्र भयो । अहिले त्यसको प्रतिफल राम्रै आइरहेको छ ।’अरूभन्दा पनि दर्शकले आफ्नो भिडियो हेरेर मरीमरी हाँसेको देख्दा उनको मन खुसीले भरिन्छ । आफ्नो उद्देश्य पूरा भएको ठान्छन् ।अहिले एलिश टेलिसिरियलमा पनि व्यस्त छन् । ‘गोलमाल’ नामक सिरियलमा अभिनय गरिरहेका छन् । एलिश भन्छन्, ‘मेरो रहर अभिनय पनि हो । त्यसैले सिरियलमा पनि काम गरिरहेको छु ।’