शौचालय गएको निहुमा बैतडीका एक शिक्षकले छात्रालाई निर्घात कुटपिट गरेका छन । कुटपिटबाट गम्भीर घाइते भएकी संगीता धामीको धनगढीमा उपचार भइरहेको उनका आफन्तले जनाएका छन् ।जिल्लाको सिगास गाउँपालिका वडा नम्बर: ५ मा रहेको भूवनेश्वरी मा.वि.का प्रधानाध्यापक बिरेन्द्रसिंह धामीले कक्षा ९ मा अध्ययनरत छात्रालाई कुटपिट गरेका हुन्। उनको डडेल्धुरा उप–क्षेत्रीय अस्पतालमा उपचार सम्भव नभएपछी धनगढी पठाइएको छ । “कुटाइबाट छोरीको होस गुमेको छ । आज ३/४ दिन भयो छोरी होसमा छैनन् । कुटपिट गर्ने पनी परिवार भित्रकै हुन ।घरायसी मनमुटाव र रिसिबीका कारण निहुँ पारेर छोरीलाई निर्घात कुटिएको हो ।” उनका ठुलाबाबु जगदीश धामीले भने ।उनका अनुसार कुटपिटको कुरा कसैलाई नभन्न भन्दै प्रधानाध्यापक धामीले आफुबाट गल्ती भएको र उपचार खर्च ब्यहोर्ने बताएका थिए । तर बिद्यालयले भने आफ्नो गल्ती ढाकछोप गर्न बिज्ञप्ति सार्वजनिक गरिएको उनको भनाई छ । यस बिषयमा जिल्ला प्रहरी कार्यालय बैतडीले भने घटना बारे जानकारी नभएको बताएको छ । पिडितका ठुलाबाबु जगदीश धामीले भने आइतबार इमेल मार्फत प्रहरीमा उजुरी पठाएको बताए ।
