काठमाडौँ । मधेस प्रदेशका अनुजकुमार साह र कर्णाली प्रदेशकी सरिता शाहीले यु–१५ विद्यालय खेलकुदको एथलेटिक्समा बुधबार स्वर्ण जितेका छन् । लङजम्पको छात्रतर्फ अनुज र छात्रातर्फ सरिताले स्वर्ण पदक जितेका हुन् ।पोखरा रङ्गशालामा जारी प्रतियोगितामा अनुजले ६.११ मिटर जम्प गरे । सुदूरपश्चिम प्रदेशका वरुणदत्त रानाले रजत र लुम्बिनी प्रदेशका श्लोक हरिजनले कांस्य जिते । सरिताले ४.६१ मिटर जम्प गर्दै स्वर्ण चुमिन् । कोशी प्रदेशकी निकिता एक्तेल लिम्बु दोस्रो र गण्डकी प्रदेशकी सुजना कुमाल तेस्रो भए ।राष्ट्रिय खेलकुद परिषद् र गण्डकी प्रदेश खेलकुद परिषद्द्वारा संयुक्त रूपमा आयोजित प्रतियोगिताको छात्र चार सय मिटर दौडमा सुदूरपश्चिमका वरुणदत्त राना पहिलो भए । उनले निर्धारित दूरी ५८.६२ सेकेन्डमा पुरा गरे त्यो स्पर्धामा मधेसका दीपेश साह दोस्रो र लुम्बिनीका सुशान्त थारु तेस्रो भए । छात्रातर्फ कर्णालीकी कृष्णा रानाले स्वर्ण चुमिन् । उनले निर्धारित दूरी तय गर्न एक मिनेट ०४.२९ सेकेन्ड समय खर्चिइन् । बागमती प्रदेशकी भगवती खड्काले रजत र लुम्बिनीकी कमला वलीले कांस्य हात पारे ।छात्र एक सय मिटर दौडमा लुम्बिनीका शुभन बमरेल पहिलो भए । उनले ११.४६ सेकेन्ड समयमा दौड पुरा गरे । मधेसका अर्जुन साह दोस्रो र कोशीका राजन बान्तवा राई तेस्रो भए । छात्रातर्फ गण्डकीकी एन्जल अधिकारी पहिलो भइन् । उन निर्धारित दूरी १३.५६ सेकेन्डमा पूरा गरिन् । लुम्बिनीकी आरुषी भट्टराईले रजत र बागमतीकी मुस्कान चौधरीले कांस्य जिते ।एथलेटिक्सको पहिलो दिन ६ स्वर्णको टुङ्गो लाग्दा पाँच प्रदेशले स्वर्ण जितेका छन् । कर्णालीले दुई तथा मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमले समान एक–एक स्वर्ण हात पारे । प्रतियोगितामा सातवटै प्रदेशबाट ७६ खेलाडी सहभागी छन् ।
